शनिबार, ८ वैशाख २०८१

उद्योगी–व्यवसायीहरु देशको समृद्धिका आधार हुन्

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको अन्तर्वार्ता

समयपोष्ट २०७७ भदौ २७ गते ९:०७

Advertisement

तपाईं कर्पोरेट क्षेत्रमा काम गरेको मान्छे, पहिले सिंहदरबारमा निजी क्षेत्रका माग बोकेर आउनुहुन्थ्यो, अहिले आफै मन्त्री भएर काम गर्दा कस्तो अनुभूति भइरहेको छ ?

यो एउटा विशेष अनुभव हो । पहिले केही काम गराउन हामी आफै मन्त्रालय, विभाग आउनुपथ्र्यो । म आफैलाई पनि मन्त्रालय, विभागमा काम गराउन त्यति सहज लाग्दैनथ्यो । काम निकै सुस्त गतिमा हुन्थ्यो । यहाँ आएपछि मनोबल नै गिर्ने अवस्था थियो । म आफैलाई पुरानो कटु अनुभव पनि छ । उद्योगी–व्यवसायीको समय निकै अमूल्य हुन्छ । त्यसकारण काम जति छिटो भयो त्यति नै राम्रो हुन्छ । त्यो समय खेर जान दिनु हुँदैन भन्ने मेरो मान्यता छ ।

अहिले म यहाँ आइसकेपछि कुनै पनि काम दुई दिनभन्दा बढी लाग्दैन । तत्काल हुने काम छ भने तत्काल हुन्छ । यदि त्यो कामका लागि आवश्यक कागजपत्र पुगेन, केही औपचारिकता पुर्‍याउनुपर्ने भए तत्काल भनिन्छ । किनकि एउटै फाइललाई महिना–पन्ध्र दिनसम्म झुण्डाएर राख्नु भनेको निकै गलत कुरा हो ।

देशमा आर्थिक समृद्धि ल्याउने सबैभन्दा ठूलो भूमिका उद्योगी–व्यवसायी नै हुन्छन् । देशको समृद्धि चाहने हो भने उद्योग–धन्दालाई प्रोत्साहित गर्नुपर्छ । उद्योग–धन्दा जति बढ्छ, त्यति देशमा रोजगारी बढ्छ । यहाँका युवाहरु कमाउन विदेश जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । उद्योग–व्यवसाय र आर्थिक क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो मन्त्रालयले आपूर्ति, वाणिज्य, उद्योग सबै क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्छ । यो मन्त्रालय धेरै ठूलो छ र यहाँ काम गर्ने शैली पहिलेको भन्दा निकै विकसित भएको छ । अहिले हामीले अनलाइनमार्फत् पनि सेवा दिइरहेका छौं । पहिले फाइलहरु हराउने समस्या थियो । अहिले त्यस्तो समस्या छैन । सबै प्रणाली राम्रो भएको छ । यहाँ विज्ञ कर्मचारीहरु हुनुहुन्छ । काम गर्ने धेरै योजनाहरु हुने गर्छन् ।

यो महामारीको समयमा आपूर्ति व्यवस्थामा समस्या आउन नदिन, मूल्यवृद्धि र कालोबजारी रोक्न हाम्रा सचिवहरु निरन्तर लागिरहनुभएको छ । अहिले म यो मन्त्रालयमा आएको झण्डै आठ महिना भएको छ । विगतको भन्दा मन्त्रालयले राम्रो काम गरिरहेको छ भन्ने प्रतिक्रिया पनि हामीले पाएका छौं । महामारीकै अवधिमा पनि हामीले ग्यास, पेट्रोलियम पदार्थ, खाद्य सामग्रीलगायत कुनै पनि चिजकोे अभाव हुन दिएका छैनौं । यस्तै, हामीले घर–घरमै अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यवस्थासमेत गर्यौं, जसले गर्दा मानिसहरु बाहिर निस्कनु परेन । यसमा हामी आफूलाई सफल नै भएको मान्छौं ।

महामारीकै अवधिमा हामीले घर–घरमै अत्यावश्यक सामग्री ढुवानी गर्ने व्यवस्थासमेत गर्यौं, जसले गर्दा मानिसहरु बाहिर निस्कनु परेन । यसमा हामी आफूलाई सफल नै भएको मान्छौं ।

कोभिड–१९ का कारण अर्थतन्त्र थलिएको छ । यसबाट माथि उठ्न के–कस्ता योजनाहरु बनाउनुभएको छ त ?

