बिहीबार, १३ वैशाख २०८१

यसवर्षको दशैंः न हर्ष, न उमंग

समयपोष्ट २०७७ कार्तिक १३ गते ६:५५

Advertisement

यसवर्षको दशैं मनाउने काम जारी नै छ । विगतको जस्तो उमंग र हर्षोल्लास नभए पनि घरभित्रै परिवारजन बसेर दशैं मनाइएको छ । कोरोना सङ्क्रमणको जोखिमले गर्दा घरबाहिर भएकाहरु घर आउन पाएनन् । आए पनि टीका जमरा लगाउन पाएनन् । पारिवारिक भेटघाट, रमाइलोको पर्व दशैं यसवर्ष घरमै सीमित भएर मनाउनुपर्दा दशैं जस्तो नभएको महसुस सवैलाई भएको छ ।

घरमै सीमित
जाजरकोट समाचारदाताका अनुसार कोरोना कहरका बीच यसपटकको विजय दशमीको टीका लगाइएको छ । विगत वर्षहरुमा जस्तो आफ्नो घरमा लगाइसकेपछि अन्य मान्यजन, आफन्तकहाँ गएर टीका लगाउने यसवर्ष भएन । सरकारले जो जहाँ छौं त्यही दशैं मनाऔं भने अनुसार यहाँका समुदायहरुले पनि आ—आफ्नो घरमै वसेर दशैं रमाइलो साथ मनाएका छन् ।

भेरी नगरपालिका १ का स्थानीय धर्मराज परियार यसवर्ष आफ्नो घरपरिवारमा मात्र टीका लगाउन बाध्य भएको बताउनुभयो । सवै आफन्तजनको घरघरमा गएर टीका लगाउन जाने इच्छा भए पनि कोरोना त्रासका कारण नगएको उहाँको भनाइ छ ।
भेरी नगरपालिका ४ का बालकुमार शर्मा एक अर्काविच दोहोरो त्रासका कारण अन्य कसैको घरमा टीका लगाउन नजाँदा दशैं खल्लो महसुस भएको बताउनुभयो । विगतमा सबै आफन्तकहाँ जाँदा भेटघाट र रमाइलो समेत हुने भएकोमा यसवर्ष त्यस्तो हुन नपाएको उहाँको भनाइ छ । भेरी नगरपालिका ३ का सविता शाह यसवर्ष को दशैंमा वाहिरी जिल्लामा रहेका आफन्तहरु घर नआउँदा रमाइलो हुन नसकेको बताउनुभयो । कोरोना त्रासका कारण बाहिर जिल्लामा रहेका आफन्तहरु नआउँदा घरमै रहेकाहरुले मात्र टीका लगाएर दशैं मनाएको जानकारी उहाँले दिनुभयो । — सहदेव बस्नेत

कोरोनाको चिन्तै भएन
हुम्ला समाचारदाताका अनुसार कोरोना सङ्क्रमणका वीच हुम्लावासीले यस पटकको दशंै धुमधामका साथ मनाएका छन् । वर्षको एकपटक आउने चाडमा परिवारका सबै सदस्य सँगै भएपछि कोरोनाको प्रवाह नै नगरी दशै हर्षोल्लासका साथ मनाइएको हो । जिल्लाबाहिर रहेका सिमकोट गाउँपालिका वडा नं ५ की तारा खत्रीले दशैं मनाउन घर आएपछि निकै रमाइलो गरेर दशंै मनाइएको बताउनुभयो । उहाँसँग कोरोनाको त्रासकाबिच सबै परिवारका सदस्यबीच दशैं मनाउनुको मज्जा अर्कै भएको अनुभव रहेको छ । उहाँले मासु र अन्य परिकार बनाएर एक आपसमा बाँडेर खाँदा आत्मीयता बढेको र आफ्न्तको घरमा निम्ता खानु पनि रमाइलो भएको बताउनुभयो ।

