बिहीबार, १३ वैशाख २०८१

चीनमा माओपछि सी युगको उदय 

समयपोष्ट २०७४ मंसिर २ गते ७:००

चिनियाँ कम्युनिस्ट पार्टीको ६ दिने १९औँ राष्ट्रिय कङ्ग्रेसको निर्णयले विश्वभरि तरङ्ग ल्याइदिएको छ । २२०० जति प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न सो राष्ट्रिय कङ्ग्रेसले चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारालाई चिनियाँ विशेषताअनुरूपको नयाँ समाजवाद विचारधाराको रूपमा संविधानमा उल्लेख गरिएबाट विश्वभरि तरङ्ग फैलिएको हो । यो निर्णयबाट चीनमा सीको युगको औपचारिक सुरुवात भएको भनी टिप्पणीहरू हुन थालेका छन् ।

Advertisement

चिनियाँ नेताहरूमा दुई पूर्वनेताहरू माओत्से तुङ र देङ सियाओ पिङको विचारधारालाई यो हैसियत प्राप्त भएको थियो । सीका दुई पूर्ववर्ती जियाङ जमिन र हु जिन्ताओले वैचारिक धारणालाई संवैधानिक मान्यता दिलाएका थिएनन् । सीको विचारधारालाई यसरी संस्थागत गर्दा उनलाई चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा शक्तिशालीहरूको तेस्रो शक्तिशालीको रूपमा चित्रित गर्न थालिएको छ ।

चाइनाज क्रोनी क्यापिटलिज्म : द डाइनामिक्स अफ रिजिम चेन्जका लेखक तथा क्लेयरमन्ट म्याककेन्ना कलेजमा सरकार विषयका प्रोफेसर मिनसिन पेइले यसबारे आफ्नो लेखमा उल्लेख गर्दै भनेका छन् –‘जनगणतन्त्रका संस्थापकहरूमध्ये सीलाई साङ्केतिक रूपमा सामेल गराउनुका अतिरिक्त १९औँ राष्ट्रिय कङ्ग्रेसले दुई ठोस राजनीतिक जित दिलाएको छ । पहिलो– उनको उत्तराधिकारीको विषयमा खुला सम्भावना कायम गर्नु हो । अर्थात् सम्भव भएसम्म चीनको राष्ट्रपतिको पदमा सीलाई तेस्रो कार्यकालका लागि छनोट गर्न सकिने छ ।’

पार्टीको पोलिटव्युरो स्टयान्डिङ कमिटीमा थपिएका पाँच नयाँ सदस्यहरू ६० पार गरेका छन् । आगामी वर्षमा उनीहरूमध्ये कसैले पनि सीको उत्तराधिकारीको रूपमा औपचारिक उमेरका हुँदैनन् । अनौपचारिक रूपमा उमेर सीमा ६८ वर्षको रहेको छ । एक–दुई जना नयाँ पोलिटव्युरो स्टयान्डिङ कमिटी सदस्यहरू ५५ भन्दा मुनिका छन् । उनीहरूलाई बढुवा गर्न सकिने छ । सन् २०२२ मा उनले पदत्याग गर्ने अपेक्षा गरिएको छ । त्यतिखेर सीलाई माओ र देङले नेतृत्व गरे झैँ गर्न सकिने सम्भावना देखिएको छ । किनभने अहिले नेतृत्व लिने उत्तराधिकारीको रूपमा कसैलाई अगाडि बढाइएको छैन ।

GERMANY-CHINA-DIPLOMACY-ECONOMY

यसका लागि सीका नजिकका पार्टी नेतृत्व र वैकल्पिक राजनीतिक सत्ता पाउने लहरमा बसेकाहरू दुवैले सीलाई तेस्रो कार्यकालका लागि सघाउन सक्ने छन् । १९औँ राष्ट्रिय कङ्ग्रेसबाट सीको दोस्रो राजनीतिक विजय भनेको पोलिटव्युरोमा उनका दुई निकटका सहयोगी परेका छन् । सीका चिफ अफ स्टाफ लि झान्सु छन् । उनले राष्ट्रिय कङ्ग्रेसको जिम्मेवारी सम्हाल्ने छन् । राष्ट्रिय कङ्ग्रेस राष्ट्रपतिको निर्देशनमा चल्ने भएकाले यसमा सीको प्रभाव त्यसै हुने छ । आवश्यक परेका बेला संविधानमा संशोधन गरिने छ, जसले सीका आगामी बाधाहरूलाई फुकाउने छ ।

