शुक्रबार, १६ चैत २०८०

इन्द्रदहमा बिहानैदेखि भक्तजनको भीड

समयपोष्ट २०७८ असोज ४ गते ११:३४

Advertisement

भाद्र शुक्ल पूर्णिमाका दिन आज बिहानैदेखि राजधानीको पश्चिमोत्तर भेगस्थित चन्द्रागिरी नगरपालिका–१ मा रहेको इन्द्रदहमा मेला लागेको छ । भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाएका भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने परम्परा छ । यो परम्पराअनुसार आइतबार राति नै भक्तजन इन्द्रदह पुगी दिवङ्गत आफन्तका नाममा बत्ती बालेर जाग्राम बसेका थिए ।

आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन् । चन्द्रागिरी–१ मा पर्ने यो धार्मिकस्थल प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

गत वर्ष कोरोना महामारीका लागि मेला स्थगित गरिएकामा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मेलाका लागि विसं २०७६ मा जस्तो प्रचारप्रसार भने नगरिएको उहाँले सुनाउनुभयो । आस्थाका आधारमा आउने भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक कर्म गर्न खुला गरिएको छ । भक्तजनका लागि मास्क अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाका अवसरमा नगरपालिकाकाका वडा नं १, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिइएको पनि उहाँले जानकारी दिनुभयो । दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने, स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री