अर्का स्थानीय रुपसिंह सुनारले पनि २० हजारको खसीको बलि दिएर घरमा मासुको परिकार खाएको बताउनुभयो । उहाँ मात्र होइन यसपटक हुम्लामा दशैं धुमधामका साथ मनाइएको छ । उहाँले घरपरिवारका सदस्यसहित बिबाह गरेर पराई घरमा गएकी छोरी चेली पनि दशैंको बेला घरमा बोलाएर रमाइलो गरी मनाएको बताउनुभयो । सबै परिवारका सदस्यलाई एक सरो नयाँ कपडाको समेत ब्यबस्था गर्नु परेपछि उहाँको दशै भने महङ्गो भएको छ । ७३ वर्षीया पञ्च रावतले दशैंमा मिठा र मासुका परिकार खान पाउँदा निक्कै सन्तुष्टि मिलेको बताउनुभयो । परिवारका सवै सदस्यलाई टीका लगाएर आशिरवाद दिन पाउँदा मन प्रफुल्ल हुने बताउने रावतले दशंै सधै आओस जस्तो लाग्ने गरेको बताउनुभयो । चिनीयाँ च्याङ्ग्रा नआएका कारण यसवर्ष हुम्लावासीको दशंै भने महँगाे भएको छ । स्थानीय प्रशासनले सामान्य रुपमा दशै मनाउन परिपत्र गरेको भएपनि स्थानीय बासिन्दाहरुले त्यसको कुनै परवाह गरेको भने पाइएन । — राजन रावत

उत्साहजनक भएन
कालीकोट समाचारदाताका अनुसार दशंै मनाउन भनेर कर्मथलोबाट गाउँ फर्किएकाहरुले यसपालीको दशैंमा कुनै पनि उत्साह नभएको बताएका छन् । कोरोनाको डरैडरमा गाउँमा आयौँ, गाउँमा पोहोर सालका जस्तो उत्साहजनक भएन । गाउँका कोही पनि मान्छे जम्मा भएनन् । आफ्नो परिवारवीचको भेट मात्र भयो भन्दै स्थानीले निरासाजनक जवाफ दिए । रास्कोट नगरपालिका वडा नं ५ का जनक शाहीले लामो समयपछि काठमाडांैवाट घर आएको तर गाउँमा झन त्रास भएकोले दशैं रमाइलो नभएको बताउनुभयो । उहाँले साथीहरुसँग रमाउन पनि नपाएको भन्दै दशैंको टिका लगाएलगत्तै काठमाडांै फर्किएको जानकारी दिनुभयो । रास्कोट नगरपालिका २ का विश्वामित्र सिम्खडाले नवदुर्गाको पूजाका दिनमा पनि खासै उत्साह नभएको बताउनुभयो । बाजा बजाउने, सबै गाउँका मान्छेको भेला हुने माई भगवतीका नाममा जय जयकार गर्ने इच्छा सबै कोरोनाले खत्तम पारेको उहाँको भनाई छ ।
गाउँमा पिङ्ग खेल्नेदेखि साथीभाइको जमघट सबै हरायो । बरु गाउँमा ससानो गुरुपमा बिवाद गर्ने चलन भने यसपटकको दशंैमा बढेको स्थानीयले अनुभव गरेका छन । पलाँता गाउँपालिका वडा नं ७ का जनराज बमले दशैंको खुसी साट्न गाउँमा आएका भनिएकाहरुले एक आपसमा बिवाद गरेर दशैं खल्लो बनाएको बताउनुभयो । उहाँले दशैको उत्साह भन्दा निरासा धेरै भएकाले गाउँमा बस्न मन नलागेर मान्म आएको सुनाउनुभयो । – प्रेमराज सिम्खडा

यसपटक सुनसान
रुकुम समाचारदाताका अनुसार यसवर्षको दशैंमा घरमै बसेर टीका लगाएर मात्र मनाइएको छ । मठमन्दिरमा मेला, ठूलो पूजाआजा नभएपछि सामान्य रुपमा दशैं मनाउँदा सुनसान भएको हो । सदरमुकाम खलंगालगायत विभिन्न स्थानमा भव्य मेलाका साथ मनाइने महाअष्टमी र महानवमीको मेलाहरु यसवर्ष सामान्यरुपमा औपचारिकतामा मात्र सीमित भएका छन् । त्यस्तै जिल्ला बाहिर गएका परिवारका सदस्यहरुको अनुपस्थितिमा दशैंको टीका पनि रमाइलो नभएको स्थानीयको भनाइ छ । मुसिकोट नगरपालिका –१ की तुलसा गिरीले यसवर्ष घरमा रहेका परिवारहरुले मात्र दशैं मनाएको बताउनुभयो । कामको सिलसिलामा जिल्ला बाहिर रहेका परिवारका अरु सदस्यको उपस्थिति नहुँदा दशैं खल्लो महशुस भएको उहाँको अनुभव छ ।
यसवर्ष धेरैजसोका परिवारमा सबै सदस्यहरुको सहभागिता नभएको देखिएको छ । पठनपाठनका लागि काठमाडौं र नेपालगञ्जमा गएका बालबालिकाहरु भने पहिले नै घरमा आए पनि रोजगारीका लागि बाहिर रहेकाहरु कोरोना त्रासका कारण घर नआएपछि एउटै परिवारले पनि धेरै ठाउँमा रहेर दशैं मनाएको स्थानीय बीना केसीको भनाइ छ । कोरोनाको महामारी सकिएपछि अर्को वर्ष धुमधामले दशैं मनाउने उहाँले बताउनुभयो । — मनीषा केसी

