शनिबार, ८ वैशाख २०८१

‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन्’

समयपोष्ट २०७५ भदौ २५ गते ८:४२

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश सरकारका मुख्यमन्त्रीहरुबीच कुनै पनि द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

Advertisement

उनले भने, ‘केही दिनअघि गण्डकी प्रदेशमा अन्य ६ वटा मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले छलफल गर्नु भएकोसम्म थाहा छ, मलाई त कर्णाली प्रदेश कसरी बनाउन सकिन्छ ? भन्नेमात्रै हुट्हुटी छ, त्यसैले संविधान अक्षरश पालना गर्नुको अर्को कुनै विकल्प छैन् । अहिलेको समय भनेको आरोप र प्रत्यारोप लगाउने समय होइन । संविधानको बर्खिलापमा कोही पनि जानुहुँदैन । संघीय सरकारले नीति बनाउने हो । प्रदेश सरकारले योजना बनाउने र कार्यान्वयन गर्ने हो । स्थानीय सरकारले जनतालाई सेवा दिने हो ।’

साक्षात्कारमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारको विकास, शान्ति–सुरक्षा, विकास, स्वास्थ्य, शिक्षा, रोजगार सम्पूर्णको जिम्मेवारी प्रदेश सरकार र मुख्यमन्त्रीलेनै लिनुपर्ने बताए । संविधान अनुसारनै प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई अधिकार दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘संविधानले दिएको अधिकारलाई प्रधानमन्त्रीले हस्तक्षेप गर्नुहुँदैन् ।’

उनले भने–‘१० वर्ष जनयुद्ध भयो । ७ वर्षसम्म संविधानको बारेमा बहस भयो, अब पनि हामी साना–साना कुरामा अल्झिन थाल्यौं भने मुलुक बन्दैन्, विगतका सरकार र दुई तिहाईको सरकारको काममा कुनै फरक हुँदैन भने जनताले कसरी विश्वास गर्छन् ? त्यसैले हामीसँग भएको समय मुलुक निर्माणमा लगाउनुको विकल्प छैन् ।’

संघीयता महँगो भयो नि भनेर सोधिएको एक प्रश्नको जवाफमा मुख्यमन्त्री शाहीले भने, ‘यथास्थितिवादी र प्रतिक्रियावादीहरुलाई चलखेल गर्ने ठाउँ दिनुहुँदैन, हामीले जनमत पाएका छौं, मुलुकको विकास र जनताको सेवा गर्ने हो, राजनीतिक रुपमा धु्रविकृत हुन खोज्नेहरुले यसोपनि भन्न सक्छन् ।’

कर्णाली प्रदेशको परिचय बदल्नको लागि केही समय लाग्ने बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सम्पूर्ण रुपमा धनी प्रदेश भएको दाबी गरे । उनले भने, ‘कर्णाली प्रदेश स्वर्ग हो । प्राकृतिक, भौगोलिक, साँस्कृतिक र उत्पादन यी सबै रुपमा कर्णाली प्रदेश अब्बल छ । केही विकास, स्वास्थ्य र शिक्षाको अभाव छ । तर बाहिर भनेजस्तै कर्णाली प्रदेश गरिब छैन्, धनी छ । मार्सी धानको चामलको भात खाने मानिसहरु कसरी गरिब हुनसक्छ ? चरेसको थालमा भात खाने मानिस कसरी गरिब हुन्छ ? संसारमा नभएका प्राकृतिक जडिबुटी कर्णालीमा पाईन्छ ।’

विगतमा कर्णालीको दयनीय तस्बिर बेचेर डलर कमाउनेहरुको कब्जामा कर्णाली रहेपनि अब त्यसबाट मुक्त भैसकेको जनाउँदै उनले भने,‘अब कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउन हामीले योजनाहरु अघि सारेका छौं । यो प्रदेशमा वार्षिक रुपमा ५ सय क्विन्टल चामलको खाँचो हुदोरहेछ, अब त्यो अभावलाई पूर्ति गर्नको लागि प्रदेशमै उत्पादन बढाउनुपर्छ भनेका छौं ।’

कर्णाली प्रदेश स्वर्ग भएको बताउँदै उनले राजा महेन्द्रले रारालाई स्वर्गकी रानी भनेर कविता लेखेको पनि सुनाए । उनले भने– ‘कर्णाली प्रदेश भाषा, साहित्य र संस्कृतिको जन्मदातामात्रै होईन । कर्णाली प्रदेश राज्य प्रशासनको गौरवपूर्ण इतिहास बोकेको भूमि पनि हो । कुमाउ गढ्वालसम्मको नेपाल हुँदा कर्णालीले शासन गरेको इतिहास छ, कर्णाली प्रदेशमा धार्मिक स्थलहरु, ताल तलैया, नदिहरुको उल्लेख्य भूमि पनि हो, त्यसैले हामी प्रदेशको विकासमा केन्द्रीत भएर अघि बढिरहेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री