विश्वभरि नै आर्थिक सङ्कटको अवस्था सिर्जना हुनेवाला छ । त्यसको गम्भीर असर नेपालमा पनि पर्छ । त्यसकारण अब पहिलेकै मानसिकताले काम गर्दैन । हामीले सम्पूर्ण रुपमा मानसिकता परिवर्तन गरेर काम गर्नुपर्ने हुन्छ । गुणस्तरीय सामान उत्पादन गरेर विश्वबजारमा निर्यात गर्न अब हामी सक्षम हुनुपर्छ । हामीले उत्पादन गर्दै आएका वस्तुहरुमा आत्मनिर्भर हुन अब निकै जरुरी छ ।

अहिले बीसौं लाख युवालाई रोजगारी दिनुपर्ने चुुनौती हामीसामु छ । त्यसका लागि हामी औद्योगीकरणतर्फ जानुुपर्छ । नेपालमा हुँदै नभएका उद्योगहरुसमेत हामीले स्थापना गर्नुपर्ने हुन्छ र त्यसलाई निर्यात गर्न सक्षम हुनुपर्छ । हामीले औद्योगिक ग्रामको ‘कन्सेप्ट’ पनि लिएर आएका छौं । सात सय ५३ वटा स्थानीय निकायमा हामीले औद्योगिक ग्राम बनाउँदै छौं । चालीस–पचासवटाको काम सुुरु पनि भइसकेको छ । हरेक स्थानीय निकायमा एक औद्योगिक ग्राम स्थापना गर्दा छरिएर बसेका स–साना उद्योगी–व्यवसायीलाई विभिन्न सेवा–सुविधासहित ठाउँ दिएर उनीहरुका उत्पादनलाई सङ्गठित रुपमा बजार व्यवस्थापन गरिदिँदा रोजगारी अभिवृद्धि हुन्छ ।

हामीले काम गर्ने तरिका परिवर्तन गरेर भएका औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र (सेज) छन्, त्यसमा अधिकतम सुविधा दिएर बढीभन्दा बढी औद्योगीकरण गराउन हामी लागिपरेका छौं ।

कृषिमा आत्मनिर्भर बन्ने हाम्रो ठूलो लक्ष्य छ । भारतबाट सामान आयात नगरी आफ्नै मुलुकमा उत्पादन गरेर निर्यात गर्न सक्ने अवस्थामा हामी पुग्नु पर्नेछ । जुन उद्योगमा हामी आत्मनिर्भर हुँदै छौं, त्यसमा छिटो आत्मनिर्भर बन्नु पर्नेछ । नेपालमा हुँदै नभएका उद्योगहरुसमेत स्थापना गरी यहाँकै बजार ‘क्याप्चर’ गर्नु पर्नेछ । त्यसकारण औद्योगीकरणमा जाँदा रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्रसमेत चलायमान हुन्छ । रेमिट्यान्सका लागि युवालाई बाहिर पठाउने भन्दा पनि यहीँ रोजगारी दिनुुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि हामीले काम गर्ने तरिका परिवर्तन गरेर भएका औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र (सेज) छन्, त्यसमा अधिकतम सुविधा दिएर बढीभन्दा बढी औद्योगीकरण गराउन हामी लागिपरेका छौं ।

उद्योगी–व्यवसायी अहिले निकै ढुक्क र खुसी छन् । ‘हाम्रै प्रतिनिधि मन्त्री भएर बसेको छ’ भन्ने उहाँहरुलाई छ । हामीले पनि उहाँहरुलाई ‘राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि राखेर जे काम पनि गर्न सक्नुहुन्छ’ भनेका छौं ।

