शुक्रबार, १६ चैत २०८०

गभर्नर अधिकारी र विश्व बैंक समूहबीच छलफल

समयपोष्ट २०७७ कार्तिक ४ गते २१:०२

Advertisement

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका बारेमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहलाई जानकारी गराउनुभएको छ ।

केन्द्रीय बैंकले आज जारी गरेको विज्ञप्ति अनुसार गभर्नर अधिकारी आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा श्रव्य दृश्य माध्यमबाट सहभागी हुनुभई नेपालमा भइरहेका सकारात्मक अभ्यासको बारेमा जानकारी गराउनुभएको हो । गभर्नर अधिकारीले यही अक्टोबर १२ देखि १८ तारिखसम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाउँदै कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको बारेमा धन्यवाद दिनुभएको थियो ।

यस्तै, उहाँले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष अल्फोन्सो गारसिया मोरासँगसँग छलफल गर्नुभयो । सो अवसरमा उपाध्यक्ष मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, स्वदेशी मुद्रामा बण्ड जारी गर्नेलगायतका विषयमा चासो प्रकट गर्नुभएको थियो । यस्तै, अक्टोबर १५ मा आयोजित छलफल सत्रमा गभर्नर अधिकारीले सहभागिता जनाउनुभएको थियो । त्यस्तै उहाँले अक्टोबर १६ को भर्चुअल साइड मिटिङको अवसरमा आईएमएफका प्रतिनिधिसँग विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे छलफल गर्नुभएको थियो ।

सो अवसरमा बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले आईएमएफको मनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टसँग श्रव्यदृश्यका माध्यमबाट बैठकमा सहभागिता जनाउनुभयो । विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री