मंगलबार, ४ वैशाख २०८१

कैलाली घटना : जवान साउँदपछि असई विकलाई मारेको बयान

समयपोष्ट २०७७ कार्तिक ४ गते ११:२५

Advertisement

कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरी दाबी छ ।

घटनामा संग्लन रहेका एकजनाले प्रहरीलाई दुवै जनाको हत्या गरेको बयान दिएको बताईएको छ । नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि सुरुमा प्रहरी जवान रामबहादुर साउँदमाथि आक्रमण गरेर हत्या गरेपछि पनि मोहना नदीमा फालेको त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेको बयान दिएका छन् ।

शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परेका थिए भने प्रहरी जवान साउँदको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री