सीका अर्का विश्वसनीय पात्र हुन्– झाउ लेजी वाङ । ६९ वर्षीय वाङ किसानलाई भ्रष्टाचारविरोधी नियोगको प्रमुखको जिम्मा छ । उनले सीका प्रतिस्पर्धीहरूलाई तह लगाउन सहयोग गरी आएका छन् । यसरी सीको राजनीतिक विजयले उनी र उनको दृष्टिकोणलाई साकार रूप दिन सजिलो बनाइदिएको प्रोफेसर मिनसिनको बुझाइ छ । चीनको आन्तरिक सत्ता समीकरण गत केही दशकहरूमा परिवर्तित हुँदै आएको छ । चिनियाँ समाज माओवाद र देङवादबाट धेरै पर पुगेको छ । पार्टी सदस्यसमेत केही चिनियाँहरू मात्र कुनै किसिमको औपचारिक विचारधारामा विश्वास गर्छन् । आर्थिक रूपले भन्नुपर्दा निजी क्षेत्रको हिस्सा ६० प्रतिशत छ । आमचिनियाँको जीवनमा पार्टी सन्दर्भहीन हुँदै आएको छ ।

प्रोफेसर मिनसिनका अनुसार सी निसन्देह विश्वकै ठूलो पार्टीका सर्वाधिक शक्तिशाली नेता छन् । तर चिनियाँ समाजलाई सीमित घेरामा रहे सी र उनका सहयोगीका लागि दिशानिर्देश गराउन धेरै कठिन हुने चीनबाहिरका पर्यवेक्षकहरूको बुझाइ छ ।

अनव्यालेन्स्ड : द कोडिपेन्डेन्सी अफ अमेरिका एण्ड चाइना नामक पुस्तकका लेखक तथा मोर्गन स्ट्यान्ली एसियाका पूर्वअध्यक्ष स्टिफन एस रोकले सम्पन्न १९औँ राष्ट्रिय कङ्ग्रेसलाई अपवादको रूपमा लिएका छैनन् । यसका लागि पार्टीका २०५ केन्द्रीय सदस्यहरूले सहमति बनाउन राजनीतिक प्रस्तावको खाका तयार गर्दै आएको उल्लेख गरेका छन् ।

राष्ट्रिय कङ्ग्रेसमा राष्ट्रपति सीको सम्बोधनबाट उनी तीनवटा निष्कर्षमा पुगेका छन् । सीले आफ्नो पूर्ववर्तीको तुलनामा माओ विचाराको रूपमा आफ्नो विचारधारालाई संस्थागत गर्न सकेका छन् ।

दोस्रो– चीन नयाँ युगमा प्रवेश गरेको विश्वास राजनीतिक प्रतिवेदनले व्यक्त गर्छ, जसमा सीले भविष्यका बढी महत्वाकांक्षाहरूलाई रेखाङ्कित गरेका छन् । यसअन्तर्गत चीनले दुई लक्ष्यहरूलाई निर्धारण गरेको छ । सन् २०३५ सम्म औसत समृद्ध समाजको रूपमा चीनलाई निर्माण गर्ने र सन् २०५० सम्म चीनलाई महाशक्तिको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । सीले चीनको सपनालाई राष्ट्रिय कायाकल्पको रूपमा बदल्ने बताएका छन् ।

तेस्रो– माक्र्सवादी अवधारणासँगको अन्तरविरोध हो, जसलाई सबै आधारभूत समस्याको समाधानको रूपमा व्यक्त गरिन्छ । जसअन्तर्गत जोखिम र अवसर, रणनीति र ट्याक्टिससम्बन्धी सुधार तथा सुशासनसम्बन्धी बहस रहेका छन् ।

