शुक्रबार, ७ वैशाख २०८१

५० लाख बढीको लागतमा बाबियाचौरमा पार्क निर्माण

समयपोष्ट २०७७ कार्तिक १३ गते १२:२१

Advertisement

म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा उद्यान (पार्क) निर्माण भएको छ ।

गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको रु. ५० लाख बढीको लगानीमा सो उद्यान निर्माण भएको हो । बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर पार्क बनाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाचौरमा तीब्र रुपमा बजारीकरण भैरहेको छ । “बजारबासीलाई शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो होस भनेर उद्यान बनाएका हौं”, अध्यक्ष रोकाले भन्नुभयो “कोलाहल र प्रदूषणरहित उद्यानले पर्यटकलाई पनि आकर्षित गर्न सक्छ ।”

बाबियाचौर बजारको म्याग्दी नदी किनारमा बनाइएको उद्यानमा बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो भएको छ । शहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने ब्यवस्था मिलाउन मङ्गला गाउँपालिकाले पार्कको अवधारणा अघि सारेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई योजना कार्यान्वयन ल्याएको हो ।

पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौँमा बस्नुहुने इन्द्रबहादुर अधिकारीले पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गादाताको सम्मानका लागि उद्यानलाई “मङ्गला इन्द्रेणी पार्क” नामाकरण गरिएको छ । उद्यान बनाउन पखो जग्गालाई सम्माएर पर्खाल लगाई खण्ड खण्डमा बिभाजन गरिएको छ । बिश्रामस्थलका लागि टहरा निर्माण भएको छ । उद्यानलाई रमणीय र आकर्षक बनाउन दुवो तथा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ ।

आर्थिक वर्ष २०७५÷७६ देखि शुरु भएको पार्क निर्माण योजनामा गाउँपालिकाको रु. ३४ लाख र डिभिजन वन कार्यालयको रु. १८ लाख लगानी भइसकेको छ । घेराबार, बालबालिका खेल्ने ठाउँ लगायतका संरचना बनाउन चालू आर्थिक वर्षमा गाउँपालिकाले थप रु. २८ लाख वजेट विनियोजन गरेको वडा सदस्य चक्रलाल पाण्डेले बताउनुभयो ।

“पार्क गाउँपालिकाको प्राथमिकताप्राप्त गौरबको आयोजना हो,” उहाँले भन्नुभयो “बाबियाचौरमा आउने पाहुनाहरुलाई देखाउने ठाउँ पनि पार्क बनेको छ ।” उद्यान परिसरमा सांस्कृतिक सङ्ग्रहालय समेत बनाएर पर्यटक आकर्षित गर्ने गाउँपालिकाको योजना छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने सबै जातजातिको जीवनशैली, रहनसहन, भेषभुषा झल्कने सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालयमा राखिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री