शुक्रबार, ७ वैशाख २०८१

विभिन्न देशका राजदूत एकैपटक पोखरामा पुग्दा जे देखियो (फोटोफिचर)

समयपोष्ट २०७८ असोज १० गते २०:०६

Advertisement

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख आज पोखरा आउनुभएको छ । उहाँहरूलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गर्नुभयो ।

कतार, युएई, फिनल्याण्ड, उत्तर कोरिया, साउदी अरेविया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत पोखरा आउनुभएको छ । त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवसहित अन्य कूनीतिक नियोगका प्रमुखसमेत पोखरा आउनुभएको छ ।

राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणले थलिएको पर्यटन व्यवसाय माथि उठाउन सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको सचिव पौडेलले बताउनुभयो । विदेशी राजदूतसहित विशिष्ट कूटनीतिज्ञको पोखरा भ्रमणको कार्यक्रमले पर्यटन सम्बद्ध क्षेत्रका व्यवसायीमा उत्साह थपेको परिषद्का अध्यक्ष भट्टराईले बताउनुभयो । यो भ्रमणसँगै पोखरा पर्यटकका लागि खुला छ भन्ने सन्देश विश्वव्यापी जाने बताउँदै उहाँले स्वास्थ्यका मापदण्ड पालनाका साथ पोखरा पर्यटकका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको धारणा राख्नुभयो ।

राजदूतसहितको टोलीको सम्मानमा आज साँझ गण्डकी प्रदेश सरकारतर्फबाट रात्रिभोज आयोजना गरिएको छ । सोमबार कूटनीतिज्ञले पोखरा र आसपासका विभिन्न सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमणका साथै छोटो दुरीको हाइकिङमा सहभागी हुने कार्यक्रम छ ।


सोमबारै पोखराको लेकसाइडमा राखिएको सडक महोत्सवमा उहाँहरू सहभागी हुने कार्यक्रम छ । विशिष्ट कूटनीतिज्ञको पोखरा आगमनले विश्व पर्यटन बजारमा पोखराको सकारात्मक सन्देश प्रवाह गर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

“यतीका सङ्ख्यामा राजदूतसहितका कूटनीतिज्ञ पोखराको औपचारिक भ्रमणमा आउनुभएको सम्भवतः यो पहिलो पटक हो”, उहाँले भन्नुभयो, “कोरोना प्रभावित पर्यटनलाई लयमा फर्काउनका लागि पनि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ ।” भ्रमणले पोखरा एक पटक घुम्नैपर्ने गन्तव्य हो र पर्यटकलाई आतिथ्यता प्रदान गर्न यहाँका व्यवसायी तयार छन् भन्ने सन्देश पनि यस भ्रमणले दिने उहाँले बताउनुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री