शनिबार, ८ वैशाख २०८१

बिक्रीपछिको सेवा राम्रो भएकाले धेरैले हाम्रा प्रडक्ट रुचाएका छन् : प्रदीपमान प्रधानको अन्तर्वार्ता

समयपोष्ट २०७५ भदौ २९ गते १०:२८

अहिले हिट्कोका के–कस्ता प्रडक्टहरू बजारमा छन् ?

Advertisement

हिट्को २०३२ सालमा स्थापना भएको हो । अहिले हामीले आगो निभाउने उपकरण, अटो मोबाइल र कम्प्रेसरको काम गरिरहेका छौँ । एल्गीसँग एजेन्सी लिएर काम गर्न थालेको सन् १९८४ देखि हो । योसँगै धेरै उद्योगहरूसँग सहकार्य गर्दै हामी आएका छौँ । कुनै पनि उद्योगमा हावा नभई हुँदैन । झन्डै चौँतीस–पैँतीस उद्योगहरूमा हाम्रै कम्प्रेसर छ । अर्को, जति पनि सहरमा नयाँ–नयाँ डन्डी स्टिलहरू आइरहेका छन्, त्यसमा प्रायःजसो सबै कम्पनीहरूमा हाम्रै कम्प्रेसरहरू छन् । बिक्रीपछिको सेवा राम्रो भएकाले उहाँहरूले हामीसँग सहकार्य गर्दै आउनुभएको छ ।

अटो मोबाइल क्षेत्रमा १९८४ देखि अहिलेसम्म निरन्तर लागिरहेका छौँ । हामीले समयको मागअनुसार नयाँ–नयाँ प्रडक्टहरू ल्याइरहेका छौँ । गाडीहरू एडभान्स हुँदै छन् । त्यस कारण उहाँहरूको विभिन्न फिल्ड रिक्वायरमेन्टरु हुन सक्छन् । त्यसलाई सम्बोधन गर्नेखालका नयाँ–नयाँ उपकरणहरू ल्याइरहेका छौँ । अहिले नाडा अटो शोलाई फोकस गरेर मोटरसाइकल वर्कसपका इक्युप्मेन्टहरू ल्याएका छौँ । त्यसको अलावा गाडी धुनका लागि नयाँखालको ‘अटो वास सिष्टम’ ल्याएका छौँ ।

हामीले सहरिया क्षेत्र प्रायः सबै कभर गरिसकेको हुँदा अब हामी रिमोट एरियामा जाँदै छौँ । वर्क सपहरू पहाडतिर पुग्दै छन् । त्यो पनि कभर गर्नुपर्ने छ । त्यहाँ थ्री फेज लाइनको समस्या छ । बस्तीतिर गयो भने पनि बिजुली धेरै खपत र थ्री फेज लाइनको समस्या हुने हुन्छ । त्यस कारण त्यसलाई सम्बोधन गरेर साधारण मानिसले पनि लगानी गर्न सक्ने धेरै लगानी गर्नुनपर्ने सिङ्गल फेज इक्युप्मेन्ट विशेष गरी गाडी धुने र मेन्टेनेन्सको लागि त्यो ल्याएका छौँ । हामी सहर छोडेर पहाड र हिमालको फेदतिर पुग्दै छौँ । त्यस कारण त्यहाँको उपकरण धान्न सक्ने लगानी पनि धेरै नलाग्ने सिङ्गल फेजका इक्यिुप्मेन्टहरू हामीले ल्याइरहेका छौँ ।

बजार सञ्जाल र बिक्रीपछिको सेवा कस्तो छ ?

मेसिनरी सामानहरू भनेको समय–समयमा मर्मत–सम्भार हुनु जरुरी छ । बिक्री गर्दैमा त्यसको राम्रो रिटर्न लिन सकिँदैन । त्यस कारण हाम्रो पहिलेदेखिकै मुख्य फोकस भनेको बिक्रीपछिको सेवा हो । त्यही सेवाले गर्दा पनि हामीलाई धेरैले रुचाउनुभएको हो । प्राविधिक जनशक्तिको लागि हामीले काठमाडौँबाहिरका सहरी क्षेत्र तराईतिर सम्पर्क कार्यालयहरू खोलेका छौँ ।

