बुधबार, १२ वैशाख २०८१

श्रीमतीलाई ८ करोड डलरको डुंगा गिफ्ट गर्ने अम्बानी आखिर यसरी पल्टिए टाट

समयपोष्ट २०७७ असोज ११ गते १९:२०

Advertisement

कुनै बेला विश्वका अर्बपतिको सूचीमा दाई मुकेश अम्बानीलाई संगसंगै पच्छाउँने अनिल अम्बानी यतिबेला टाट पल्टिएका छन् । उनीसंग अहिले सम्पत्तिको नाममा केवल एक लाख १० हजार डलरको पेन्टिङ मात्र छ ।

अर्बपति अम्बानीको ओरोलो यात्रा कसरी सुुरु भयो त ?

अनिल अम्बानी एक भारतीय व्यापारी हुन् ,जो सन् २००८ मा विश्वका अर्बपति धनीहरुको क्लबमा छैठौं स्थानमा थिए । त्यसबेला उनी संग ४२ अर्ब डलर कुल सम्पति रहेको थियो ।

६१ वर्ष पुगिसकेका अम्बानीले सायद कल्पना पनि गरेका थिएनन् कि उनी अन्तिम समयमा यसरी सकिन्छन् ।

मुम्बईको पाली हिलस्थित नर्गिस दत्त रोडको भव्य बंगलाबाट एक दिन तल सडकमा ओर्लनु पर्ला र अर्काले दयामा दिएको घरमा गुजारा गर्नुपर्ला भन्ने त सोचेका पनि थिएनन् अनिलले ।

बाबु धिरुभाई अम्बानीले सृजना गरिदिएको धनको साम्राज्य दाजुभाइबीच अंशबण्डा गर्दा अदालत धाएका उनले कुनै दिन तिनै दाईसँग ऋणका लागि गिड्गिडाउन पर्ला भनेर कसरी सोचून् !

आफ्ना पतिले दुःखले आर्जन गरेको धनको साम्राज्यमा आफ्नै छोराबीचको गिद्दे संघर्ष टुलुटुलु हेर्न विवश थिइन्, आमा कोकिलाबेन ।

बाबु धिरुभाई अम्बानीको सन् २००२ मा मृत्यु हुने समयसम्ममा अम्बानी ग्रुपको अन्तर्राष्ट्रिय अनुहार बनिसकेका थिए, अनिल । दाजु मुकेश पर्दा पछाडीबाट सघाउने भूमिकामा सीमित ।

जसका कारण स्टानफोर्डमा पढेका र कुनै समय विश्व बैंकमा काम गर्ने सपना सजाएका दाजु मुकेशप्रति अनिलको व्यवहार हेयपूर्ण थियो, मिडिया रिपोर्टहरु उल्लेख गर्छन् ।

दाई मुकेश अम्बानीसँग उनको देशभित्र र बाहिर पनि निकटको प्रतिष्पर्धा थियो । जसको उदाहरण हो, दुई भाइबीचको सम्पत्ति माथिको यत्रो किचलोका बीच पनि दुबैको कम्पनी अर्बपति धनीहरुको सूचीमा प्रतिष्पर्धी थिए ।

सन् २००८ को विश्वका अर्बपतिको सूचीमा दाई मुकेश ४३ अर्ब डलरका साथ पाँचौ र भाइ अनिल ४२ अर्ब डलरका साथ लगत्तै मुनी छैठौं स्थानका साथ पिछा गरिरहेका थिए ।

आजका दिनमा दाई मुकेश ७८ अर्ब डलरका साथ एशियाकै सबैभन्दा धनी एवं संसारका अर्बपतिहरुको सातौं नम्बरमा रहँदा एक दशकअघि अर्बपतिहरुसँग कुममा कुम जुधाउने, उनै दाईसँग सम्पत्ति किचलोमा फस्दा अनिल टाट पल्टिएका छन् ।

६१ वर्षको यस उमेरमा आएर संसारलाई भन्छन्, ‘मेरो सिर्फ चढ्ने एउटा सामान्य कार छ । छोराले जुटाइदिएको खर्चबाट घर धानिरहेको छु । रक्सी, चुरोट पिउँदिन । साह्रै अनुशासित जीवन बाँचिरहेको छु । याच्ट प्रयोग नगरेको त वर्षौवर्ष भइसक्यो ।’

कुनै बेला बाबु धिरुभाई अम्बानीले बसालिदिएको रिलायन्सको साम्राज्य कस्ले कब्जा गर्ने भन्ने होडमा दाई मुकेशसँग शत्रु झै दर्जनौं मुद्दा लडेका अनिल अम्बानी अदालतका न्यायाधीशहरुसँग न्यायको याचना गर्दै भन्छन्, ‘हो, म दाईले दिएको भाडा नपर्ने घरमा शरणागत छु !’

प्रगतिको पखेटा फिंजाएर दाई मुकेश, संसारका धनीहरुलाई तल पार्ने होडमा लगातार दौडिरहँदा, भाइ अनिल संसारभरका आफ्ना ऋणीहरुको ऋण तिर्न नसकेर अड्डा अदालत धाइरहेका छन् र गिडगिडाइरहेका छन्, ‘वकीलको फिस तिर्न श्रीमतीको गहना बेचिरहेछु’ ।

लक्ष्मी दाहिना हुँदाको समय यस्तो थियो कि, कुनै बेला राजनीतिमा नलागेरै पनि सम्पत्तिको सहयोगले उनलाई भारतीय संसदको माथिल्लो सदन राज्य सभासम्म स्वतन्त्र सांसदका रुपमा पुर्‍यायो ।

व्यापारका लागि इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाको मुम्बई शाखा, एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना र चाइना डेभलभेन्ट बैंकबाट लिएको कर्पोरेट ऋण तिर्न नसकेर अनिलले आफैलाई टाट पल्टेको घोषणा गरेका हुन् ।

कर्पोरेट लोनका लागि आफै धरौटी बसेका अनिलविरुद्ध चिनियाँ बैंकले लन्डनको उच्च अदालतमा हालेको मुद्दामा यसअघि २२ मे लन्डन उच्च अदालतले अम्बानीलाई ७१ करोड डलर चुक्ता गर्न अन्तरिम आदेश दिएको थियो ।

लन्डन अदालतको कानुनी प्रक्रियामा तिर्नुपर्ने दस्तूर सात करोड भारु समेत उनले तिर्न नसकेको मिडिया रिपोर्टहरुमा छ ।
अदालतलाई दिएको बयानमा उनले घरमा भएका सबै गरगहना बेच्दा नौं करोड ९० लाख आएको र त्यो वकीलको फिसमा खर्चिएको उल्लेख गरेका छन् ।

कुनै समय धनको रवाफमा प्रतिष्पर्धा गर्दा दाई मुकेशले श्रीमती नीता अम्बानीलाई ५ करोड २० लाख डलरको जेट विमान उपहार दिँदा त्यसलाई उछिनेर उनले श्रीमती टीना अम्बानीलाई ८ करोड डलरको याच्ट नौका (डुंगा) उपहार दिएका थिए ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री