शुक्रबार, १४ वैशाख २०८१

‘मृत्युदर बढाउन वायु प्रदूषण जिम्मेवार’

समयपोष्ट २०७७ कार्तिक ५ गते ७:२५

Advertisement

राजधानी काठमाडौंलगायत देशका अन्य केही स्थानमा जाडोयाममा वायु प्रदूषण बढ्ने गर्छ।वायु प्रदूषणका ससाना कणले फोक्सो तथा रक्त प्रणालीमा सिधै प्रवेश गरेर मुटुरोग, उच्च रक्तचाप, हृदयाघात, फोक्सोको क्यान्सर, मस्तिष्कघातलगायत रोग निम्त्याउने गर्छन्।यसपटक कोरोना महामारीका कारण वायु प्रदूषणको जोखिम थप बढ्ने भएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले कोरोना संक्रमितको संख्या तथा मृत्युदर बढाउन वायु प्रदूषण जिम्मेवार रहेको देखाएका छन्। अमेरिकाको हार्वड विश्वविद्यालयले गत सेप्टेम्बरमा प्रकाशन गरेको एक अध्ययनले पिएम २.५ एक युनिटले बढ्दा कोभिड–१९ बाट हुने मृत्युदरमा ८ प्रतिशतले बढोत्तरी हुने देखाएको छ।वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २.५ रूपमा मापन गर्ने गरिन्छ।अमेरिकाका ३ हजार काउन्टीमा गरिएको सो अध्ययनले आफ्नो निष्कर्षमा पिएम २.५ मा हुने सानो बढोत्तरीले कोभिड–१९ द्वारा हुने मृत्युदरमा ठूलो बढोत्तरी हुने उल्लेख गरेको छ।

‘कोभिड–१९ को वर्तमान महामारीको सन्दर्भमा हाम्रा तथ्यांकले जनस्वास्थ्यको सुरक्षाका लागि वायुप्रदूषण न्यून गर्ने विद्यमान कानुनलाई थप प्रभावकारी पार्नुपर्ने देखाएका छन्,’ विश्वविद्यालयले आफ्नो वेबसाइटमा भनेको छ।यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले वायु प्रदूषण र कोभिड–१९ को गम्भीर संक्रमणबीच अन्तरसम्बन्ध रहेको देखाएको बिबिसीले मंगलबार जनाएको छ।

‘यस्ता प्रदूषित कणले श्वासप्रश्वास नलीमा प्रभावित पार्ने र भाइरसले पनि श्वासप्रश्वास नलीलाई लक्षित गर्ने भएकाले संक्रमणको जोखिम बढ्छ,’ सो अध्ययनका सहलेखकसमेत रहेको मार्काे ट्राभाग्लिओले बिबिसीलाई भनेका छन्।यसैगरी वायु प्रदूषणका लागि जिम्मेवार मानिने ससाना कण र नाइट्रोजन अक्साइड भाइरसको विस्तारका लागि सहयोगी हुन सक्ने र तिनले कोभिड–१९ को भाइरसलाई हावामा बाँच्न सहयोग पु¥याउन सक्ने तर्क विज्ञको छ ।
आजको नागरिक दैनिकमा प्रकाशित यो समाचार श्रीराम सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री