बुधबार, १२ वैशाख २०८१

झापामा ‘हात्ती नियन्त्रण’ बन्यो मतदाता फकाउने मुख्य मुद्दा

समयपोष्ट २०७४ कार्तिक ३० गते ५:२५

चन्द्रकला भण्डारी 

Advertisement

झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । 

झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा हात्ती प्रभावित क्षेत्रमा बसोबास गर्दै आएका छन् । 

हात्तीले मान्छे मारेको र भौतिक सम्पत्तिमा क्षति पु¥याइरहेको आधारमा विश्लेषण गर्दा झापाका पाँचवटा संघीय र १० वटा प्रादेशिक निर्वाचन क्षेत्रमध्ये तीनवटा संघीय र सातवटा प्रादेशिक एकाइ हात्ती समस्याको चपेटामा छन् । 

हात्ती समस्याबाट झापा क्षेत्र नं १, २ र ३ पूर्णरुपमा प्रभावित छन् । यस क्षेत्रमा एकलाख नौहजार ६७६ मतदाता बसोबास गर्दै आएका छन् । झापा–१ मा मेचीनगरको पूरै भाग, भद्रपुरको ९ र १० नं वडा र बुद्धशान्तिको ४, ५, ६ र ७ नं वडा पर्दछन् । हात्तीपीडित भनी परिचित बाहुनडाँगी समेत हाल मेचीनगरमै पर्छ । जिल्ला वन कार्यालयको तथ्यांक हेर्ने हो भने २०६९ सालयता हात्ती आक्रमणबाट झापा–१ मा ९ जनाको ज्यान गइसकेको छ । 

मृत्यु हुनेमा शान्तिनगरका अशोक तामाङ, लालबहादुर रानामगर, गोपीलाल विक र धनबहादुर राई रहेका छन् भने बाहुनडाँगीका असली राई, लक्ष्मी रम्तेल सार्की र मनोहरि ढुंगेल छन् । 

यसैगरी, धाइजनका शुक्र कुँवर र मेचीनगरका डम्बरबहादुर कुँवरको पनि हात्तीको आक्रमणमा मृत्यु भइसकेको छ । पछिल्लो अध्ययनले झापामा सबैभन्दा बढी हात्तीपीडित क्षेत्रको रुपमा झापा–३ देखिएको छ । 

यस क्षेत्रका भद्रपुर, हल्दिबारी, बाह्रदसी र कचन कबल हात्ती समस्याको चर्को पीडा व्यहोरिरहेका छन् । यहाँ एकलाख १४ हजार ५८६ मतदाताको बसोबास रहेको छ । यस क्षेत्रमा २०६९ यता १३ जना मानिस हात्तीबाट मारिएको जिल्ला बन कार्यालयको तथ्यांकले देखाउँछ । 

मृत्यु हुनेमा पृथ्वीनगरका आशामाया राई, दुर्गाप्रसाद पाण्डे, गुनमाया बस्नेत, ज्ञानबहादुर चाम्लिङ, मङ्गलवीर तामाङ र देवीकुमार राई रहेका छन् भने भद्रपुरका बालमाया लिम्बू, शर्मिला लिम्बू र दुर्गा कटुवाल रहेका छन् । 

यसैगरी, कचन कबलका मनराज केरुङ, हल्दिबारीका रतिलाल मेचे, बनियानीका भवानीप्रसाद घिमिरे र बालुबाडीका बजारी राजवंशीको हात्तीको आक्रमणमा मृत्यु भएको हो । 

झापा–२ मा एकलाख १४ हजार तीन मतदाताको बसोबास छ । तीमध्ये दुई तिहाइ अर्थात् ७५ हजारभन्दा केही बढी मतदाता हात्तीको समस्या व्यहोरिरहेका छन् । २०६९ सालयता यस क्षेत्रमा हात्तीको आक्रमणमा परी आठजनाको ज्यान गइसकेको छ । 

मृत्यु हुनेमा बुधबारेका माया लिम्बू, गणेशबहादुर भुसाल, लक्ष्मीप्रसाद पौडेल र कृष्णमाया मगर रहेका छन् भने अर्जुनधाराका रामचन्द्र बोगटी, गरामनीका जयनारायण अधिकारी, गरामनीकै दिलबहादुर मगर र खुदुनाबारीका सावित्रा ओझाको पनि हात्तीकै आक्रमणमा मृत्यु भएको छ । 