१९औँ कङ्ग्रेसको ठूलो समाचार भनेको पार्टीले सन् १९८१ यता पहिलो पटक सैद्धान्तिक अन्तरविरोधलाई संशोधन गरेको छ । त्यतिखेरको अन्तरविरोध ‘जनताको आवश्यकता र पछाडि परेको सामाजिक उत्पादनबीच रहेको थियो भने अहिले असन्तुलित एवं अपर्याप्त विकास र राम्रो जीवनको आवश्यकताका लागि जनताको बढ्दो चाहनाबीचको’ हुन पुगेको छ । यो सैद्धान्तिक अन्तरविरोध मधुरो बतासबाट पुनः व्यक्त भएको होइन । कुनै गरीब विकासशील देशबाट महाशक्ति बन्नेतर्फ रहेको स्पष्ट सङ्केत छ । चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले सन् २००७ मा भनेका थिए– ‘चीनको अर्थतन्त्र अस्थिर, असन्तुलित, असंयोजित र असुरक्षित अवस्थामा छ ।’

बितेको दश वर्षमा दुई पञ्चवर्षे योजनाहरू समाप्त भएका छन् । सीको राजनीतिक प्रतिवेदन सो अवधारणाबाट फरक रहेको छैन । यो सीको विचारधाराको आधारभूत स्तम्भ भएको अर्थशास्त्री रोकको बुझाइ छ ।

उनका अनुसार तीन द्वितीय स्तरका अन्तरविरोधहरू छन् । पहिलो– राज्य र बजारको भूमिका स्रोत सङ्कलनका निर्देशनसम्बन्धी जारी तनाव हो । जसबारे सन् २०१३ को तेस्रो प्लेनममा बहस गरिएको थियो । सीको राजनीतिक प्रतिवेदनले मिश्रित स्वामित्वको मोडललाई प्रशंसा गरेको छ । दोस्रो– तनाव भनेको आपूर्ति र मागबीचको छ । आर्थिक नीति निर्माताहरूका लागि आपूर्ति पक्षको संरचनात्मक सुधारसम्बन्धी विषय उच्च प्राथमिकतामा छन् ।

तेस्रो– तनाव भनेको बाटो र गन्तव्यबीचको छ । सीको राजनीतिक प्रतिवेदनमा दीर्घकालीन समृद्ध संरचनात्मक रूपान्तरणका लागि चीनको अर्थतन्त्र प्रारम्भिक चरणमा रहेको विश्वास गरिएको छ । चीनको सेवामूलक क्षेत्र तीव्र गतिमा बढिरहेको छ तर यो अझ भ्रूणको अवस्थामा छ । यो कुल गार्हस्थ्य उत्पादनको मात्र ५२ प्रतिशत छ । घरधुरी उपभोग पनि तीव्र गतिमा बढिरहेको छ तर यो अझ कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतभन्दा मुनि छ । चीन नयाँ युगको बाटोमा हुन सक्छ । तर यसको अन्तिम गन्तव्यको बाटोमा धेरै अन्तरविरोधहरू छन्, जसलाई यात्राको क्रममा समाधान गरिनुपर्ने अर्थशास्त्री रोकको कथन छ ।

नोबेल पुरस्कारबाट सम्मानित तथा द नेक्स्ट कन्भर्जेन्स–द युचर अफ इकोनोमिक ग्रोथ इन मल्टिस्पिड वल्र्डका लेखक अर्थशास्त्री माइकल स्पेन्सले भनेका छन्– ‘चीनको सफलता ः त्यहाँको सरकारको जटिल एजेण्डालाई आगामी पाँच वर्षभित्र कसरी पूरा गरिन्छ र यससँग सम्बन्धित तनावहरूलाई कसरी व्यवस्थित गरिन्छ, त्यसमा निर्भर गर्छ । चिनियाँ नेताहरूले मापदण्डको निर्धारण तथा सार्वजिनक हितको संरक्षण, सिर्जनशील तथा सशक्तीकरण, शक्तिशाली बजारबीचको कोमल सन्तुलनलाई सुरक्षित गर्नुपर्छ, जसले उनीहरूको अपेक्षित लक्ष्यलाई पूरा गराउँछ । साथै, त्यसले भविष्यमा अर्थतन्त्रलाई परिचालित गराइरहन्छ ।’ विश्व अर्थतन्त्रमा चीनको उदयसँगै चिनियाँ राष्ट्रपति सीको शक्तिशाली राजनेताको रूपमा भएको यो उदयलाई विश्वका विभिन्न विद्वान्हरूले विभिन्न किसिमले व्याख्या र टीका–टिप्पणी गर्न थालेको उल्लेखित कथनहरूबाट पुष्टि हुन्छ ।

