शुक्रबार, ७ वैशाख २०८१

नमूना तयार नहुँदा शौचालय बनेन

समयपोष्ट २०७५ भदौ २५ गते ८:१७

सार्वजनिक शौचालय निर्माणक लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन ।

Advertisement

अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेलेका अनुसार चालु आर्थिक वर्षको पहिले महिनामै दश स्थानमा काम शुरु गर्ने योजना भए पनि शौचालयको नमूना तयार गर्न नसक्दा काम अघि बढ्न सकेको छैन ।

उहाँले भन्नुभयो, “एउटा शौचालयको निर्माण लागत रु दश लाख लाग्ने अनुमान छ । तर जतिपनि निर्माण गर्छु भनेर आउने कम्पनीले निर्माण गर्न न्यूनतम रु १५ लाख सम्मको लागत लाग्ने ल्याएका छन्, नमूना हामीले भनेको जस्तो छैन्, त्यसैले काम अघि बढ्न नसकेको हो । ”

महानगरले भने जस्तो शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरि थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको कामपाले जनाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्राथमिकतामा राख्नुभएको थियो । तर अहिलेसम्म पनि काम अघि बढ्न सकेको छैन ।
गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न कामपालाई अनुमति दिइसकेको छ । पानीको समस्याका कारण सुन्धारा, रत्नपार्कलगायत स्थानमा रहेका सार्वजनिक शौचालय प्रयोगमा आउन सकेका छैनन् । सरकारले सन् २०१७ सम्म नेपालका सबै जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री