शुक्रबार, ७ वैशाख २०८१

सहकारीले बनायो नेता

समयपोष्ट २०७९ असोज १६ गते १४:४२

Advertisement

व्यास–१ गल्वुबेंसी निवासी ४८ वर्षीया कृष्णमाया दुराको दैनिकी केही वर्षअघिसम्म सहकारी संस्थाका महिला सदस्यसँग विषयगत छलफल र कुराकारी गरेरै बित्ने गर्दथ्यो । सहकारीमार्फत महिला सदस्य र समुदायमाझ राम्रो छवि बनाउनुभएको उहाँले २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी लीला दरैले भन्दा नौ सय ४४ मत बढी प्राप्त गरी महिला वडा सदस्यमा निर्वाचित हुनुभयो ।

व्यास नगरपालिकाको कार्यकारिणी सदस्यसमेत रहनुभएको उहाँ अहिले विकास निर्माण र समुदायको समस्या समाधानमा सक्रिय भएर जुट्ने गर्नुहुन्छ । व्यास नगरपालिका–२ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएपछि नेतृत्व विकास भएको र विसं २०७५ देखि ऋण संयोजक भएर आर्थिक जिम्मेवारीसमेत लिएको दुराले बताउनुभयो ।

“पहिले मानिसको अघि खासै बोल्ने हिम्मत आउँथेन । पछि सहकारीबाट तालिम पाएपछि बोल्न सक्ने भएँ”, दुराले भन्नुभयो, “निर्वाचनमा उम्मेदवारी दिन्छु भन्ने हिम्मत पनि मलाई सहकारीले नै दिएको हो ।” निर्वाचनमा उहाँले एक हजार पाँच सय ५२ मत र निकटतम् प्रतिद्वन्द्वी ३४ वर्षीया लीलाले ६०८ मत प्राप्त गर्नुभएको थियो ।

सो सहकारी संस्थाकै अर्का महिला सदस्य ३७ वर्षीया केशरीमाया थापा पनि सोही सहकारी संस्थामा ऋण संयोजक भएर दुई कार्यकाल बिताउनुभयो । विसं २०७० सालदेखि सहकारी संस्थामा करिब पाँच वर्ष समय बिताएको उहाँ पनि यसपटकको स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिका–५ को सदस्यमा निर्वाचित हुनुभयो । सहकारीका सदस्यको विश्वास, सहकारीमा लिएको ज्ञान र सीप व्यवहारमा प्रयोग गरेकैले निर्वाचनमा विजयी भएको आफूले ठानेको उहाँले बताउनुभयो । “सहकारीका सदस्यसँग काम गर्ने शैलीले निर्वाचनमा सजिलो बनायो”, उहाँले भन्नुभयो, “निर्वाचनमा विजयी हुनुमा सहकारी संस्थाको पनि ठूलो हात छ ।” यस निर्वाचनमा उहाँले एक हजार एक सय नौ मत र प्रतिद्वन्द्व ५५ वर्षीया मनमाया श्रेष्ठले एक हजार ९५ मत प्राप्त गर्नुभएको थियो । चौध मतको फरकमा विजयी हुनुको पछि सहकारीकै महिला सदस्यको साथ र सहयोग रहेको उहाँले बताउनुभयो ।

उहाँहरुले सक्रियता र जिम्मेवारी पूरा गर्नसक्ने खुबी देखेर नै उहाँहरुलाई विभिन्न कार्यकालमा गरी आफूहरुले ऋण उपसमिति संयोजकको जिम्मेवारी सुम्पिएको संस्थाका अध्यक्ष सुकमाया थापाले बताउनुभयो । “उहाँहरुमा सहकारीका शेयर सदस्य महिलामा छिटो घुलमिल हुनसक्ने क्षमता थियो”, अध्यक्ष थापाले भन्नुभयो, “त्यही लगन र खुबी चिनेका मतदाताले उहाँहरुलाई जनप्रतिनिधिसमेत बनाइछाड्यो ।” आफूहरुले वित्तीय सुधारको अतिरिक्त महिलाको सीप र क्षमता विकासमा समेत विभिन्न तालिम दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो ।

सोही सहकारीबाटै साथीसँग सम्पर्क बढाएर दुरा र थापा जनप्रतिनिधिसमेत भइसक्नुभएकामा गर्व लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । विसं २०६९ मा सुरुमा २५ जना महिला आबद्ध भई उक्त सहकारी संस्था दर्ता गरी सञ्चालन गरेको अध्यक्ष थापाले बताउनुभयो ।

अहिले सहकारीको सञ्चालक समिति लेखा समितिलगायत विभिन्न उपसमितिमा महिला नै हुनुहुन्छ । व्यवस्थापक रञ्जिता क्षेत्री भुजेलदेखि लेखापाल र बजार प्रतिनिधि गरी सात कर्मचारी सबै महिला नै हुनुहुन्छ ।

सहकारीमा हाल तीन सय ८७ जना महिला र ८५ जना पुरुष गरी कूल चार सय ७२ जना शेयर सदस्य रहनुभएको छ । सहकारीमा ८६ लाख दुई हजार नौ सय रुपैयाँ कूल पँुजी र रु तीन करोड ३६ लाख ४४ हजार एक सय ४८ रुपैयाँ कूल लगानी रहेको सहकारी संस्थाले जनाएको छ । दमौली बजार क्षेत्रमा महिलाद्वारा सञ्चालित दुई वटा मात्र सहकारी संस्था छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री