शुक्रबार, १६ चैत २०८०

मानव बेचबिखन न्यूनीकरणमा जोड

समयपोष्ट २०७५ भदौ २० गते १०:२७

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विकृतपूर्ण सोचका कारण मानव बेचबिखन तथा ओसारपसारलाई आर्थिकोपार्जनको माध्यम बनाइएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।

Advertisement

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२ औँ राष्ट्रिय दिवस मूल समारोहमा उहाँले सभ्य समाज निर्माणका लागि बाधक तथा जघन्य अपराधका रुपमा रहेको मानव बेचबिखनलाई न्यूनीकरण गर्न तीनै तहका सरकारबीच समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले ओसारपसारका घटना हुन नदिने र भइहालेमा पीडित र प्रभावितलाई उद्धार गरी संरक्षणका लागि पुनःस्थापना केन्द्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखन तथा ओसारपसारविरुद्धका अभियानमा सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र नागरिक समाजको समन्वयको खाँचो औँल्याउनुभयो ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ तथा नियमावली २०६५, मानव बेचबिखन विशेष गरी महिला तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय कार्ययोजना, २०७१ र अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा भएका प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

कुनै उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने, प्रचलित कानूनबमोजिमबाहेक मानिसको अङ्ग झिक्नेजस्ता विषय मानव बेचबिखन तथा ओसारपसारमा पर्छन् । उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानकर्मी तथा संस्थालाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री