शुक्रबार, १६ चैत २०८०

मलेसियाका लागि नवनियुक्त राजदूतको प्रतिबद्धताः नेपाली श्रमिकका समस्या समाधान गर्छु

समयपोष्ट २०७९ असोज ८ गते १६:३२

Advertisement

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसियाको राजधानी क्वालालम्पुर प्रस्थान गर्नुभएको छ । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त भई गत भदौ २७ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएका पौडेल कार्यभार सम्हाल्न मलेसिया प्रस्थान गर्नुभएको हो ।

मलेसियामा राजदूत पौडेलले राजा अब्दुल्लाहसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुहुनेछ । दुई लाखभन्दा धेरै नेपाली श्रमिक रहेको मलेसियाको नेपाली दूतावास लामो समय राजदूतविहीन थियो ।

दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदूत पौडेलले बताउनुभयो । तलब सुविधा, सीप विकास, आवास, उपयुक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिई श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकाले त्यसतर्फ प्रयास गरिने उहाँले बताउनुभयो ।

मलेसियामा विभिन्न पेसामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । सन् २०१८ मा भएको श्रम सम्झौता नवीकरणलाई पनि उहाँले प्राथमिकता दिनुभएको छ ।

नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्बन्ध बलियो बनाउने बताउँदै उहाँले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनको मलेसियाका बजारमा प्रवद्र्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कूटनीतिमा समेत जोड दिने उहाँले बताउनुभयो ।

नेपाल–मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई प्राथमिकता दिने उहाँको भनाइ छ । पौडेललाई गत चैतमा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई समितिबाट अनुमोदन भई तथा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी उहाँ मलेसिया प्रस्थान गर्नुभएको हो । –

प्रतिक्रिया

सम्बन्धित सामाग्री