बुधबार, १२ वैशाख २०८१

मध्यपुरमा विवादः प्रशासकीय प्रमुखलाई फिर्ता गर्न मन्त्रालयमा पत्राचार

rss २०७७ कार्तिक ६ गते २१:४५

Advertisement

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई सम्बद्ध मन्त्रालयमा फिर्ता गर्न पत्राचार गर्नुभएको छ । नगरपालिकामा पत्रकार सम्मेलन गरी नगर प्रमुख श्रेष्ठले सम्पदा पुनःनिर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप रिजाललाई लगाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न पत्र लेखिएको जानकारी दिनुभयो ।

अधिकृत रिजाललाई कर्मचारी भएर आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भएको र गत वर्ष बेरुजु ठहर गर्दा पनि नगरपालिकाबाट थप मासिक रु १८ हजार भत्ता खाने गरेको नगर प्रमुख श्रेष्ठले आरोप लगाउनुभयो । कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको र दशैँ अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको दोषापरोण पनि उहाँले गर्नुभयो ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि रु एक करोड निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना सङ्क्रमित नगरवासीको उपचारमा असहयोग गरेको र कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि छ ।
बडादशैँका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको बताउँदै प्रमुख श्रेष्ठले भन्नुभयो, “कर्मचारीले नगरपालिकाको हितमा काम गर्ने हो, राजनीति गर्ने होइन, तर यहाँ त प्रमुख प्रशासकीय प्रमुखले नै राजनीति गर्ने, जनप्रतिनिधिसँग कार्यपालिका बैठक नै नराख्न मिलेमतो गर्ने, विकासका कामलाई लथालिङ्ग पार्ने काम भयो, नगरपालिकाविरुद्ध लागेको प्रमाण आएपछि बाध्य भएर कारवाही गरी फिर्ता पठाउन पत्र लेखेका हुँ ।”
नगर प्रमुख तत्कालीन नेकपा(एमाले)बाट विजयी भए पनि नगरपालिकामा दुई तिहाइ बहुमत नेपाली काँग्रेसको छ । नगरपालिकामा आजका लागि आह्वान गरिएको कार्यपालिका बैठकमा समेत जनप्रतिनिधिको उपस्थिति रहेन । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “मैले के कति काम गरेको छु जनताले देखेका छन्, अरु जनप्रतिनिधिले साथ नदिए काम गर्न दिएनन् भन्दै जनताको माझ जान्छु, मेयरलाई गरेको असहयोगले नगरको विकास ठप्प पार्ने प्रयास भयो, त्यसको जिम्मेवार म हुन्न ।”
कामको भुक्तानी पाउने आशामा नगरपालिका आउनुभएका बोडेस्थित लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतद्यौं श्रेष्ठले दरबारको पुनर्निर्माण शुरु भई ९० प्रतिशत काम सम्पन्न भइसके पनि यस वर्षको भुक्तानी नपाउँदा निकै समस्या परेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगर प्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको जिकिर गर्नुभयो ।
अहिले अत्यावश्यकबाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको बताउँदै उहाँले वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको जिकिर गर्नुभयो । नगर प्रमुखले प्रशासकीय अधिकृत फेर्ने बहाना बनाएको बताउँदै उहाँले भन्नुभयो, “मलाई मन्त्रालयले सरुवा गर्ने हो, फिर्ता बोलाए पनि मन्त्रालयले बोलाउने हो, मेरो सरुवा नभएसम्म मेरो अधिकार यही नगरपालिकामा रहेर प्रयोग गर्छु ।” नगर प्रमुख र प्रशासकीय अधिकृतको द्वन्द्वका कारण मध्यपुरको विकासमा प्रत्यक्ष असर परेको कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री