शुक्रबार, १४ वैशाख २०८१

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

समयपोष्ट २०७६ कार्तिक २९ गते २०:४९

Advertisement

ईट्टा भट्टीमा मान्छे जलाएर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताव आलमलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आलमविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि शुक्रबार न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा राख्न आदेश दिएको हो ।

इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो । उक्त दफामा तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने प्रावधान छ ।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका निलम्बित सांसद आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए । आलमविरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।

२०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै ईटा भट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशमा गत असोज २६ गते आलम पक्राउ परेका थिए । पक्राउसँगै प्रहरीले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री