बिहीबार, १५ चैत २०८०

बाबुरामले भने – समाजवादी पार्टीलाई अब नेपालको वैकल्पिक शक्ति बनाउँछौँ

समयपोष्ट २०७६ कार्तिक २८ गते १९:५३

Advertisement

समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताउनुभएको छ । सङ्घीय परिषद् बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताउनुभयो ।

प्रतिवेदनमा अध्यक्ष डा भट्टराईले नेपालमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक शक्ति सम्बन्धबीच नेपालले शान्ति, स्थायित्व, गतिशील, तटस्थ र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभएको छ । चीन र भारतबीच नेपाल गतिशील आर्थिक पुल बन्ने प्रयासमा लाग्नुपर्ने प्रतिवेदनमा स्पष्ट गरिएको छ । प्रतिवेदनमा डा भट्टराईले काङ्ग्रेस र कम्युनिष्टजस्ता पुराना पार्टीले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि ती पार्टीको सोच, संस्कार र सिद्धान्तको सीमाले त्यो पूरा गर्न नसक्ने भन्दै उक्त कार्य आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने उल्लेख गर्नुभएको छ ।

“समाजवादी कार्यभार र मार्गचित्र पूँजीवादी र साम्यवादी शक्तिले पूरा गर्ने अपेक्षा हाँस्यास्पद हो”, प्रतिवेदनमा भनिएको छ, “समाजवादी कार्यभार, समाजवादी मार्गचित्र, समाजवादी राज्य न पूँजीवादीबाट, न साम्यवादीबाट, न काङ्ग्रेसबाट न कम्युनिष्टबाट हुन सक्छ । यो अभिभारा समाजवादी पार्टीको नेतृत्वले मात्र पूरा गर्न सम्भव छ ।” राजनीतिक शक्तिबारे विश्लेषण गर्दै नेता डा भट्टराईले नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोहीबमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना उल्लेख गर्नुभएको छ ।

काङ्ग्रेसलाई उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल भएको आँैल्याउँदै डा भट्टराईले प्रमुख प्रतिपक्षको भूमिका भने राम्ररी निभाउन नसकेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई उहाँले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणका नाममा काङ्ग्रेस जस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको आरोप लगाउनुभएको छ । प्रारम्भमा सरकारप्रति जनताले आशा÷अपेक्षा गरे पनि सरकारले जनअपेक्षाअनुरुप कार्य गर्न असफल भएको टिप्पणी गर्दै अध्यक्ष डा भट्टराईले आफ्नो पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयको काम राम्रोसँग गर्न खोजेको बताउनुभएको छ । समाजवादीले नेतृत्व गरेको प्रदेश नं २ को सरकारले पनि प्रभावकारी जनमुखी कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार काठमाडाँैमा हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री