बुधबार, १२ वैशाख २०८१

तस्करी रोक्दा ज्यानै गयो

समयपोष्ट २०७७ कार्तिक ५ गते ७:२१

Advertisement

केराउ तस्करीमा संलग्न व्यक्तिहरूले दुई प्रहरीको हत्या गरेको पाइएको छ। जुगेडा अस्थायी प्रहरी पोस्टका असइ गोविन्द विक र जवान रामबहादुर साउदको शनिबार राति हत्या भएको अनुसन्धानबाट खुलेको हो। असइ विकको शव आइतबार कैलालीको धनगढी उपमहानगरपालिका–१० स्थित मोहना नदीमा भेटिएको थियो। जवान साउदको शव पनि नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमै मंगलबार बिहान भेटिएको हो।
‘चार डल्लबमा केराउ (मटर) आइरहेको सूचनाका आधारमा असइ विक र जवान साउद शनिबार राति ७ बजे खाना खाएर सिमानातिर लागे’, कैलालीका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘उनीहरूले तस्करीको सामान साढे तीन घण्टा ढुकेको देखिन्छ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार केराउ भरिएका चारवटा डल्लब नियन्त्रणमा लिई चौकी ल्याउने बेला फरुवा बोकेर आएकाहरूले आक्रमण गरेको खुलेको छ। ‘उक्त घटनामा फरुवासहितका घरेलु हतियार प्रयोग गरिएको छ’, ती अनुसन्धान अधिकृतले भने। असइ विकसँग रहेको हतियार मंगलबार घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ।

अहिले भियतनामबाट नेपाल आयात गरिएको केराउ भारततर्फ तस्करी हुने गरेको छ। भारतमा केराउ (मटर) किलोको मूल्य ७० भारु (नेरु ११२) पर्छ। नेपालमा उक्त केराउ ६५ रुपैयाँ किलोमा पाइन्छ। तेस्रो मुलुकबाट आयात गरिएको सामान निर्यात गर्न नपाउने नियमअनुसार प्रहरी सीमा क्षेत्रमा केराउ तस्करी रोक्न गएको थियो।

घटनास्थलमा प्रहरीको स्लिपिङ ब्याग पनि रूखको हाँगामा टाँगिएको फेला परेपछि प्रहरीले दुवै जना तस्करको पर्खाइमा रहेको अनुमान गरेको छ। प्रहरीले उक्त घटनामा पक्राउ परेका १३ जनामध्ये ७ जनालाई मंगलबार सार्वजनिक गरेको छ। ती अभियुक्तमा धनगढी–१० का ३१ वर्षका पर्कु भनिने रोहित राना, २० वर्षका राजेन्द्र राना, चोर भनिने ३० वर्षका सुरेश राना, गब्बर भनिने २५ वर्षका राजकुमार राना, २२ वर्षका राम निवास राना, २९ वर्षका टल्लु भनिने दलराम राना र २५ वर्षका गोपाल राना छन्।

उनीहरूकै बयानका आधारमा मंगलबार घटनास्थलनजिकै मोहना नदीबीच बालुवामा गाडिएको अवस्थामा जवान साउदको शव फेला परेको हो। एक अनुसन्धान अधिकृतका अनुसार घटनामा अरू पनि संलग्न देखिएका छन्। उनीहरूको खोजी भइरहेको उनले बताए।

जुगेडा क्षेत्र तस्करीको ‘ट्रान्जिट’का रूपमा देखिएको छ। सशस्त्र प्रहरीका एक जवान पनि दुई महिनाअघि सोही क्षेत्रमा मृत फेला परेका थिए। त्यहाँबाट तस्करी हुने थाहा पाए पनि वडा नम्बर १२ स्थित अस्थायी प्रहरी चौकीमा ७ जना मात्र जनशक्ति खटाइएको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा प्रकाशित यो समाचार शिवराज भट्टले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री