बिहीबार, २१ मंसिर २०८०

बुहारीको कलेजोबाट सासूले पाइन् नयाँ जीवन

समयपोष्ट २०८० कार्तिक ११ गते ११:१३

Advertisement

रामेछापकी एक बुहारीले सासूलाई कलेजो दान गरेकी छन् ।

३७ वर्षीया बुहारी माया शेर्पाले ६२ वर्षीया सासू लाक्पा शेर्पालाई कलेजो दान गरेकी हुन् ।

शेर्पाको भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३० सदस्यीय टोलीले प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरेको हो ।

रामेछाप घर भइ काठमाडौंको बौद्ध बस्दै आएकी ६२ वर्षीया लाक्पा र कलेजो दान गर्ने बुहारी माया असोज २५ गते बिहीबार धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।

भोलिपल्ट मायाले बिरामी सासूलाई आफ्नो कलेज दान गरिन् भने चिकित्सकको टोलीले सफल प्रत्यारोपण गर्यो । कलेजो दान गर्ने माया छैठौं दिनमै डिस्चाई भइन् भने विरामी लाक्पा १३ औं दिनमा बुधवार निको भई घर फर्किन् ।

बि.सं २०७३ सालमा दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो ।

त्यसपछि अहिलेसम्म १४ जनाको सफल कलेजो प्रत्यारोपण भइसकेको छ । “कलेजो दान भनेको मानव शरीरमा भएको सम्पूर्ण कलेजो नै निकालेर दिने भने होइन । कलेजोको आधा टुक्रा निकालेर अर्कोमा प्रत्यारोपण गर्ने हो”, केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठले भने,”यसरी प्रत्यारोपण गरिएको कलेलो विस्तारै पलाउँदै जान्छ भने दाताको शरिरमा रहेको कलेजो पनि पलाएर पूर्ण हुन्छ”।

कलेजो मात्र नभएर केन्द्रले ११ वर्षमा ११ सय ३७ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ ।

नेपालमा वर्षेनी १ हजार जनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको छ । अत्यधिक मदिरासेवन, डायबेटिज, मोटोपन, हेपाटाइटिसलगायतका विभिन्न कारणले कलेजो बिग्रेर विरामी हुने गरेको तथ्याङ्क छ । चिकित्सा विज्ञानमा कलेजो प्रत्योरोपणलाई अत्यन्त जटिल मानिने गरे पनि डराएर बस्न नहुने प्रमुख श्रेष्ठ बताउँछन् ।

कलेजो प्रत्यारोपणा खर्चिलो भने छ । एक जनाको कलेजो प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी लाग्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री