बिहीबार, १५ चैत २०८०

एउटै गाउँपालिकामा पहिराबाट २६ करोड बढीको पूर्वाधारमा क्षति

समयपोष्ट २०७७ कार्तिक ४ गते १२:०५

Advertisement

म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥याएको क्षतिको विवरण र तथ्याङ्क सङ्कलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ । गत असारको पहिरोले मराङको रिख, राम्चे, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा १९ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएका थिए ।

पहिरोले वडा नम्बर ७ धारापानीको किसानी माविमा भवन भत्कन थालेकाले सो विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । पहिलो चरणमा पूर्णरुपमा घरबारविहीन भएकाको आवास पुनःनिर्माण गरिने र जोखिम र जीर्ण बनेका घरको समेत मर्मत र आवश्यकताअनुसार पुनःनिर्माणमा सघाउने योजना बनाएको अध्यक्ष पुनले बताउनुभयो । “विनाशकारी पहिरोले ठूलो क्षति पु¥याएको छ, अब आवास पुनःनिर्माणमा अघि बढ्छौँ, हिउँदभरमा सबै घरबारविहीन भएकालाई सुरक्षित आवासको प्रबन्ध गर्ने हाम्रो योजना छ”, अध्यक्ष पुनले भन्नुभयो ।

धौलागिरिको वडा नं ६ मराङमा २४, वडा न ७ ताकम, धारापानीमा ३१ र ५ वडा मल्कबाङमा ५ घर गरी कूल ६० घर पहिरोले पूर्णरुपमा क्षति भएको छ । गाउँपालिकाले ताकम, धारापानी र मल्कबाङमा सुकुम्बासीबाहेकका पीडित परिवारको हकमा उनीहरुकै जग्गामा आवास पुनःनिर्माण गर्ने र मराङका पहिरो पीडितको लागि भने एकीकृत बस्ती बनाउने अवधारणा अघि सारेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनभुयो ।

भूगर्भविद्को टोलीबाट अध्ययनका लागि प्रदेश सरकारलाई पत्राचार गरिएको र अध्ययन र विस्तृत अध्ययन प्रतिवेदनका आधारमा पुनःनिर्माणलाई अघि बढाउने गाउँपालिकाको तयारी रहेको प्रवक्ता झकबहादुर छन्त्यालले बताउनुभयो । हालै सम्पन्न विशेष गाउँसभाबाट गाउँपालिकाले आवास पुनःनिर्माणका लागि रु ४९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ भने प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो ।

प्रदेश र सङ्घ सरकार तथा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना), विभिन्न सहयोगदातासँग समन्वय गरी घरबारविहीन भएकाको आवास पुनःनिर्माण गर्न जुटेको गाउँपालिका अध्यक्ष पुनको भनाइ छ । गाउँपालिकाले पहिरो पीडितको सहयोगदार्थ सञ्चालन गरेको सहयोग सङ्कलन अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट रु आठ लाख र सहयोगदाताबाट रु ४२ लाख सहयोग जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री