शुक्रबार, १४ वैशाख २०८१

तिनाउ पावर हाउसबाट दैनिक ११ हजार युनिट विद्युत् उत्पादन, क्षमता बढाउन अध्ययन शुरु

समयपोष्ट २०७६ कार्तिक २४ गते १५:२९

Advertisement

रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको तिनाउ पावर हाउसको विद्युत् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत् उत्पादन हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार विद्युत् उत्पादन बढाएर तीन मेगावाट पुर्याउने लक्ष्यसहित अध्ययन प्रक्रिया अघि बढाइएको हो । “विद्युत् उत्पादन बढाउन सकियो भने विद्युत् वितरणमा देखिने भोल्टेजको समस्या समाधान हुन्छ । बुटवल बजारका लागि आवश्यक विद्युत् आपूर्ति पूरा गर्न सकिन्छ”, मिश्रले भन्नुभयो । विभिन्न प्राविधिक समस्याका कारण बन्द अवस्थामा रहेको तिनाउ विद्युत् गहृ २०७४ जेठदेखि नियमितरुपमा सञ्चालनमा आएको थियो । विद्युत् गहृमा २५० किलोवाटका दुई टर्वाइन र ५०० किलोवाटको एक टर्वाइन सञ्चालनमा थिए । समस्या देखिएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको प्रमुख मिश्रले जानकारी दिनुभयो ।

तिनाउ पावर हाउसबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जडान भएपनि खास गरी अति संवेदनशिल सरकारी कार्यालयमा खपत भइरहेको बताइएको छ । आर्थिक वर्ष २०७३÷७४ मा १० लाख ५८ हजार ६४५ युनिट विद्युत् उत्पादन भएको उक्त पावर हाउसबाट आव २०७४÷७५ मा २० लाख २१ हजार ९८० युनिट विद्युत् उत्पादन भएको छ । यस्तै आर्थिक वर्ष २०७५÷७६ मा २४ लाख ९६ हजार ८४० युनिट विद्युत् उत्पादन भएको छ । सो पावर हाउस २०३७ सालमा निर्माण भएको हो ।

लाइन काटेर असुली

नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रले विभिन्न आर्थिक वर्षमा विद्युत् लाइन काट्दै रकम असुली गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा ३५५ ग्राहकको विद्युत् लाइन काटेर रु एक करोड चार लाख ४३ हजार असुली गरिएको थियो । आव २०७४÷७५ मा ७२७ उपभोक्ताको लाइन काटेर रु एक करोड ७२ लाख ६७ हजार तथा आव २०७४÷७५ मा ७४० ग्राहकको लाइन काटेर झण्डै रु दुई करोड असुली गरिएको वितरण केन्द्रका प्रमुख मिश्रले जानकारी दिनुभयो ।

रुपन्देहीको शङ्करनगर, कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका तिनाउ र सुनवलका केही भागका उपभोक्तको विद्युत् लाइन काटिएको थियो । यसैगरी नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रले आव २०७५÷७६ मा रु एक अर्ब ४२ करोड राजश्व सङ्कलन गरेको छ । केन्द्रले आव २०७४÷७५ मा रु एक अर्ब १९ करोड सात लाख २१ हजार राजश्व सङ्कलन गरेको छ भने आव २०७३÷७४ मा रु ९६ करोड ६६ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री