बिहीबार, १३ वैशाख २०८१

पहिले धोबी खोला, अहिले अनामनगर, हडपियो नदी उकासको २३ रोपनी

पत्रपत्रिका २०७८ असोज ११ गते ७:१४

Advertisement

काठमाडौं महानगरपालिकाको सार्वजनिक निर्माण विभाग प्रमुख इन्जिनियर रामबहादुर थापा सिंहदबारको पर्खालसम्मै खोला भएको प्रमाण आफूले भेट्टाएको सुनाउँछन्। महानगरमा लामो समयदेखि कार्यरत थापा सय वर्षको अन्तरालमा अतिक्रमण भएको अनुमान गर्छन्। ‘विगतको धोबी खोला बहने स्थानमा आज अनामनगर छ’, उनी भन्छन्, ‘पूरै अनामनगर धोबी खोला बहाव क्षेत्र हो।’

साविक महादेवस्थान ६ (क) हालको काठमाडौं १० मा खोलामै १८ कित्ता छन्। खोलाकै जग्गा कित्ताकाट गरी व्यक्तिको नाममा कायम गरिएको छ। भाटभटेनीस्थित पुलभन्दा उत्तर मदन भण्डारी कलेज आसपास पूरै अतिक्रमणमा परेको नापीको रेकर्डले देखाउँछ।

साविकको नगर २९ ‘घ’ स्थित सेतो पुल क्षेत्र दक्षिणमा व्यक्तिका घर, व्यावसायिक भवन, विद्यालय छन्। यो क्षेत्रमा सबैभन्दा धेरै अतिक्रमण भएको पाइएको छ। पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको घरसमेत त्यही छ। त्यहाँ (अनामनगरको माथिल्लो क्षेत्र)को करिब १४ रोपनी अतिक्रमण भएको नापीको रेकर्डमा देखिन्छ। यसलाई ४५ कित्ता बनाएर बिक्रीवितरण गरेका छन्। नापी अधिकृत सुमन श्रेष्ठ खोलाको जग्गा कतै पूरै कित्ता त कतै आंशिक रूपमा व्यक्तिको नाममा दर्ता भएको बताउँछन्। तत्कालीन सचिव रामबहादुर रावलको प्रतिवेदनमा साविक २९ ख मा किनारको १५ रोपनी ३ दाम विभिन्न व्यक्तिले १० कित्ता बनाई घर ठड्याएका छन्। माफियाको मिलेमतोमा आफ्नो जग्गामा घुसेको, घुसाएको र हक कायम गराएको देखिएको छ।

यो खोलाका चार खण्ड छन्। कपनबाट चक्रपथसम्म ९ मिटर, चक्रपथबाट रातोपुलसम्म १२, रातोपुलबाट बिजुलीबजारसम्म १४ र बिजुलीबजारबाट बागमती दोभानसम्म १७ मिटर चौडा छ। बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रवीन्द्र बोहरा विगतमा अनामनगर क्षेत्र धोबी खोला बहाव क्षेत्र भएको केही प्रमाण आफूले भेटेको बताउँछन्। यो खोला बागमतीकै सहायक नदी हो। हडपियो नदी उकासको २३ रोपनी
नदी उकासका नाममा २३ रोपनी (कित्ता नम्बर १४३)मा चलखेल भएको पाइएको छ। २०२२ सालको फिल्डबुक उतार साविक नक्सामा साविकको काठमाडौं बानेश्वर महादेवस्थान वडा नम्बर ५ को उक्त कित्ता खोला देखिएको अख्तियारको निर्णयमा उल्लेख छ। सुरुमा तीनवटा कित्ताकाट गरेको देखिन्छ। कित्ता नम्बर ६९७ मा १ रोपनी ६ आना, ६९८ मा ६ रोपनी र ६९९ मा १५ रोपनी १० आना फिल्डबुकमा देखिन्छ।

२०५९ वैशाख १५ र जेठ १७ को टिप्पणी निर्णयले खोला जनिएको ती जग्गामध्ये अधिकारसम्पन्न बागमती ढल आयोजनाको १ रोपनी ६ आना कित्ताकाट गरी पशुपति सदावर्त गुठी र मोही चन्द्रबहादुर थापालाई सट्टाभर्ना गरिएको थियो। तर, त्यसमध्ये १४ आना ३ पैसा मात्रै खोलाको नाममा छ। सरकारकै निर्णयबमोजिम मालपोत कार्यालय डिल्लीबजारले मदन भण्डारी कलेजलाई ३ रोपनी १२ आना भोगाधिकारका लागि दिएको देखिएको छ।

खोलाको जग्गा केही व्यक्तिको नाममा पारेपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिको नाममा सरकारी जग्गा घुसेको ठहर अख्तियारले गर्‍यो। जग्गा हडप्नेमध्ये हरिप्रसाद गिरी, टेकबहादुर पौडेल, कुलबहादुर निरौला, मोहन मर्हजनलगायतले जग्गा फिर्ता ल्याउनुपर्ने अख्तियारको निर्देशन खारेज गर्नुपर्ने माग गर्दै २०६६ जेठमा सर्वोच्च अदालतमा रिट दायर गरे। उक्त रिट २०७४ माघमा खारेज भएपछि अख्तियारको निर्देशन कार्यान्वयन गर्न मालपोत कार्यालय डिल्ली बजारलाई बाटो खुलेको थियो।

अख्तियारको छानबिनले ८ आना अक्सिडेन्टल पब्लिक स्कुलका सञ्चालकद्वय टेकबहादुर पौडेल र कुलबहादुर निरौला, ६ आना अग्निप्रसाद पौडेल, ४ आना हरिप्रसाद गिरीले आफ्नो जग्गामा घुसाएको देखाएको थियो। यस्तै, शान्ता दाहालको नाममा १ दाम, बन्दना भट्टराईको नाममा ३ आना २ दाम गएको छानबिन प्रतिवेदनले देखायो। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री