शुक्रबार, ७ वैशाख २०८१

मध्यपहाडी राजमार्ग : १४ वर्षमा जम्मा ६८ प्रतिशत काम, तोकिएको अवधिमा सम्पन्न हुन मुश्किल

समयपोष्ट २०७८ कार्तिक १० गते १५:२९

Advertisement

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्ग फेरि पनि तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ ।

कोभिड सङ्क्रमणका कारण काममा पुगेको बाधा, बजेट अभाव र कतिपय स्थानमा अझै सडकको रेखाङ्कन टुङ्गो नलागेका कारण आयोजनामा ढिलाइ हुने देखिएको हो । विगतमा सम्पन्न गर्न लिइएको लक्ष्य सारिँदै आएकामा पुनः दुई वर्ष थप गर्नुपर्ने आयोजनाले जनाएको छ । निर्माण सुरु भएको १४ वर्षमा ६८ प्रतिशत प्रगति भएकाले बाँकी काम दुई वर्षमा नसकिने देखिएको छ ।

बूढीगण्डकी जलाशययुक्त आयोजनका कारण गोरखा र धादिङमा रेखाङ्कन पनि समस्या देखिरहेको छ । अहिलेको रेखाङ्कनमा सडक निर्माण गर्दा सो आयोजना निर्माण भइसक्दा डुबान हुने भएकाले सडकको रेखाङ्कन परिवर्तनको कुरा उठिरहेको आयोजना निर्देशनालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताउनुभयो ।

कास्कीमा अहिलेको रेखाङ्कनबाट जाँदा झण्डै नौ सय घर भत्काउनुपर्ने भएकाले परिवर्तनको माग भइरहेको छ । उहाँले भन्नुभयो, “ती सबै घरको मुआ्ब्जा दिन नसकिने हुँदा पनि रेखाङ्कन परिवर्तन गर्नैपर्ने छ ।” राजमार्गमा ३७ पुल पहिले छुटेकामा निर्माणमा जानुपर्ने निर्देशनालका प्रमुख अर्यालले बताउनुभयो ।

उहाँका अनुसार एउटा बाहेक अरु पुल कम लम्बाइको रहेकाले एक वर्षीय ठेक्काबाट नै सम्पन्न हुने खालका छन् । एक सय मिटरभन्दा लामो पुल प्रक्रियामा गइसकेको र बाँकी पुल पनि छिटै प्रक्रियामा जाने उहाँको भनाइ छ ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा अन्य आयोजनाबाट निर्माण भएका झण्डै ४६२ किमी सडक तथा पुल चौडा गर्ने बाहेक अरु काम अवको दुई वर्षमा सम्पन्न गर्ने उल्लेख छ । आयोजनाले भने अहिलेको अवस्था हेर्दा त्यो अवधिमा नसकिने हुँदा आगामी आवको नीति तथा कार्यक्रममा अवधि थप्नुपर्ने बताएको छ ।

राष्ट्रिय गौरबका आयोजनामा बजेट अभाव हुन नदिने सरकारको नीति भए पनि गतवर्ष यो राजमार्ग, हुलाकी राजमार्गलगायतमा बजेट अभाव भएको थियो । चाहिने समयमा बजेट विनियोजन नहुँदा समस्या हुने उहाँको भनाइ छ ।

अहिलेको अवस्थामा हेर्दा राजमार्ग तोकिएको अवधिमा सम्पन्न हुने नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । आयोजनाको अवधि बढाउनुपर्ने उहाँको धारणा छ । आयोजनाको सम्पन्न हुने लक्ष्य निर्धारण गर्दा मध्यमकालीन खर्च संरचनाका आधारमा गरिन्छ ।

त्यसमा यसरी बजेट बढ्दै जान्छ भनेर उल्लेख भए पनि त्यहीअनुसार नबढ्दा रकमको अभाव हुने उहाँले बताउनुभयो । कुनै पनि आयोजना समयमा सम्पन्न नहुनुमा मुख्य कारण बजेट रहेको उहाँले बताउनुभयो ।
एउटा पुल बढीमा पाँच वर्ष नभए साना पुल भए दुई वर्षमा सम्पन्न हुने तर आवश्यकताअनुसार बजेट नहुँदा धेरै वर्ष लाग्ने श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार रु २८÷३० करोड बजेट चाहिनेमा कुनै एक वर्ष २५ लाख विनियोजन हुँदा सम्पन्न हुन लामो समय लाग्ने गरेको पाइन्छ । सडकमा लगानी राम्ररी बढाउन अहिले भइरहेकामध्ये एक चोथाइ मात्रै आयोजनालाई निरन्तरता दिनुपर्छ । उहाँले भन्नुभयो, “जनताको सडकको माग धेरै भएकाले त्यो हुनसक्दैन ।”

आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ । आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ । असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार आठ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ ।

राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन् । हाल २० पुल निर्माणाधीन रहको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ । चालू आवमा भैँसे, छिप्पे, सिती र रुडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनको क्रममा रहेको छ ।

राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरु आयोजनाबाट ४६२ किमी गरी जम्मा एक हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ । त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणधीन रहेको छ । हाल २३६ किमी सडक स्तरोन्नति (कालोपत्र) गर्नका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ ।

असोज मसान्तसम्ममा थप १४ किमीमा कालोपत्र सम्पन्न भएको छ । राजमार्गमा भर्याग्भुरुङग १२ किमी, सेलेघाट ११ किमी र सुन्दरबजार आठ किमी गरी ३१ किमीमा ठेक्का व्यवस्थापनको क्रममा रहेको छ । आयोजनाअन्तर्गत पाँचथर, काभ्रेपलाञ्चोक, गोरखा, पर्वत र दैलेख गरी पाँच योजना कार्यालय रहेका छन् । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको सो राजमार्गको सुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ र अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ ।

मध्यपहाडका २६ जिल्लालाई जोड्ने राजमार्गले विभिन्न स्थानमा नयाँ सहर निर्माण गर्नेछ । सो आयोजना आव २०६४/६५ मा सुरु भएको थियो । निर्माण सुरु हुँदा आव २०७३÷७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना हाल आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनाको सुरु लागत रु ३३ अर्ब ३६ करोड रहेकामा हालको संशोधित लागत रु ८४ अर्ब ३३ करोड रहेको छ ।

राजमार्गको अझैसम्म पनि सीमा (राइट अफ वो) निर्धारण हुन बाँकी छ । हाल राजमार्ग दुई लेनमा निर्माण भइरहेको छ । राष्ट्रिय राजमार्ग भएकाले सडकको मध्य भागबाट २५/२५ मिटर भनिए पनि स्थानीयवासीले त्यो कम गर्नुपर्ने बताउँदै आएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री