यसका लागि राष्ट्रपति सी र उनका सहयोगीहरूलाई कसरी लिएका छन् भन्ने विषय महत्वपूर्ण हो । सी र उनका सहयोगीहरूले यसको तयारी धेरै समयदेखि गरिरहेको देखिन्छ । उनका सहयोगीले सीका विचारधारालाई विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्न थालेबाट यो प्रष्टिन्छ । ८ करोड ९० लाख पार्टी कार्यकर्ताहरूको यो पार्टीले नेताको विचारधारालाई संविधानमा संस्थागत गरेपछि यसको अध्ययन र कार्यान्वयनमा सक्रिय हुने छन् ।

चिनियाँ सञ्चारमाध्यमले यस्ता विषयलाई प्रमुखताका साथ छापेका छन् । उनीहरूका अनुसार विचारधाराको कार्यान्वयनका लागि कार्य सुरु भइसकेको छ । सी जिनपिङ विचारधाराको परीक्षणप्रति समर्पित दुई विश्वविद्यालयका विभागहरूले अध्ययन समूहहरूको निर्माण गरेका छन् । युगचेतनाबोध हुने गरी संस्थागत गरिएको सीको विचारधारालाई नयाँ युग भनिएको छ । यसको अध्ययन र कार्यान्वयनसम्बन्धी क्रियाशीलताका लागि यस्ता अध्ययन समूह देशभरि विस्तार गर्ने कार्य सुरु भएको छ ।
चीनको प्रतिष्ठित शैक्षिक प्रतिष्ठानहरूमध्ये एक बेइजिङस्थित पिपुल्स युनिभर्सिटीमा सी सम्बन्धित विभागहरूले यसको अगुवाइ गरिरहेका छन् ।

राष्ट्रपति सीले आफ्नो राजनीतिक प्रतिवेदनमा चिनियाँ विशेषतामा समाजवादको विचारधारा अगाडि बढाएका हुन्, जसलाई उनले नयाँ युगको संज्ञा दिए । बेइजिङ डेलीले जनाएअनुसार विश्वविद्यालयहरूलाई शीर्ष विद्वान्हरूलाई यसबारे अध्ययन गर्न भनिएको छ । यससम्बन्धी बहसहरूलाई तीव्रता दिन भनिएको छ । यसमा सिघुवा विश्वविद्यालयस्थित माक्र्सवादी स्कुलका अध्यक्ष अई सिलिन र पार्टीको स्कुल विभागका वरिष्ठ विज्ञ हान किनसियाङलगायतका विज्ञहरूलाई समावेश गरिएको छ । उनीहरूले विभिन्न विश्वाविद्यालयस्थित विभागहरूमा यसबारे बहसलाई अगाडि बढाउने पहल लिने छन् ।

see1

बेइजिङ डेलीका अनुसार सीको विचारधारालाई देशभरिका पाठ्यक्रममा समावेश मात्रै होइन, कक्षा कोठामा समेत प्रस्तुत गरिने गरी विज्ञहरूको समूहले काम गर्ने छन्, जसबाट सीको विचारधारालाई विद्यार्थीहरूले बुझ्न पाउने छन् ।

सम्बन्धित विज्ञहरूले सीको विचारधारालाई देशका लागि महत्वपूर्ण भएको टिप्पणी गरिरहेका छन् । विश्वविद्यालयका प्रमुख लिउ वेइले भने– ‘सीको विचारधाराको स्थापना एक महत्वपूर्ण विषय हो ।’ उनकै नेतृत्वमा सी विचारधारासम्बन्धी विभागीय निकायको गठन गरिएको छ । यसै गरी बेइजिङबाट ७० किलोमिटर दक्षिणपूर्वस्थित तियानजिनमा अर्को अध्ययन केन्द्र खोलिँदै छ । त्यस क्षेत्रको स्थानीय न्यूज बेवसाइट इ–नर्थले जनाएअनुसार हालै त्यो विभाग खोलियो । तियानजिन विश्वविद्यालयको वित्त र अर्थ विभागमा यो विभाग खोलियो । यसबाट स्थानीय विद्यार्थीहरूलाई वैचारिक र राजनीतिक शिक्षा दिइने छ ।

