बिहीबार, ६ वैशाख २०८१

 दसैं सकियो, तर दसैं मान्ने र नमान्ने बहस जारी

समयपोष्ट २०७३ कार्तिक ११ गते ६:१७

दीपेन्द्र राई
संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता अशोक राईले गएको दसैंमा टीका लगाए । रातो टीका लगाएर श्रीमती सुशीला श्रेष्ठसँग खिचिएको तस्बिर फेसबुकमा पोस्ट गरेपछि वरिष्ठ नेता राईलाई सामाजिक सञ्जालमार्फत गाली गर्नेको कमी थिएन ।
नेता राईले टीका लगाएको तस्बिरको क्याप्सनमा लेखेका थिए, ‘दसैं, टीका र जमराबारे विचारोत्तेजक छलफल चल्नु राम्रो हो । कोही बहिष्कारको निष्कर्षमा पुग्नुभएको भए मलाई आपत्ति छैन । मैले बुझ्न खोज्दा टीका, जमरा र बलिप्रथा हिन्दुका हुन् भन्ने निष्कर्षमा पुगेको छुइनँ । त्यसैले म दसैं वा टीका बहिष्कार अभियानमा सरिक नभएको अवस्था हो । बहिष्कार गर्न पर्याप्त आधार मैले प्राप्त गरेका र छलफलमा ल्याइएका तथ्यहरू पर्याप्त लागेका छैनन् । पहिचानको राजनीति गर्दा सबै धर्म, संस्कृतिको समानताको पक्षपोषण गरेको हुँ ।’ दसैंमा टीका ग्रहण गरेपछि एमाले पूर्वउपाध्यक्षसमेत रहेका राई र अनेरास्ववियु अध्यक्ष नविना लामालाई ‘गोरेबहादुर खपांगीपथ’ मा लागेको भन्दै आलोचना गरिएको थियो ।  दसैं सकिइसकेको छ । दसैं–२०७३ बारे बहस, छलफल, चर्चा–परिचर्चा सकिएको छैन । 
ashok-raiकिरात समुदायअन्तर्गत राई, लिम्बूमध्ये कतिपयले दसैं मान्ने गरेका छन् भने कतिपयले मान्दैनन् । संवत् २०४६ पछि दसैं मान्ने र नमान्ने दुवैथरीको आ–आफ्नै मान्यता छ । 
दसैं नमान्नेले ‘दसैं हाम्रो चाड होइन’ भन्दै आएका छन् । उनीहरूको तर्क छ, ‘संवत् १९३३ मा दसैं नमान्दा रामलिहाङ र रिदामा आठपहरिया राईलाई तात्कालिक प्रधानमन्त्री जंगबहादुर राणाको ठाडो आदेशमा धनकुटाको चुलीवनमा झुन्ड्याइएको थियो । 
उल्लिखित दुई दृष्टान्तबाट प्रस्ट हुन्छ कि दसैं मान्ने र नमान्नेबीच आ–आफ्नै तर्क छन् । मुन्दुम राई समुदायको मौलिक इतिहास हो । मुन्दुम अध्येता भोगीराज चाम्लिङ भन्छन्, ‘मुन्दुम दसैंबारे केही उल्लेख छैन ।’ तर, दसैं मान्ने राई समुदायकाले भन्ने गर्छन्– सांस्कृतिक सद्भावका लागि टीका थापेको हो । दसैं मान्ने र नमान्नेको आ–आफ्नै मान्यता रहे पनि मान्नेले दसैं मानिरहेका छन् भने छाड्नेले छाड्दै गएका छन् । दसैं मान्न छाड्नेले टीका जमरा नलगाए पनि पाहुना आएकालाई दक्षिणा र मीठो–मसिनो खान दिएर स्वागत गर्न छाडेका छैनन् ।   
दसैं, तिहारलाई छाडेर किरात राई समुदायको मुख्य चाड वैशाखे पूर्णिमा उँभौली र मंसिरेपूर्णिमा (उँधौली) हो । प्रकृतिपुजक राई समुदायले वर्षमा दुईपटक उँभौली र उँधौली मनाउने गर्छन् । उँभौलीमा भूमिपूजा गर्दै लगाइएको बाली सप्रियोस् भन्दै साकेला÷साकेवा÷साकेन्वा नाच्ने गरिन्छ भने उँधौलीमा नयाँ अन्नबालीको पूजा गरी प्रयोगमा ल्याउने गर्छन् । सरकारले उँभौली र उँधौलीमा सार्वजनिक बिदा दिँदै आएको छ । यसको अलावा उनीहरूले माघेसंक्रान्तिसमेत धुमधामसँग मनाउने गर्छन् । उनीहरूले माघेसंक्रान्तिलाई नयाँ वर्ष अर्थात् यलम्बर संवत्का रूपमा मनाउने गर्छन् । 
यसैगरी, लिम्बू समुदायमा पनि दसैं मान्ने र नमान्ने दुवैथरी छन् । मानजशास्त्री डम्बर चेम्जोङका अनुसार दसैं सांस्कृतिक र धार्मिक चाड होइन । दसैं सत्ताधारीको चाड हो । स्थानीय सत्तामा रहन पाएकाले आदिवासी जनजातिले दसैं मनाउँदै आएका छन् । तर, उनीहरूले आफ्नै सामाजिक परिवेशमा ढालेरमात्रै दसैं मनाउँदै आएका छन् । उनीहरूले सुँगुरको मासु, जाँड, रक्सी (हिन्दु धर्मावलम्बीका लागि अपवित्र) चढाउने र त्यसको कोसेली बाँडचुँड गरेर दसैं मनाएको देखिन्छ । यस हिसाबले आदिवासी जनजातिले दसैं मनाएजस्तो देखिए पनि खासमा बहिष्कार नै हो । रूपमा दसैं मनाइरहे पनि आदिवासी जनजातिले सारमा बहिष्कार नै गरिरहेका छन् । ऐतिहासिक प्रमाण र पहिचानका आधारमा संघीय प्रान्त निर्माण हुनुपर्छ भन्ने बहस चलिरहेको बेला दसैं बहिष्कार गरिनु सान्दर्भिक देखिन्छ । एकात्मक हिन्दु सत्ताले जबरजस्ती थोपरेको व्यवस्थालाई चुनौती दिन दसैं बहिष्कार अर्थपूर्ण छ ।
मानवशास्त्री चेम्जोङको मान्यतामा सहमत हुने लिम्बू समुदायले दसैं बहिष्कार गरेका छन् भने मान्नेले मान्दै आएका छन् । पत्रकार देवेन्द्र सुर्केली भन्छन्, ‘लिम्बू समुदायअन्तर्गत सुब्बाले मौलो काटेर दसैं मनाएको यथार्थ हो ।’ राणा र पञ्चायत कालभरि सुब्बा पद पाएकाले मालश्री गाउने, भगवती पुज्ने, मौलो हान्ने, जमरा राख्ने, टीका लगाउने गर्थे । दसैं नमान्नेले घर रंग्याउँदैनन् भने बाटोघाटो सफा नगर्ने, मार नहान्ने, मान्यजनकहाँ पनि जाँदैनन् । 
लिम्बू समुदायले साउनेसंक्रान्ति र माघेसंक्रान्ति धुमधामसँग मनाउने गर्छन् ।  त्यस्तै उनीहरूले चासोक तङ्नामसमेत विशेष रूपमा मनाउने गरेका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री