बिहीबार, १३ वैशाख २०८१

११ प्रतिशत ब्याजदरमा एनआईसीएले जारी गर्यो १ अर्ब ८३ करोडको ऋणपत्र

समयपोष्ट २०७५ भदौ २१ गते ६:२५

एनआईसी एशिया बैंकले तेश्रो पटक १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र (डिवेन्चर) निश्कासन गरेकोे छ । बैंकले प्रतिकित्ता एक हजार अंकित मुल्यमा १८ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । ‘११ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८२/८३’ नाम दिइएको उक्त ऋणपत्र बैंकले बार्षिक ११ प्रतिशत ब्याजदरमा जारी गरेको हो । यसअघि बैंकले दुई पटक गरि तीन अर्ब ५० करोडको ऋणपत्र जारी गरिसकेको छ ।

Advertisement

इच्छुक लगानीकर्ताले ऋणपत्रमा २५ कितादेखि निष्काशन हुने अधिकतम कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था छ । सो ऋणपत्र छिटोमा भदौ २५ गते निष्काशन बन्द हुनेछ भने सो समयमा सबै बिक्री नभएको अवस्थामा असोज १९ गतेसम्म खुला हुने जनाइएको छ ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई प्रदान गरेको छ । ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण गरिने बैंकले जनाएको छ ।

निष्काशन हुने कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३६ करोड ६० लाख रुपैयाँ बराबरको तीन लाख ६६ हजार कित्ता सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ । ८० प्रतिशत अर्थात एक अर्ब ४६ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ६४ हजार कित्ता व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । यसमध्ये १८ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । तीन लाख ४७ हजार ७०० कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि ७ वर्ष तोकिएको छ । बैंकले ऋणपत्रमा आर्जित ब्याजदर पहिलो पटक माघ महिनाको १ गते तथा दोस्रो पटक साउन १ गते भुक्तानी गर्ने जनाएको छ ।

बैंकले ऋणपत्र फिर्ता भुक्तानीका लागि बैंकको नाफा नोक्सान हिसाब खाताबाट प्रत्येक बर्ष २६ करोड १४ लाख २८ हजार ५७१ रुपैयाँका दरले हुन आउने रकम ऋणपत्र भुक्तानी जगेडा कोष स्थापना गरेर रकमान्तर गर्दै जाने जनाएको छ ।

यस अगाडि बैंकले ९ प्रतिशत वार्षिक व्याजदरमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता तथा ७.२५ प्रतिशत बार्षिक ब्याजदरमा ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरिसकेको छ । तेश्रो निष्काशनसँगै बैंकले जारी गरेको ऋणपत्रको कूल आकार पाँच अर्ब ३३ करोड रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री