झापा–४ मा दुईजना (रनमाया मगर र झुमादेवी भट्टराई) र झापा–५ मा एकजना धनमाया कार्की (दमक)को हात्तीको आक्रमणमा मृत्यु भएको वन कार्यालयले जनाएको छ । 

झापा–४ र ५ को केही उत्तरी भेगमा कहिलेकाहीँ हात्तीले दुःख दिने गरेपनि अन्य क्षेत्रको तुलनामा त्यहाँ पीडा न्यून नै छ । झापाको आधा भूगोल नै हात्ती समस्याबाट लपेटिएको अवस्थामा आम मतदाताको मुख्य सरोकार हात्ती नियन्त्रण हुनु र दलहरुले यसलाई चुनावी मुद्दा बनाउनु स्वाभाविक भएको मानव—हात्ती द्वन्द्व न्यूनीकरणमा लामो समयदेखि काम गर्दै आएका बाहुनडाँगीस्थित प्रकृति संरक्षण समाजका अध्यक्ष नीरज घिमिरे बताउछन् । 

“राष्ट्रिय सरोकारका चुनावी मुद्दा अरु नै छन्, तर झापाको आधा भूगोलको स्थानीय मुख्य सरोकारको मुद्दा ‘हात्ती नियन्त्रण’ नै हो”, साविक बाहुनडाँगी गाउँ विकास समितिका पूर्व अध्यक्ष निलकण्ठ तिवारी समेत बताउछन् । 
पूर्व जनप्रतिनिधि तिवारीले हात्ती समस्यालाई चुनावी नारा मात्रै नबनाउन र दिगो समाधानको खोजीमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।   झापा–१ मा नेपाली काँग्रेसका नरेन्द्रविक्रम नेम्वाङ र नेकपा (एमाले)का रविन कोइरालाले यसअघिको चुनावमा सांसद बन्न हात्ती नियन्त्रणको मुद्दालाई चुनावी नारा बनाएका थिए । 

हाल प्रतिनिधिसभामा उम्मेदवार बनेकावाम गठबन्धनका राम कार्की र नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा दुवैले हात्ती नियन्त्रणको विषयलाई आफ्नो मुख्य चुनावी मुद्दा बनाएका छन् । 

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार रहेको मुलुककै चर्चित निर्वाचन क्षेत्र झापा–३ मा समेत राष्ट्रिय मुद्दालाई हात्ती नियन्त्रणको स्थानीय मुद्दाले चुनावमा स्थान पाएको छ । 

पृथ्वीनगर, भद्रपुर, हल्दिबारी र कचन कबलजस्ता क्षेत्रमा लगातार हात्तीले जनधनको ठूलो क्षति पु¥याइरहेको छ । “हात्ती नियन्त्रणको कुरा नगरे भोट नपाइने बुझेरै दलहरुले यसलाई चुनावी मुद्दा बनाउन थालेका हुन्”– भद्रपुरस्थित नागरिक एफएममा कार्यरत पत्रकार गोपाल गिरीको धारणा छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका कामको जस लिने होडबाजी समेत दलहरुले गर्न थालेका छन् । 

झापाको साविक जिल्ला विकास समितिले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि पहिलोपल्ट रु ३० लाखको बजेटमा सुरुङ बार बनाएको थियो भने त्यसअघि लाखौँको खर्चमा मचान निर्माण गरिएका थिए । 

हाल विश्व बैंकको रु एक करोडभन्दा बढीको सहयोगमा विद्युतीय तारबार भएका कारण बाहुनडाँगीमा एक वर्षयता हात्तीको समस्या न्यूनीकरण भएको छ । यसै आर्थिक वर्षमा हात्ती नियन्त्रणका लागि भनेर झापामा नेपाल सरकारले रु आठ करोड आठलाखको बजेट छुट्याएको छ । 

मानव–हात्ती द्वन्द्व न्यूनीकरण परियोजनाअन्तर्गत दक्षिण झापाको जलथलदेखि उत्तरी झापाको बाहुनडाँगीसम्म नै सोलार फेन्सिङ (सौर्य विद्युत बार) र करिडर निर्माण गर्नका लागि नेपाल सरकारले हालै सो बजेट विनियोजन गरेको हो । 

बजेट आइपुग्न बाँकी रहेपनि नेताहरुले भने त्यो बजेटका बारेमा प्रचार गरेर भोट तान्ने प्रयास गरिरहेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री