शुक्रबार, ७ वैशाख २०८१

यसकारण वाम गठबन्धन दलको धेरै मत बदर हुनसक्छ

समयपोष्ट २०७४ मंसिर १४ गते २:५४

गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ मत बदर बढी हुने देखिएको छ ।

Advertisement

मतदाता शिक्षाको अभाव र दलहरूले गठबन्धन बनाएर निर्वाचनमा होमिएको तर निर्वाचन चिह्न र मतदान गर्ने तरिकाबारे मतदातालाई समयमा नसिकाउँदा उनीहरू निर्वाचनमा अलमलमा परेका हुन् । 

वाम गठबन्धन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतले प्रत्यक्षतर्फ साझा उम्मेदवार बनाएर निर्वाचनमा सहभागी भए पनि समानुपातिकमा भने दुवै दलले आ–आफ्नो चुनाव चिह्न लिएर चुनाव लडेका थिए । प्रत्यक्षतर्फ साझा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका दलहरूले आफ्नो दललाई मात्र भोट माग्न प्राविधिक समस्यासमेत थपिएको थियो । गठबन्धनका कारण एमाले र माओवादी केन्द्रले समानुपातिकतर्फ भोट माग्दा वाम गठबन्धनका नाममा माग्ने गरे पनि मतदान गर्ने तरिकाबारे भने चासो दिएका थिएनन् ।

दलहरूले मतपत्रबारे आवश्यक शिक्षा नदिनु र निर्वाचन आयोगले खटाएका कर्मचारीसमेत सबै स्थानमा पुगेर मतदाता शिक्षा दिन नसक्दा मतदातामा भने अलमल देखिएको हो ।

वाम तालमेल गरेर एमाले र माओवादी केन्द्र निर्वाचनमा सहभागी भए पनि आ–आफ्नै चुनाव चिह्न हुँदा लोकतान्त्रिक गठबन्धनलाई भने फाइदा पुग्ने देखिएको छ । मतदातालाई मतदान गर्ने तरिकाबारे शिक्षा दिन नसक्दा वाम गठबन्धनको धेरै मत बिग्रिने देखिएकाले त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई पुग्ने भएको छ । राजधानी दैनिक बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री