यसै गरी द ग्लोबल टाइम्सले यस्ता अध्ययन केन्द्रहरूले उत्तरदेखि दक्षिण क्षेत्रमा खोलिँदै छन् भनी उल्लेख गरेको छ । ती केन्द्रहरूबाट पार्टी कार्यकर्ताहरूले सीको विचारधाराबारे सिक्न पाउने र नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादलाई क्रियान्वयन गर्ने सिकाइ प्राप्त गर्ने छन् ।

बेइजिङ कम्युनिस्ट पार्टीका प्रमुख तथा यसै साता २५ पोलिटव्युरो सदस्यमा बढुवा भएका सीका सहयोगी काइ किले भने– ‘चिनियाँ पुँजीसम्बन्धी सीका विचारहरूको मर्म र भावनाअनुरूपको अध्ययन, त्यसको प्रवद्र्धन र कार्यान्वयन शीर्ष प्राथमिकतामा रहेको छ ।’

सीको माक्र्ससम्बन्धी बुझाइबारे चिनियाँ विद्यार्थीहरूले कसरी प्रतिक्रिया जनाउँछन्, त्यो महत्वपूर्ण हो । अमेरिकी राष्ट्रपति विल क्लिन्टनका बेला अमेरिकी विदेश उपमन्त्री रहेकी सुसन शीर्कले सीलाई शक्तिशाली नेता भएको टिप्पणी गरेकी छिन् । चिनियाँ मामिलाकी विज्ञको रूपमा रहेकी शीर्कले सीको विचारधारा संस्थागत भइरहेको पूर्वसन्ध्यामा दिएको एक अन्तर्वार्तामा भनेकी थिइन्– ‘सीको सन्दर्भमा उनको शासनसँग लोकिप्रियताको कुनै विषय छैन । सार्वजनिक रूपमा सी एक धेरै लोकप्रिय नेताको रूपमा उदाइरहेका छन् । चीन जस्तो देशमा शक्तिशाली नेता र अमेरिकाको जस्तो शक्तिशाली नेताको रूपमा उनी देखिन्छन् ।’

विश्वसँग तीव्र गतिले जोडिँदै गएको चीन र त्यहाँका सुशिक्षित नागरिकका लागि कक्षा कोठामा विचारधारा बुझाउँदा आउने प्रतिक्रिया शासनका सम्बन्धमा मापक यन्त्र हुन सक्ने उनले जनाइन् । उदाहरणका लागि सीको राजनीतिक विचारधारालाई माध्यमिक स्कुलहरूमा पठाउने हो वा होइन, त्यसको प्रतीक्षा आफूले गरिरहेको उनले बताइन् । मध्यम वर्गका अभिभावकहरूले आफ्न बालबालिकाहरूलाई चिनियाँ माक्र्सवादको नयाँ संस्करण पढाउन रुचाउँछन् कि रुचाउँदैनन् ? यस्तो शिक्षाबाट उनीहरूको शैक्षिक र पेसागत क्यारियरमा कस्तो प्रभाव पार्छ, त्यसबारे उनीहरू सोच्छन् कि सोच्दैनन् ? ‘यस्ता विषयमा चिनियाँ नागरिकहरूको प्रतिक्रिया कस्तो आउँछ, त्यसको पर्खाइमा छु’– उनले भनिन् ।

उनले यस्ता प्रयासबाट अधिनायकवाद उदाउने आशङ्का व्यक्त गरिन् । युनिभर्सिटी अफ क्यालिफोर्नियास्थित २१औँ शताब्दीको चीन अध्ययन केन्द्रकी प्रमुखसमेत रहेकी शीर्कले भनिन्– ‘२१औँ शताब्दीको चिनियाँ यथार्थहरूलाई यस्तो किसिमको वैचारिक अधिनायकवादले सजिलै बिथोल्न सक्दैन ।’ उनले भनिन्– ‘यसबाट इतिहास फर्काउने काम भइरहेको देखिन्छ ।’

