शुक्रबार, १६ चैत २०८०

संस्कृति संरक्षणमा मगर समुदाय, सय वर्षपछि सोरठी नाच्न थालियो

समयपोष्ट २०७४ कार्तिक १२ गते ८:५२

लक्ष्मीप्रसाद सापकोटा

Advertisement

मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेका बेला बाँसखर्कमा एक सय वर्षपछि सोरठी नाच्न थालिएको छ । 

अरु गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि नाच्न छाडिएको थियो । 

पुन मगरको कूलदेवता करवाकेलीको पूजा गर्ने समयमा अरु गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम दिलाएपछि यहाँ सोरठी शुरु भएको छ । 

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकिएको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताए। 

आफ्नो बाजेका पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अव यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उनको भनाइ छ । “एक वर्षअघिसम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उनले भने “अब युवालाई म आफैँ सिकाएर निरन्तरता दिन्छु । ” 

सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलका तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलीजाले बताए। 

नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य लगातार एक घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताए। नृत्यको शुरुआतमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन् । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको ठानिन्छ । 

हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा उनको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री