बिहीबार, १५ चैत २०८०

टीडीएस काट्नेले नै काटिनेको प्यान अद्यावधिक गर्नुपर्ने

पत्रपत्रिका २०७८ कार्तिक ३ गते ७:१९

Advertisement

आन्तरिक राजस्व विभागले आम व्यवसायी करदातालाई राहत मिल्ने गरी ई–टीडीएससम्बन्धी हालको प्रणालीमा परिवर्तन गरेको छ ।

कर कार्यालय धाएर ई–टीडीएस गर्नुपर्ने झन्झट हटाएर आफैले ई–टीडीएस गर्न सक्ने गरी विभागले नयाँ प्रणाली लागू गरेको हो ।

विभागका अनुसार अब विथहोल्डिङ एजेन्ट (टीडीएस काट्ने कम्पनी) ले विथहोल्डी (टीडीएस काटिने) को प्यान नम्बर पेश गर्न सक्नेछ । यसअघि ई–टीडीएस गर्न कर कार्यालयमा विथहोल्डिङ एजेन्टले निवेदन दिनुपर्थ्यो ।

ई–टीडीएस समयमा नहुँदा विथहोल्डीहरूलाई समयमा कर विवरण बुझाउनसमेत समस्या रहेको थियो ।

विभागले यो समस्या समाधान गर्न प्रणाली परिवर्तन गरेको आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताएका छन ।

के हो टीडीएस प्रणाली र विद्यमान समस्या ?

हरेक दिन कम्पनीहरूले टीडीएस गरेका हुन्छन्, जसले कम्पनीलाई पैसा पठाउनुपर्ने हुन्छ टीडीएस काटेर पैसा पठाएको हुन्छ । सरकारलाई कम्पनीहरूले विवरण बुझाउँदा विभिन्न समयमा भएको आम्दानी, टीडीएस बुझाउनुपर्ने हुन्छ । अहिले खासगरी टीडीएस समयमै बिल काटेको निकायले नबुझाइदिने समस्या छ । करदाता कार्यालयमै दर्ता भएको निकायले टीडीएस नबुझाइदिँदा कम्पनीमाथि सरकारले दबाब दिने तर सम्बद्ध निकायमा भने नदिने गर्दै आएको थियो । सम्बद्ध बिलदाताले समयमै टीडीएस नबुझाइदिँदा उल्टै बिल काट्ने कम्पनीलाई सरकारले जरीवाना तिराउँदै आएको थियो । अब भने टीडीएस समयमै नबुझाउने सम्बद्ध कम्पनीलाई नयाँ व्यवस्थाले जवाफदेही बनाउनेछ ।

ई–टीडीएससम्बन्धी हालको प्रणाली कसरी चलाउने ?

यो प्रक्रिया शुरू गर्दा शुरूमा विभागको वेबसाइटमा गएर ट्याक्सपेयर पोर्टलमा प्रवेश गर्नुपर्नेछ ।

त्यसपछि जेनरल मेन्युमा प्रवेश गरी हाल प्रयोग गरिरहेको प्यान, युजरनेम र पासवर्ड राखेपछि ‘एड विथहोल्डी प्यान इन ईटीडीएस’मा प्रवेश गर्नुपर्नेछ । यसपछि देखिने टेबल रहेको ट्रान्जेक्शन नम्बरमा सब्मिशन नम्बर उल्लेख गर्नुपर्नेछ र यसमा प्यान नम्बर नभएका करदाताको मात्र विवरण देखिन्छ । एउटै विवरणमा धेरै करदाताको सूची भएमा टीडीएस रकमको आधारमा पनि खोज्ने व्यवस्था नयाँ प्रणालीमा गरिएको छ । यसपछि सर्च बटम थिच्ने र प्यान कोलममा डबल क्लिक गरी प्यान नम्बर राख्न सकिनेछ । यदि एकभन्दा बढी प्यान नम्बर अपडेट गर्नुपर्ने भएमा पुनः उक्त महलमा प्यान नम्बर राखी प्रत्येकपटक अपलोड बटम क्लिक गर्नुपर्नेछ । एउटा सब्मिशन नम्बरमा रहेको सबै करदाताको एकैपटक अपलोड गर्नुपर्ने छैन । आर्थिक अभियान दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री