शुक्रबार, ७ वैशाख २०८१

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

समयपोष्ट २०७४ मंसिर १ गते २:३६

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएको छ । 

Advertisement

ठेक्कापट्टाको कमिसन विवादमै बाहुन समूहले ४ माघ ०७० मा महर्जनलाई धापाखेलमा गोली प्रहार गरेको थियो । गुन्डागर्दी पृष्ठभूमि भएका महर्जनले ठेक्काको कमिसन बाँड्ने जिम्मा लिएर आफूले नदिएपछि रमेश बाहुन भनिने सुजन पौडेलले गोली हानेका थिए । पौडेल हाल जेलमा छन् । उनलाई भारतबाट प्रहरीले पक्राउ गरी ल्याएको थियो । सो घटनामा लिङदेनलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकामा उनी छुटिसकेका छन् ।

बाहुनसँग सोधपुछ
घटनाको विषयमा जेलमा रहेका बाहुनसँग पनि प्रहरीले पटकपटक सोधपुछ गरेको थियो । तर, उनको संलग्नता नभेटिए पनि उनको गिरोहका सहयोगीहरू भने संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको आठजना फरार अभियुक्तको सूचीमा चौथो नम्बरमा लिङदेनको नाम छ । घटनामा गुन्डागर्दीमा संलग्न ठूलो संगठित समूह रहेको डिआइजी गणेश केसी बताउँछन् ।

भारतमा बसेर असुली आतंक
फरार गुन्डा नाइके समीरमानसिंह बस्नेतको योजनामा गौचनको हत्या भएको अनुसन्धान प्रतिवेदन प्रहरीले सार्वजनिक गरिसकेको छ । कुनै समय कुमार घैँटे समूहसँग मिलेर राजधानीमा गुन्डागर्दी गर्ने बस्नेत अहिले भारतमा बसेर असुली आतंक मच्चाइरहेका छन् । गौचनसँग पनि उनले पैसा मागेकोमा नदिएपछि हत्या गरेका थिए । अरू ठेकदारहरूलाई समेत तर्साउन उनले हत्या गरेको प्रहरी आशंका छ ।

एउटै समूहको संलग्नता
प्रहरीको हालसम्मको अनुसन्धान अनुसार गौचनको हत्या र गत वर्ष बुटवलमा युवा संघका नेता दुर्गा तिवारीको हत्यामा एउटै समूहको संलग्नता देखिएको छ । गत चैतमा कुमारीगालमा दावा लामामाथि आक्रमण पनि सोही समूहबाट भएको हो । दावालाई अम्बरबहादुर रानाले गोली हानेको प्रहरी स्रोत बताउँछ । तिवारीको हत्या रुपन्देहीका मनोज पुनको समूहले गरेको थियो । त्यसवेला समीर बस्नेत र लोप्साङ पनि उनकै समूहमा थिए । पछि समीर र लोप्साङ पुनसँग टाढा भएका थिए ।

व्यवसायीहरू आतंकित
उनीहरूले ठेकेदारहरूलाई लक्षित गरी धम्क्याएर पैसा उठाउँदै आएका थिए । तर, पटक–पटक प्रहरीको टोली उनीहरूलाई पक्राउ गर्न भारत गए पनि असफल भई फर्किएको छ । जस कारण व्यवसायीहरू आतंकित भएका छन् ।  नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री