शुक्रबार, १४ वैशाख २०८१

प्रहरी युनिट भवन निर्माणका लागि विनियोजीत रकम फिर्ता,प्रहरीहरु जोखिम मोलेर जीर्ण भवनमा बस्न बाध्य

समयपोष्ट २०७४ कार्तिक १२ गते ५:२५

रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन् भन्ने त्रासमा बाँच्नु परेको एक प्रहरीले बताए । 

Advertisement

जिल्लामा हाल ३६ वटा प्रहरी यूनिट रहेका छन् । रोल्पामा जिल्ला प्रहरी कार्यालय, सेनामुखसहित ९ इलाका प्रहरी कार्यालय र २७ वटा प्रहरी चौकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सेनामुख र चार वटा इलाका प्रहरी कार्यालयको मात्रै आफ्नै भवन रहेको छ । जिल्लामा २३ वटा प्रहरी युनिटले भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । 

जिल्लाका ग्रामीण क्षेत्रमा घर भाडा सस्तो रहेकाले सरकारलाई ठूलो आर्थिक भार नपरे पनि प्रहरीको दैनिक कार्यसञ्चालनमा भने बाधा परिरहेको छ । जिल्लामा प्रहरी युनिटको घर भाडावापत मासिक रु १ लाख १३ हजार ९२० खर्च हुँदै आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका लेखापाल रमेश शाहीले जानकारी दिए । 

जिल्लामा प्रहरी युनिट भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको कार्यकालमा रु १० करोड विनियोजन भए पनि गृह मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायले चासो नदिएका कारण रकम फिर्ता गएको बताइएको छ । 

सशस्त्र द्वन्द्वमा जिल्लामा २३ वटा प्रहरी युनिट ध्वस्त भएका थिए । ध्वस्त प्रहरी युनिटमध्ये हाल सम्म ४ वटा युनिट मात्रै पुनःनिर्माण भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । ध्वस्त भएकामध्ये हाल इलाका प्रहरी कार्यालय होलेरी, इलाका प्रहरी कार्यालय घर्तीगाउ, इलाका प्रहरी कार्यालय सुलिचौर र इलाका प्रहरी कार्यालय पोवाङ मात्र पुनःनिर्माण भएका छन् । 
जिल्लामा २९ वटा प्रहरी युनिटको आफ्नै स्वामित्वमा जग्गा भए पनि बजेट अभावले भवन निर्माण कार्य हुन नसकेको बताइएको छ । जिल्लामा ६०६ जनाको दरबन्दी रहे पनि हाल ४९४ जना कार्यरत रहेको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री