बिहीबार, २८ कार्तिक २०७६

क्यान्भासमा उत्तरगया : मनमोहक फलाखु र त्रिशूली नदी

rss २०७६ कार्तिक २३ गते १३:५०

ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे । कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशूलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा उन्नुभयो । उहाँहरुको चित्रमा त्रिशूलीको छालमात्रै होइन काउले, भाल्चे र माने गाउँको दृष्यसमेत कैद गरेका थिए । केहीमाथि दृश्य उतार्दै हुनुहुन्थ्यो अर्का कलाकार दिवेश प्रधान । गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दैगरेको त्रिशूलीको बहावमा उहाँको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले ।

तल्लो भेगमा हुनुहुन्थ्यो कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे । त्रिशूलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल र यहाँ रहेको ठूलाूुला ढुङ्गासहितको प्राकृतिक दृष्य उहाँहरुको क्यान्भासमा प¥यो ।

कलाकार प्रजापति भन्नुहुन्छ, “ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाई भित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो ।” त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशूलीसँगै देखिने माथिल्लो पहाडी बस्ती क्यानभासमा उतार्न कूचि चलाउँदै हुनुहुन्थ्यो कलाकार झलक केसी । माने गाउँलाई पुष्टभूमिमा राखेर त्रिशूलीको बहावलाई कैद गर्नुभएका केसी त्रिशूलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएका अनुभव सुनाउनुहुन्छ ।

अलीमाथि फलाखु खोलाको बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भामा दृष्य बनाउनुभयो । क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो । कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन । उहाँले हरिबोधनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाल्नुभयो । कञ्चन फलाखु खोला र त्रिशूलीको मिलन विन्दु, त्यसमाथि बनेको झोलुङ्ग् पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उहाँको क्यान्भासमा स्थानपायो । लक्ष्मीप्रसाद खतेजा र तथा गत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उतार्नुभयो ।

ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान शिवले कालकुट विष (हलाहल) सेवन गरेका र कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको वेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविस्वास छ । त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो ।

नेपाल तिब्बतबीचको युद्ध रोक्न विसं १८४९ मा भएको ऐतिहासिक बेत्रावती सन्धीले यसको ऐतिहासिक महत्वको स्मरण गराउँछ । योगी नरहरीनाथले विसं २०४९ मा कोटीहोम गरेपछि भने बेत्रावतीको धार्मिक महत्व बढेको स्थानीय बताउँछन् । यतिका महत्व बोकेर पनि उचित प्रचारप्रसार हुन नसक्दा धार्मिक पर्यटकीय महत्व ओझेलमा परेकाले यहाँको परिचय विश्वमा पु¥याउन चित्रकला कार्यशाला गरिएको ‘रसुवा कलायात्रा’का स्थानीय संयोजक शशीकुमार डङ्गोल बताउनुहुन्छ । उहाँले वर्षाैदेखिएको आ–आफ्नो सपना पूरा भएको बताउनुभयो ।

विगत एक वर्षदेखि हरेक शनिबार स्थलगत चित्रकला कार्यशाला आयोजना गर्दै आएको फेसबुकमार्फत जोडिएका कलाकारको एक समूहले नजिकिँदो नेपाल भ्रमण वर्षलाई केन्द्रीत गरेर पछिल्लो समया सम्पदा क्षेत्रमा चित्रकला कार्यशाला गर्दै आएको छ । चित्रको माध्यामबाट पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले अहिले धार्मिक, ऐतिहासिक, पुरातात्विक र सम्पदा क्षेत्रमा पुगेर चित्रकला कार्यशाला आयोजना गरी प्रदर्शनसमेत गरिँदै आएको कलाकार दिवेश प्रधान बताउनुहुन्छ ।

उहाँले बेत्रावती र कालिकास्थानमा बनाइएको चित्रहरुलाई राजधानी काठमाडौँमा प्रदर्शन गरिने बताउनुभयो । बच्चाले लेख्न पढ्न नजान्ने बेलामा पनि चित्र कोर्न सक्छ । भावना व्यक्त गर्ने माध्याम हो चित्रकला । अभिलेखको महत्वपूर्ण माध्याम भएकाले पनि एउटा देशका लागि चित्रकला अति नै महत्वपूर्ण रहेको प्रधान बताउनुहुन्छ । अझै पनि धेरै अध्ययन चित्रकलाबाटै हुने गरेको उहाँले बताउनुभयो ।

उक्त टोलीले यसअघि भोटेकोसी सभ्यता शीर्षकमा सिन्धुपाल्चोकमा चित्रकला कार्यशाला गरिसकेको छ । उक्त समूहले उपत्यकाका तीनै जिल्लामा शङ्खलाबद्ध रुपमा कार्यशाला गर्दै आएको छ । त्यसैको निरन्तरता हो ‘रसुवा कलायात्रा’ । नियमित शनिबारीय स्थलगत चित्रकला कार्यशाला शृङ्खला अन्तर्गत रसुवाको कालिका गाउँपालिकामा पनि कार्यशाला आयोजना गरिएको रसुवाका कलाकार डिल्लीराम घिमिरेले बताउनुभयो ।

रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल काठमाडौँबाट आएका कलाकारले दृष्य चित्रमा उतारेर बेत्रावतीको परिवेषलाई विश्वमा पु¥याउने प्रयास गरेकोमा सराहना व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले कलाकारमा निखारता आउने र स्थान विशेषको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास कलाकारको छ ।

प्रतिक्रिया