मंगलबार, ११ वैशाख २०८१

इस्टर्न सुगर मिलले उखु किसानको १८ करोड भुक्तानी गरेन , कृषक पलायन हुँदै

समयपोष्ट २०७४ कार्तिक ८ गते ६:०९

 मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए। 

Advertisement

सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३/०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उनीहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ।  

सुनसरी, मोरङबाट आठ लाख २८ हजार ६४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले ४१ करोड दिनुपर्नेमा २३ करोड रुपैयाँ मात्र उपलब्ध गराएको छ। बाँकी १८ करोड रुपैयाँ भुक्तानी गरेको छैन।

दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ। 

गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए। यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिगाहमा उखुखेती गरेका छन्। इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हुँदै गएको कामतले बताए। 

सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताए। 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको मर्काको विषयमा गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधानमा पहल गर्ने बताए। रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री