शुक्रबार, १४ वैशाख २०८१

उदयपुरमा वाम गठबन्धनलाई अझै लागेन चुनाव , प्रचारमा किन हुँदैछ अलमल ?

समयपोष्ट २०७४ कार्तिक १९ गते ५:३७

आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ ।

Advertisement

उदयपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण भएपछि नेकपा एमाले र माओवादी केन्द्रले जिल्लामा आधा–आधा भाग लगाएर उम्मेदवारहरु तोके पनि दुवै पक्षबाट गठबन्धनलाई संकट पर्नेगरी जिम्मेवार नेताले नै बागी उम्मेदवारी हालेपछि अहिले उदयपुरको वाम गठबन्धन विवाद मिलाउन लागीपरेका छन् ।

यता नेपाली कांग्रेस उदयपुरले भने जिल्लाको मुख्य त्रियुगा नगरपालिका क्षेत्र, कटारी, नगरपालिका क्षेत्र तथा बेलका नगरपालिका र चौदण्डी नगरक्षेत्रमा चुनावी प्रचारप्रसार शुरु गरेको कुरा नेपाली कांग्रेस  उदयपुरका सचिव तथा पार्टी प्रवक्ता मदनराज कटुवाल बताए ।कट्वालका अनुसार अहिले नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का, क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्कीसहित प्रदेशका लागि उम्मेदवार बनेका बिदुरबाबु बस्नेत, रामकुमार खत्री, हिमाल कार्की र भेषराज मगरले संयुक्त रुपमा चुनावी प्रचार शुरु गरेका छन् ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउतका अनुसार वाम गठबन्धनभित्र बागी उम्मेदवारलाई मिलाउन एउटा संयुक्त समिति नै बनाएर काम थालेको हुनाले समितिले काम गरिरहेको छ । यस्तै वाम गठबन्धन बाहेक पनि एमालेबिरुद्ध एमालेकै उम्मेदवार र माओबादीबिरुद्ध पनि माओबादीकै बागी उम्मेदवार रहेका कारण पनि पार्टीगत छुटाछुट्टै वार्ता समिति बनाएर समितिमार्फत वार्ता भइरहेको गठबन्धनका जिम्मेवार जिल्ला नेताहरुले बताएका छन् ।

एक गठबन्धनले अर्काविरुद्ध बागी हाल्नेदेखि आफ्नाविरुद्ध आफ्नै संगठनका नेताहरुले समेत बागी हालाहाल गरेपछि उदयपुरमा वाम गठबन्धन अलमल र संकटमा छ ।

उदयपुरमा गठबन्धनमा बागी उम्मेदवारहरुलाई मिलाउन दुबै पार्टीका शीर्षस्थ नेताहरुले पहल गरिरहेको बताइएको छ ।

अहिले गठबन्धनविरुद्ध बागी उम्मेदवार हाल्ने उम्मेदवारमा एमालेबाट पार्टीका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य कुशलबाबु बस्नेत, एमाले नेता होमप्रसाद दाहाल रहेका छन् ।

यस्तै माओवादी केन्द्रबाट पार्टी जिल्ला अध्यक्ष बिनोद कट्वाल, पार्टी जिल्ला उपसंयोजक, जीवन कार्की, पार्टी जिल्ला उपाध्यक्ष नारायण बुर्जा, पार्टीका केन्द्रीय सल्लाहकार मीनबहादुर ठकुरीलगायतका नेताहरुले प्रदेशसभा र प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिएको संयुक्त वाम गठबन्धनका नेताहरुले बताएका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री