शुक्रबार, ७ वैशाख २०८१

कहाँ बस्ला प्रदेशसभा ? यसरी हुँदैछ राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य

समयपोष्ट २०७४ कार्तिक २३ गते ३:५६

संघीय संसद्का दुईवटै सदनका लागि अस्थायी नै भए पनि बैठक कक्ष तयार भइरहँदा प्रदेशसभाहरू कहाँ बस्छन् भन्ने अत्तोपत्तो छैन  ।

Advertisement

निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए ।
‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ ।’

संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सचिवालय गठनका लागि प्रदेशसभाको बैठक सञ्चालन हुनुपर्छ । बैठक सञ्चालनका लागि सचिवालय आवश्यक पर्छ । यस्तो कानुन बन्न प्रदेशसभाको अधिवेशन बस्नुपर्छ ।

प्रदेशसभा सचिवको नियुक्ति प्रदेशसभाका सभामुखको सिफारिसमा प्रदेश प्रमुखबाट हुनुपर्छ । संविधानको धारा १९५ अनुसार प्रदेशसभाको काम कारबाही सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सचिवालयको व्यवस्था प्रदेश कानुनअनुसार हुनेछ ।
प्रदेशसभा गठन नहुँदासम्म उसको क्षेत्राधिकारमा पर्ने कानुन निर्माणको समेत जिम्मेवारी पाएको संविधानसभाबाट रूपान्तरित व्यवस्थापिका संसद्बाट सरकारले त्यससम्बन्धी कुनै कानुन नबनाई समय खेर फालेको थियो । 
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री