शुक्रबार, १६ चैत २०८०

 मधेसले खोजेको आत्मसम्मान, समान विकास र अवसर हो –रानी शर्मा तिवारीको विश्लेषण

समयपोष्ट २०७३ असोज २८ गते ७:२६

रानी शर्मा तिवारी

Advertisement

rani-sharma-tiwariमधेसमा देखिएको समस्या वास्तवमा मधेसको समस्या होइन । यो राष्ट्रिय समस्या हो, राज्यको विभेदले सिर्जना गरेको समस्या हो । सदीयौंदेखि मधेसको स्रोत (जमिन, जंगल र श्रम) को दोहन त गरियो तर विकासमा विभेद भयो । मधेसको भाषा, संस्कृतिमाथि आक्रमण भइरह्यो । पछिल्लो आधा शताब्दीमा त मधेसको भाषा, संस्कृतिलाई समाप्त पार्न खोजियो । मधेसी पहिचानलाई विदेशी पहिचानका रूपमा परिभाषित गरियो, नेपाली पहिचानभित्र मधेसी पहिचानलाई समावेश गर्ने कोसिस नै भएन । यसबाट मधेसमा जन्मेको असन्तोषले मधेसमा आक्रोश बढेको छ । अहिले मूलतः मधेसको समस्या भनेको पहिचान, पहुँच र विकासको समस्या हो । अझ त्योभन्दा पनि ठूलो समस्या भनेको मधेसमाथि गरिएको र भइरहेको नश्लिय विभेद हो ।
मधेसी दलभित्रका समस्या
समस्या हरेक देश, हरेक समुदायमा हुन्छ, त्यसैले हरेक राजनीतिक दलभित्र समस्या हुनु स्वाभाविकै हो । समस्या मधेसी दलभित्र मात्र होइन, आफूलाई राष्ट्रिय दल भनेर दाबी गर्ने नश्लवादीदलभित्र पनि छ । मधेसवादी दलभित्र पनि त्यस्तै समस्या छन् । कतिपय सवालमा भने मधेसवादी दल अन्य नश्लवादी दलभन्दा अगाडि छन् । खासगरी जातीय समानुपातिकतामा मधेसी दल अगाडि छन् ।
मधेसवादी दलमा अरू स्थापित पार्टीभन्दा केही फरक समस्या छन्, जुन स्वाभाविक पनि हो । मधेसवादी दलमा विभिन्न स्कुलिङबाट आएका व्यक्ति एकैठाउँमा भएकाले कहिलेकाहीँ काम गर्ने तरिकामा फरक हुन्छ । राजनीतिक दलहरू समयसँगै परिपक्व हुँदै जाने हो । ७०÷७५ वर्षपहिले स्थापित पार्टीमा पनि समस्या छ । त्यो नभएको भए मधेसमा यस्तो अवस्था नै हुने थिएन । पार्टी गठनको समयावधिलाई हेर्ने हो भने मधेसवादी दलमा त्यतिसाह्रो समस्या छैन । यो बिस्तारै परिपक्वता सँगै समाधान हुँदै जान्छ । 
समाधानका उपाय
madhesh

कुनै पनि समस्याको समाधान द्वन्द्वपूर्वको अवस्थामा सबैभन्दा सजिलो हुन्छ । द्वन्द्व सुरु भइसकेपछि मुठभेड सुरु हुन्छ र मुठभेडको अवस्थामा पनि समाधान नभए हिंसात्मक संघर्षको अवस्था आउन सक्छ । अहिले मधेसको अवस्था मुठभेडबाट हिंसात्मक हुने दिशामा अगाडि बढिरहेको छ । यस अवस्थामा पनि मधेसको समस्या समाधान भएन भने देशमा भयावह स्थिति सिर्जना हुन सक्छ, जसको संकेत देखिन थालेका छन् । तसर्थ, मधेसका असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने मात्र होइन, मधेसलाई सम्बोधन भएको अनुभूति पनि दिलाउनुपर्छ । मधेसलाई मूलप्रवाहमा नल्याए देशले गम्भीर क्षति बेहोर्नुपर्नेछ । मधेसले खोजेको आत्मसम्मान, समान विकास र समान अवसर हो, मधेस राज्यको मूलप्रवाहमा आउन संघर्ष गरिरहेको छ । यसको निकास राज्यले दिनुपर्छ । 
मधेसलाई मूलप्रवाहमा ल्याउन सबैभन्दा पहिले मधेसको मूल समस्या र असन्तुष्टिमा राज्य सहमत हुनुपर्छ ।

अहिले सम्म २०५० देखिका आधा दर्जन सम्झौतालाई हेर्ने हो भने राज्यले लिखतमै मधेसमा रहेका समस्या र विभेदलाई स्वीकारिसकेको छ । तर, व्यवहार र वचनमा मधेसमा समस्या नै नभएको जिकिर गर्छन् शासक समुदायका नेताहरू । दबाब पर्दा वा आन्दोलन हुँदा समस्या स्वीकार्ने अनि पछाडि फेरि समस्या समाधान गर्न नखोज्ने प्रवृत्तिले मधेस चिढिँदै गएको छ । हिजो जति गरेर मधेसलाई सन्तुष्ट पार्न सकिन्थ्यो आज सम्भव छैन, आज जति गरेर समाधान गर्न सकिन्छ, भोलि त्यतिले पनि समाधान नहुन सक्छ । आक्रोश र आन्दोलन बढ्दै जाँदा–नयाँ माग देखापर्न सक्छन् । जसको उदाहरण फाट्टफुट्ट देखिन थालेका छन् । 
त्यसैले मधेसलाई मूलधारमा ल्याउन मधेसको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्नपट्टि लाग्नुपर्छ । मधेसको राष्ट्रियता (पहिचान) लाई नेपाली राष्ट्रियताको हिस्सा बनाउने कदम चालिनुपर्छ । मधेसको समान विकास र मधेसीलाई समान अवसरको प्रत्याभूति गर्नुपर्छ । मधेसीले राज्यका हरेक अंगमा आफ्नो अनुहार पर्याप्त मात्रामा देख्न पाउनुपर्छ । 
(लेखक, तराई मधेस सद्भावना पार्टी नेपालकी उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री