टीका लगाउँदा सामाजिक दूरी
डोल्पा समाचारदाताका अनुसार यसपटक दशैंको टिका जमरा लगाउँदा यहाँ सामाजिक दूरी अपनाइएको छ । आफू उदाहरण बनी अरुलाई मार्गदर्शन गर्नुपर्ने भएका कारण टीका थाप्न जाँदा पनि पर्याप्त स्वास्थ्य सुरक्षात्मक उपायहरु अपनाएर सामाजिक दूरी कायम गर्दै टिका जमरा र आशीर्वाद थापेको र आफूकहाँ टीका थाप्न आउनेहरुलाई पनि सामाजिक दूरी कायम गरेर टीका जमरा लगाइदिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त शाहीले बताउनुभयो ।
उहाँ जस्तै डोल्पाली धेरैले सामाजिक दूरी कायम गरेर र स्वास्थ्यका सुरक्षात्मक मापदण्ड अपनायर टीका जमरा थाप्ने र लगाइदिने गरेको बताएका छन् । बिजयादशमीको दिन साइतमा सुरु भएको टीका जमरा लगाउने काम कोजाग्रत पूर्णिमासम्म रहनेछ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवम् डोल्पा इन्चार्ज हंशबहादुर शाहीले आफूले स्वास्थ्य सुरक्षाका मापदण्ड र सामाजिक दूरी कायम गर्न नसकिने भए नआउन भनेको मान्ने भए मात्र टीका जमरा थाप्न आउन फोनबाटै आग्रह गरेर बोलाएको बताउनुभयो । सामाजिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरेर रमाइलोसँग दशै मनाइएको उहाँले जानकारी दिनुभयो । — विष्णुलाल बुढा

टीका लगाउन नातेदार नै आएनन्
सल्यान समाचारदाताका अनुसार यसपटकको दशैँ पारिवारिक मिलनका रुपमा समेत मनाउन नपाएको धेरैको गुुनासो छ । कोरोना भाइरसको त्रासका कारण एक ठाउँवाट अर्को ठाउँमा आवतजावत गर्न नपाउँदा दशैंमा पनि आफन्तसँग भेटघाट नभएको पाइएको हो । कुमाख गाउँपालिका ६ वडागाउँका नवराज शर्माले दशैँ पर्वमा पनि सवै भाइहरु एकै ठाउँमा जम्मा हुन र आमावाट आशिरवाद लिन नपाएको गुनासो गर्नुभयो । उहाँका अनुसार कोरोना भाइरसका त्रासका कारण गाउँमै रहेका भाइबन्धुका एक घरदेखि अर्को घरमा गएर टीका लगाउन पाइएन ।
दार्मा गाउँपालिका २ कौक्षेका सुनिल केसीले दशैँको समयमा गाउँको रौनक नै फरक हुने भए पनि यसपटक भने गाउँ पनि सुनसान भएको वताउनुभयो । उहाँका अनुसार टीका थाप्नका लागि आउने नातेदार नै यो यसपटक आएनन् । गाउँमा सवै जम्मा भएर गरिने रमाइलो यसपटक भएन । शारदा नगरपालिका १ शितलपाटी केशव वुढाथोकीले कुनै लक्षण नभएपनि कोरोना भाइरस पोजीटिभ देखिएपछि होम आइसोलेशनमा वस्नु परेको बताउनुभयो । उहाँका अनुसार जागिरमा रहेका छोराबुहारी घरमा आएको भए पनि टीका लगाउन नपाएको र पूर्णिमाको दिनमा टीका लगाइनेछ । प्रतीक इच्छुक शर्मा
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री