शनिबार, ८ वैशाख २०८१

प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध उजुरीको चांग, हेर्नुहोस् के-के परे उजुरी ?

समयपोष्ट २०७५ भदौ २२ गते ९:०३

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ २५ गते हुने भएको छ । मिश्रविरूद्ध उजुरी दिनेहरूसँग आइतबार छलफल गरेर सोमबार सुनुवाइ गरिने संसदीय सुनुवाइ समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

Advertisement

मिश्रविरूद्ध समितिमा चार उजुरी परेका थिए । एकजना उजुरीकर्ताले आफ्नो उजुरी फिर्ता लिएका छन् । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको, एनसेलको मुद्दामा अन्तरिम आदेशमार्फत् कर छलीमा सहयोग गरेकोजस्ता उजुरी मिश्रविरूद्ध परेको थियो ।

मिश्रविरुद्ध सशस्त्रका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएको उजुरी छ । बलात्कारविरूद्ध अभियान चलाइरहेकी सावित्री सुवेदीले उक्त मुद्दामा कोइरालाको सजाय घटाइएकोमा प्रश्न उठाएकी छिन् ।

त्यस्तै, नातेदारलाई मुद्दा जिताइदिएको, कालिकोटमा डिल्ली स्वाँरसहित चार जना अभियुक्तलाई सफाइ दिएको उजुरी समेत परेको छ ।

‘यस्ता भ्रष्ट व्यक्तिलाई प्रधान न्यायाधीश बनाउँदा न्याय नै समाप्त हुने भएकाले निजलाई प्रधानन्यायाधीश बन्नबाट रोकिपाउँ,’ उजुरीकर्ताले लेखेका छन् ।

मिश्रको प्रमाणपत्र भारतीय भएकाले उजुरीकर्ताले उनको माइग्रेसनमा प्रश्न उठाएका छन् । उनले पढाइको समकक्षतासमेत प्रमाणित नगरेको उजुरी छ । त्यस्तै, हाँडीगाउँमा २ अर्ब बजार मूल्यको ३६ रोपनी ६ आना जग्गा नक्कली मोहीको नाममा दर्ता गर्न आदेश दिएको उजुरीसमेत छ ।

एनसेलको मुद्दामा करोडौँ घुस खाएर राजश्व छलीमा सहयोग पुर्‍याएको, सूर्य नेपालको कर छलीमा समेत सहयोग पुर्‍याएको आरोप उजुरीकर्ताले लगाएका छन् । मिश्रको नियुक्तिले भ्रष्टको राज हुने उजुरीकर्ताले उल्लेख गरेका छन् ।

भदौ ७ गते संवैधानिक परिषदले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायाधीश सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि परिषदले मिश्रलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री