बुधबार, १२ वैशाख २०८१

बालबालिका, शिक्षक र अभिभावकका लागि “पुस्तकालय र प्रयोग” वेबिनार

समयपोष्ट २०७८ असोज ६ गते ११:४५

Advertisement

राष्ट्रिय बालदिवसका अवसरमा नेपाल बालसाहित्य समाजले बालबालिका, शिक्षक तथा अभिभावकका लागि “पुस्तकालय र प्रयोग” कार्यक्रम आयोजना गरेको छ ।

डिल्लिरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, रुम टु रिड, रिड नेपाल, प्याब्सन सुदूर पश्चिम प्रदेश तथा एन प्याब्सन सुदूर पश्चिम प्रदेशसँगको सहकार्यमा यो कार्यक्रम भएको हो । नेबासासका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेको सभापतित्व तथा प्रा.डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यतामा अगाडि बढेको यस कार्यक्रमको संयोजन तथा सञ्चालन नेबासासका महासचिव यशु श्रेष्ठले गर्नुभएको थियो ।

असोज ५ गते भएको यस वेबिनारमा पुस्तकालय बिज्ञ भोलाकुमार श्रेष्ठले पुस्तकालय, पुस्तकालयको अवस्था र यसको प्रयोगका बारेमा प्रस्तुत गर्नुभएको थियो । पुस्तकालयविद् इन्दिरा दलीले पुस्तकालयको गुरुयोजना, बालपुस्तकालय र यसको सञ्चालन बारेमा अवगत गराउनुभयो भने नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव यादवचन्द्र निरौलाले नेपाल सरकारको पुस्तकालय नीति तथा बालपुस्तकालयलाई हेर्ने दृष्टिकोणका बारेमा बताउनुभयो । यसै गरी पुस्तकालय विज्ञ इन्द्रप्रसाद अधिकारीले पुस्तकालय साङ्ठनिक योजना र यसमा बालपुस्तकालयको अवस्था तथा बालपुस्तक र पुस्तकालयलाई हेर्ने दृष्टिकोणका बारेमा प्रकाश पार्नुभयो भने अभियन्ता राजीवधर जोशीले विद्यालयमा बालपुस्तक, बालपुस्तकालयको अवस्था र यसको प्रयोगका बारेमा बोल्नुभएको थियो ।

फेसबुक लाइभमार्फत पनि प्रशारण भएको यस वेबिनारमा प्याब्सनका सुदूर पश्चिम प्रदेश सचिव डिल्लिराम बोहोराले विद्यालयमा बालपुस्तक र पुस्तकालयको अपरिहार्यता र अवस्थाका तथा यस्ता कार्यक्रमका आवश्यकता बारेमा बोल्नुभएको थियो ।

नेपालमा पठन संस्कृतिको विकास अझै हुन नसकेको, पुस्तक र पुस्तकालयको महत्त्व बुझ्न नसकेको, नेपाल सरकारले अझै पनि यो क्षेत्रलाई उपेक्षामा राखेको गुनासो सबैतिरबाट आएको थियो । देशको समृद्धिको एउटा मस्तिष्कका रूपमा रहेको पुस्तकालय यसरी उपेक्षित हुँदा व्यक्ति, परिवार, समाज, विद्यालय तथा देश नै त्यो चेतना र विकासको उज्यालोबाट बञ्चित भएकोले यस पाटोमा सबैले ध्यान पुर्‍याउनु पर्ने र यसमा सबै लाग्नु पर्ने साझा निष्कर्ष वेबिनारको छलफलबाट निस्केको थियो । चेतनाको दियो बाल्न सरोकारवाला निकायहरूलाई बिउँझाउनु पर्ने अवस्था रहेकाले यसमा सबै जना एक जुट भएर लाग्नुपर्ने विचार व्यक्त गर्दै सभापति घिमिरेले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री