बुधबार, १२ वैशाख २०८१

छठ पर्व हर्षोल्लासपूर्वक मनाइँदै

समयपोष्ट २०७४ कार्तिक ९ गते ६:००

हिमांशु चौधरी 
शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।  श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । 

Advertisement

गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । 

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् । 

सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ । 

यस पर्वमा धनी, गरिब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । 

यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ । 

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ । 

छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । 

ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री