मन्त्रीको रुपमा पदस्थापनको क्रममा ‘उद्योगी तथा लगानीकर्तालाई रेड कार्पेटमा स्वागत गर्ने वातावरण बनाउँछुु’ भन्नुभएको थियो । तपाईं मन्त्री भएको सात–आठ महिना पुगिसकेको छ । लगानीमैत्री वातावरण बनाउन के–कस्ता पहल गर्नुभयो ?

मैले भन्नुुभन्दा पनि यो विषयमा तपाईं आफैले उद्योगी–व्यवसायीसँग प्रतिक्रिया लिँदा राम्रो हुन्छ । उद्योगी–व्यवसायी अहिले निकै ढुक्क र खुसी छन् । ‘हाम्रै प्रतिनिधि मन्त्री भएर बसेको छ’ भन्ने उहाँहरुलाई छ । हामीले पनि उहाँहरुलाई ‘राष्ट्र र राष्ट्रियतालाई सर्वोपरि राखेर जे काम पनि गर्न सक्नुहुन्छ’ भनेका छौं । उद्योगी–व्यवसायीहरु देशको समृद्धिका आधार हुन् । उहाँहरुलाई हामीले ‘ढुक्क भएर काम गर्नुहोस् तर गलत काम आफू पनि नगर्नुहोस्, अरुलाई पनि गर्न नदिनुहोस्’ भनेका छौ । उहाँहरु सन्तुष्ट पनि हुनुहुन्छ र काम पनि गरिरहनुभएको छ । हामीले उद्योगी–व्यवसायीलाई कुनै पनि कष्ट नहोस् भन्नका लागि यस मन्त्रालयबाट मात्र नभई अन्य मन्त्रालयबाट पनि काम गर्न सहजीकरण गर्ने व्यवस्था गर्दैछौं । ऊर्जा, कृषि, वन मन्त्रालयमा उहाँहरुको काम हुन्छ । काम जहाँ भए पनि यही मन्त्रालयमा दर्ता हुनुभएकोले उहाँहरु हाम्रै ‘क्लाइन्ट’ हो । त्यसकारण त्यो मन्त्रालयमा पनि सहजीकरण गरिदिने जिम्मा हाम्रो हो । देशमा नयाँ–नयाँ उद्योगहरु तबमात्र खुल्छन्, जब सरकारले उद्योगी–व्यवसायीहरुलाई प्रोत्साहित गर्छ । त्यसकारण उहाँहरुलाई ऐन, नियम, कानुनअनुसार प्राप्त हुने सुविधा सरकारले दिनैपर्छ । उहाँहरुले गर्नुपर्ने काम पनि ‘फास्ट ट्र्याकमा गराउनुपर्छ । अनावश्यक रुपमा काम ढिलो गरिदिने गर्‍यौं भने त्यो सबैको लागि खराब हुन्छ । यही मान्यता राख्दै उद्योगी–व्यवसायीलाई छिटो–छरितो रुपमा अगाडि बढाउन लागिरहेका छौं । उहाँहरु पनि खुसी हुनुहुन्छ । यसलाई हाम्रो उपलब्धि नै मान्नुपर्छ ।

हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई बारम्बार ‘तपाईंहरु काम गर्नुहोस्, भ्रष्टाचार नगर्नुहोस्’ भन्दै आइरहनुभएको छ । ‘एकजना नेपाली पनि एक दिन पनि भोको बस्ने स्थिति नआओस्, गरिबी हटाउनुपर्छ’ भनेर उहाँले निर्देशन दिँदै आइरहनुभएको छ । हामीले त्यहीअनुसार काम गर्दै आइरहेका छौं ।