हामीले दुहबी, सिमरा, नारायणगढ, बुटवलमा सम्पर्क कार्यालय खोलिसकेका छौँ । केही समयपछि नेपालगन्जलगायतका सुदूरपश्चिम बेल्टमा पुग्दै छौँ । तराईतिर चुरे भागमा जाँदा अलि बढी भाग कभर हुन सक्छ । उद्योगहरू, वर्कसप पनि अलि भित्री भागमा नै खोलिएका हुन्छन् । अहिले बुटवल, इटहरी र हेटौँडा विकास भइरहेका छन् । त्यस कारण त्यो एरियामा खोल्दा पहाड र तराई दुवै फोकस हुने हुँदा सर्भिस र सेल्सको लागि मानिसहरू राखेका छौँ ।

तपाईंहरूले पहिलेदेखि नै उठाउँदै आएको अन्तशुल्क हटाउनुपर्ने माग कहाँ पुग्यो ?

अन्तशुल्कको समस्या हामी सबै अटो मोबाइल सेक्टरलाई परेको समस्या हो । अन्तशुल्कलगायत विभिन्न शुल्कको विषयमा हामीले नाडाको तर्फबाट माग राख्दै आएका हौं । माग राख्दै गर्दा सरकारले अन्तशुल्क लगाइदियो । त्यसपछि चुनावी वर्ष भयो, करमा कुनै परिवर्तन भएन । यसपालि दुई तिहाइको सरकार बनिसकेपछि केही परिवर्तन होला भन्ने हामीले आश गरेका थियौँ । हुन त सङ्घीयतामा गइसकेपछि सरकारको पनि बाध्यता होला । एडमिन कष्ट बढेकाले हो कि के हो, झन् अहिले अटो मोबाइल सेक्टरलाई अलि बढी नै गाह्रो भएको छ ।

अहिले त अटो मोबाइल मात्र नभई विभिन्न क्षेत्रमा कर बढिरहेको छ । हामीले आफ्नोतर्फबाट अर्थमन्त्री, अर्थ मन्त्रालय तथा कर कार्यालयलाई पहल गर्ने हो । गरिरहेका पनि छौँ । सङ्घीयताको चरणमा भएर उहाँहरूलाई पनि केही बाध्यता होला तर विकासको लागि अटो मोबाइल पनि त्यत्तिकै जरुरी छ । भर्खरै मात्र जोर–बिजोर गाडी चलाउँदा कति समस्या भयो भन्ने सबैले देखेकै कुरा हो । दैनिक कार्यहरूमा कति समस्या पर्यो ? त्यसले पनि अटो मोबाइलको आवश्यकता र महत्व कति भन्ने प्रष्ट हुन्छ । उत्पादकत्व वृद्धि गर्नदेखि लिएर मानिसको इफिसियन्सी बढाउनका लागिसम्म अटो मोबाइल जरुरी छ । सायद त्यो सरकारले बुझ्छ होला । अहिले अलि गाह्रो–साँघुरो परेकाले होला तर विस्तारै सरकारले गर्छ भन्ने हामीलाई लागेको छ । हामीे सरकारलाई झकझकाउने मात्र हो, पोलिसी त सरकारकै हुने भयो ।

नाडा अटो शोमा के–कस्ता उपकरण राख्नुभएको छ ?

हामीले नाडाको लागि फायर सेफ्टीको उपकरण राखेका छौँ । सिन्स फायर भन्ने कम्पनीको फायर फाइटिङको स्टल हामीले राखेका छौँ । वर्कसप, उद्योग, घर जहाँ पनि आगोबाट सुरक्षित हुनुपर्ने हुन्छ । त्यस्तै, भेन्यूको सुरक्षाको जिम्मा पनि हामीले लिएका छौँ । प्रडक्टहरू पनि लञ्च गरेका छौँ । गाडीमा पनि एयर व्याग हुन्छ । गाडीमा ब्रेक राम्रो भनेर अनेक भनिन्छ तर हाइवेमा पुगेर गाडीमा आगो लाग्यो भने हेरेको हेरै भइन्छ । त्यस कारण सार्वजनिक सवारीमा त्यस किसिमका आपत्कालीन घटनाहरू भइहाले अथवा आगोबाट कसरी सुरक्षित रहने, त्यो विषयमा ध्यान दिन जरुरी छ । गाडीमा फायर सेफ्टी उपकरण राख्न धेरै महँगो पनि पर्दैन । त्यस कारण गाडी वनरहरूलाई म त्यतातिर पनि ध्यान दिन अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री