शुक्रबार, १४ वैशाख २०८१

जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

समयपोष्ट २०७७ कार्तिक १५ गते ७:२३

Advertisement

हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्। त्यसो त, यो मौसमी उपक्रमले भाइरस संक्रमणको जोखिम बढ्छ नै भनेर ठोकुवा गर्न नमिल्ने तर्क पनि अन्यको छ।

अमेरिकाका सरुवारोग विशेषज्ञ तथा ‘नेशनल इन्सिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिसेज’का निर्देशक डा. एन्थोनी फाउसीले ‘हिउँदयाम श्वासप्रश्वास संम्बन्धी रोगको बिस्तारका लागि उपयुक्त मौसम’ भएको बताउँदै आएका छन्।

‘अमेरिकामा हिउँदयामको शुरुवातसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ। यो अत्यन्त ठूलो समस्या र चूनौती हो,’ उनले अमेरिकी टेलिभिजन सीएनबीसीसँगको एक अन्तर्वार्तामा हालै भनेका छन्। अन्य अध्ययनका नतिजाले पनि डा. फाउसीको चिन्तालाई थप प्रमाण दिएका छन्। गत साता विश्व प्रशिद्ध जर्नल नेचरको अनलाइन संस्करणमा ‘किन हिउँदमा कोभिड–१९को महामारी डरलाग्दो हुदैछ’ भन्ने शिर्षकमा प्रकाशित लेखमा कोरोना भाइरस र इन्फ्लुयन्जा जस्ता श्वासप्रश्वास संम्बन्धी रोगका कारक भाइरसका संक्रमण हिउँदमा बढ्ने र गर्मीयाममा घट्ने भन्नेबारे उल्लेख गरिएको छ।

कोभिड–१९ मौसमी भाइरस होला या नहोला भन्नेमा अनुसन्धानकर्ताले तत्काल यकिन गर्न नसकिने बताए पनि बिभिन्न प्रमाणहरुले मौसमका कारण हिउँदमा महामारीको जोखिम बढ्ने चेतावनी दिएका छन्। नेचरको सो आलेखमा भाइरसका बारेमा हालसम्म उपलव्ध जानकारी र हिउँदयाममा मानिसहरुले देखाउने आनीबानीका कारण सो जोखिम बढ्नसक्ने देखिएको हो। जाडोयाममा यथेष्ट भेन्टिलेसन नभएका घरभित्रै मानिसको जमघट र अन्तर्क्रिया हुँदा संक्रमणको जोखिम बढने तर्क सो आलेखमा गरिएको छ। आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री