चिनियाँ नेता र चीनको उदयको कथा त्यति बेला भइरहेको छ, जतिखेर सूचना प्रविधि र डिजिटल प्रविधिको विकास शीर्ष गतिमा भइरहेको छ । कृत्रिम बौद्धिकताको प्रयोगबाट सडकमा वाहन गुडाउन र जलमार्गमा जहाज चलाउन थालिएको छ । मानव श्रमले उत्पादन सम्बन्धबाट बिदा लिने दशकमा राष्ट्रपति सी शक्तिशाली व्यक्तिको रूपमा उदाएका छन् । दुनियाँको अर्थतन्त्रका समस्याहरू जेलिएर जटिल बन्दै गइरहेका छन् । एआईको प्रयोग र त्यसको विकासमा चीनले सबैभन्दा बढी लगानी गरिरहेको छ । सबैभन्दा बढी लगानी लगाइरहेको चीनको प्रतिफल उसैले प्राप्त गर्ने छ भने पुँजीको संकेन्द्रण पनि एसियातर्फ बढ्ने देखिन्छ । शाक्तिशाली राष्ट्रको हैसियतलाई जोगाउन र त्यसलाई संस्थागत गर्न चीनले आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको छ । वित्तीय क्षेत्रका समस्याहरूलाई पनि अध्ययन गरिरहेको छ । यस विषयमा चिनियाँ विद्वान्हरू विगतका चार दशकदेखि सक्रिय रहेको कतिपय विद्वान्को बुझाइ छ ।

see5

विश्व अर्थतन्त्रका समस्याहरूलाई नदेखे झैँ गरी चीनले आफ्नो महत्वाकांक्षाहरू अगाडि बढाएको हो भन्ने विषयलाई सहज पचाउन गाह्रो छ । अर्को विषय दलीय प्रतिस्पर्धा भएको लोकतन्त्र र एकल दलको नेतृत्वमा बढेका देशहरूमा पनि आर्थिक सामाजिक समस्याहरू नदेखिएका भने छैनन् । यस्तोमा सी र उनका सहयोगीले अगाडि बढाएको आर्थिक सामाजिक विकासका विषयलाई सन्तुलनको कमजोर धरातललाई ध्यान नदिएको जस्तो छैन । चीनको वर्तमान नेतृत्वले चिनियाँ उखान ‘बिरालो कालो होस् कि सेतो मुसा मार्नुपर्छ’ भन्ने विषयलाई आत्मसात् गरेको सङ्केत मिल्न थालेको छ । समाजवाद कसले ल्याउँछ, त्यो महत्वपूर्ण होइन, समाजवादलाई बिर्सेको हो कि स्मरण गरिएको त्यो अहं हुन्छ ।

यस्तोमा चिनियाँ विशेषताको समाजवाद ल्याउन सीले कोरेको खाकाअनुरूप तिनको नेतृत्वले सामना गर्नुपर्ने चुनौतीलाई पूरा गर्न सके यसले विश्व अर्थतन्त्रलाई पनि नयाँ स्वरूप प्रदान गर्नेमा शङ्का भने गरिहाल्नुपर्ने देखिँदैन । यसका लागि सूचना प्रविधिको कृत्रिम बौद्धिकताको विकास र विस्तारले मानव समाजको संरक्षण गर्ने हो वा संहार गर्ने हो, त्यो त आउने दिनमा प्रष्टिँदै जाला । हुन त बेलायतका प्रख्यात वैज्ञानिक स्टिफन हकिन्सको विचारअनुसार कृत्रिम बौद्धिकताको विकासले मानव जातिलाई संहार गर्ने चेतावनीलाई सी र उनको नेतृत्वले ध्यान दिएकै हुनुपर्छ । वर्तमानको विश्व अर्थ राजनीतिक परिदृश्यमा चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ राजनीतिक निर्णयले विश्वका लागि सकारात्मक प्रेरणा मिल्नेमा आशा गर्नु नै उचित हुने देखिन्छ । कारण, सीको तेस्रो पदावधिका लागि पार्टीले स्थान खाली राखेर नै यस्तो निर्णय गरेबाट यो विश्वास गर्नु वाञ्छनीय छ ।
समयबोध म्गागेजिन, अंक ३, कात्तिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री