बुधबार, २० मंसिर २०८०

चीनियाँ राष्ट्रपति सि जिन पिङले छिट्टै नेपाल भ्रमण गर्ने,उर्जा र पूर्वाधार निर्माणमा सहयोग गर्ने आश्वासन

समयपोष्ट २०७३ असोज ३० गते २:५७

चीनियाँ राष्ट्रपति सि जिन पिङल पिङले नेपालले दिएको भ्रमणको निम्तोलाई स्वागत गर्दै उपयुक्त समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने बताएका छन्  । 
शनिबार साँझ भारतको गोवामा भएको नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनियाँ राष्ट्रपति सि जिन पिङबीचको भेटवार्तामा प्रधानमन्त्री  प्रचण्डले चीनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ भित्रै नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी दिँदै छिटै नेपाल भ्रमणका लागि निम्तो दिएका थिए  ।
भेटमा राष्ट्रपति पिङले पहिले पनि नेपालले भ्रमणको निम्ता गरिसकेकाले कुटनीतिक तहबाट भ्रमणको मिति तय हुने जानकारी दिँदै उपर्युक्त समय लिएर आफूले नेपाल भ्रमण गर्ने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पिङबीच दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भूकम्पको बिपत्ति र नेपालको विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध अझै मैत्रीपूर्ण हुने विश्वास व्यक्त गरे । प्रचण्डले चीनसँग नेपाल सरकारले विभिन्न समयमा गरेका सम्झौताहरु पूर्णतः कार्यान्वयन गर्न नेपाल प्रतिवद्ध रहेको जानकारी दिँदै केरुङ, रसुवागडी नाका शिघ्र सञ्चालनका लागि राष्ट्रपति पिङसँग आग्रह गरेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी दिँदै नेपालले बिशाल छिमेकी चीन र भारतबीच सन्तुलित सम्बन्ध विकास गरेर लाभ लिन चाहेको स्पष्ट पारे ।
भेटका अवसरमा राष्ट्रपति पिङले चीन नेपालको राष्ट्रिय एकता र संविधान कार्यान्वयनमा सधैं सकारात्मक रहेको जानकारी दिँदै चीन, भारत र नेपालबीच त्रीदेशीय सम्बन्ध विकास गर्नुपर्ने बताए । राष्ट्रपति पिङले नेपालको जलविद्युत्, उर्जा र पूर्वाधार निर्माणको क्षेत्रमा चीनले सहयोग गर्न चाहेको बताउँदै बिमिस्टेकलाई प्रभावकारी बनाउन नेपालको महत्वपूर्ण भूमिका रहेको बताए ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री