शुक्रबार, १६ चैत २०८०

६८३ मेगावाटको सुनकोशी–तेस्रो निर्माण प्रक्रिया अघि बढ्यो, बङ्गलादेशी टोली आयोजनस्थल निरिक्षणमा आउने

समयपोष्ट २०७८ असोज १ गते १४:०५

Advertisement

सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीअन्तर्गत काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाकोे भ्रमण गर्ने सहमति जनाएको बताइएको छ ।

गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बैठकले उक्त आयोजना निर्माण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । बैठकमा ६०० मेगावाटको खिम्ती शिवालय जलविद्युत् आयोजना निर्माणका लागि पनि बङ्गलादेशलाई नै प्रस्ताव गरिएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटवालले बताउनुभयो । उहाँका अनुसार सुनकोशी तेस्रोका लागि नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की र बङ्गलादेशको तर्फबाट शक्ति, ऊर्जा र खनिज मन्त्रालयको विकासतर्फका सचिव मोहमद हबिबुर रहमानले नेतृत्व गर्नुभएको थियो ।

नेपालबाट बङ्गलादेशमा विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई तोकिएको छ । दुई देशबीच सन् २०१८ मा उर्जा क्षेत्रमा सहकार्यको सम्झौता भएकामा बङ्गलादेशले नेपालको एउटा राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने प्रस्ताव गरेको थियो । हाल विद्युत् विकास विभागद्वारा विभिन्न चरणमा अध्ययन भइरहेको यस आयोजनालाई बङ्गलादेशले संयुक्त लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।

आयोजनाका लागि सर्भेक्षण, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत इञ्जिनीयरिङ डिजाइनको काम पनि सकिएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको विभागका इञ्जिनीयर सुवास थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार गतसाल देखि नै कोभिड–१९का कारण इआइए र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम हुन सकेको छैन । यी दुवै काम कोरोनाको जोखिम हटेपछि थालिने भएको छ । इआइएका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृति भइसकेको छ ।
इञ्जिनीयर थपलियाले भन्नुभयो, “कोभिडका कारण परामर्शदाता कम्पनीले फिल्डमा गएर काम गर्ने वातावरण नभएकाले इआइएको काम यो वर्ष पनि सरेकोे छ।” परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) को प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिमका कारण यसको बाँकी काम रोकिएको थियो ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर २०७६ माघमै विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेक्षणसम्मको काम सकिएको जनाइएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा असर पर्ने घरपरिवार तथा क्षेत्र र समुदायलाई उपलब्ध गराउने क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको थियो । साथै आयोजनाबाट असर पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडाका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकार व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री