हामी मन्त्रीहरु भनेका राष्ट्रका सेवक हौं । हामीलाई जनताले यहाँ पर्‍युाईदिए । हामी जनताकै लागि यहाँ बसेका हौं । हाम्रो देश समृद्ध भयो भने हाम्रा आगामी पुस्ता रोजगारीका लागि विदेशिनु पर्दैन । गर्वका साथ ‘नेपाल गरिब देश होइन, हामी विकसित देशमा पर्छौं’ भन्न सकिन्छ । सबै मिलेर साँच्चै समृद्ध मुलुक निर्माण गर्नु छ भन्ने अठोटका साथ अगाडि बढ्यौँ भने असम्भव केही पनि छैन । विकसित देशहरुको श्रेणीमा हामी छिटो पुुग्न सक्छौं । हामीमा जहिले पनि आत्मामा शुद्धता, इमानदारिता, कर्तव्यनिष्ठ हुनुपर्छ । हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई बारम्बार ‘तपाईंहरु काम गर्नुहोस्, भ्रष्टाचार नगर्नुहोस्’ भन्दै आइरहनुभएको छ । ‘एकजना नेपाली पनि एक दिन पनि भोको बस्ने स्थिति नआओस्, गरिबी हटाउनुपर्छ’ भनेर उहाँले निर्देशन दिँदै आइरहनुभएको छ । हामीले त्यहीअनुसार काम गर्दै आइरहेका छौं ।

केही समयअघि मात्र किसानहरु मल नपाएर लाइन लागेको हामीले देख्यौं । अब चाडपर्व पनि नजिकिँदै छ । यो बेला चिनीको अभाव हुन नदिन के गरिरहनुभएको छ ?

चिनी मिलहरुमा अहिले भण्डारण कम छ । दशैंसम्म पुग्ने अवस्था छैन । साल्ट ट्रेडिङ र खाद्य संस्थानलाई चिनी ल्याउने अनुमति हामीले दिइसकेका छौं । खाद्य संस्थानको बीस हजार मेट्रिक टन चिनी पन्ध्र–बीस दिनभित्र आइपुग्छ । त्यति बेलासम्मका लागि भने हामीसँग पर्याप्त मात्रामा चिनी छ । केही निजी क्षेत्र पनि चिनीमा आइराखेका छन् । त्यसकारण चिनीको अभाव हुँदैन ।

हामी कुनै पनि चिजकोे अभाव हुन दिँदैनौं । त्यसका लागि हामी सक्रिय भएर बसेका छौं । यो एउटा संवेदनशील समय हो । कृत्रिम अभाव सिर्जना गरेर कसैले मूल्यवृद्धि नगरोस् भन्नका लागि हामीले टोलीहरु अनुगमनका लागि खटाइरहेका छौं ।

यातायातका कारणले अहिले मल अभावको समस्या देखिएको छ । कान्दला पोर्टबाट मल ल्याउन भारत सरकारले अनुमति नदिएपछि कलकत्ता पोर्टबाट ल्याउनुपपर्‍यो । त्यसकारण मलको अलिकति अभाव देखिएको हो । वास्तवमा मलको अभाव छैन, कृत्रिम अभावमात्र हो । मल आइसकेको छ र दिइराखेका छौं । अर्को सिजनका लागि पनि मलको आपूर्ति अहिल्यैदेखि गर्ने व्यवस्था गरेका छौं । त्यसकारण मल, चिनीको अभाव हुँदैन । अन्य खाद्य सामग्रीको पनि हामीसँग पर्याप्त भण्डारण छ । हामी कुनै पनि चिजकोे अभाव हुन दिँदैनौं । त्यसका लागि हामी सक्रिय भएर बसेका छौं । यो एउटा संवेदनशील समय हो । कृत्रिम अभाव सिर्जना गरेर कसैले मूल्यवृद्धि नगरोस् भन्नका लागि हामीले टोलीहरु अनुगमनका लागि खटाइरहेका छौं । कसैले नराम्रो गरेको पत्तो पाउनेबित्तिक्कै उसलाई तुरुन्तै कारवाही पनि गरिरहेका छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री