बिहीबार, १३ वैशाख २०८१

हाम्रो मर्ज बैंकिङ इन्डष्ट्रिजमा नौलो नै हो 

समयपोष्ट २०७३ भदौ २० गते १०:२९

लुम्बिनी बैंकसँग मर्ज गर्नुभयो । कस्तो रह्यो मर्ज अनुभूति ?
मर्जको क्याजुअल कुरा सुरु भएको सेक्टेम्बरदेखि हो । अरू बैंकमा पहिला सहमति गरेरमात्र डिडिए गरिन्छ । तर, हामीले सहमति अगाडि नै डिडिए गर्यौं । कसैले नगरेको कुरा गर्दा भिन्न अनुभूति गर्न पायौं । यसको फाइदा भनेको संवेदनशील विषय मर्जरलाई पछि गएर मिस अन्डरस्ट्यान्डिङ हुनेजस्तो स्वापः रेसियो सम्पन्न गर्ने आधार डिडिए पहिले नै गर्यौं । नेपालको बैंकिङ उद्योगमा यो विषय नौलो नै हो । जनवरीमा मर्ज सहमति गर्यौं र त्यसपछि पछाडि फर्केर कहीं पनि हेरिएन, स्मुथ्ली अगाडि बढ्यो । सहमति गरेको ६ महिनाभित्र प्रि मर्जर गर्यौं । स्वीकृति आउन अलि ढिला भयो । चैत अन्तिमतिर मात्र स्वीकृति आयो । मर्जको खास काम चैतको अन्तिमतिरबाट सुरु भयो । चैतदेखी असारसम्म जुन रफ्तारमा काम भयो त्यसमा म सन्तुष्ट छु । 
टिम बिल्डिङ लगायत सवै सेटमा आयो त ?
टिम बन्ने भन्ने कुरा जस्तै गेममा गेम खेल्न थालेपछि मात्र टिम स्प्रिट देखिन्छ । पहिला कागजमा जेसुकै मिलाए पनि व्यावहारिक रूपमा काम गर्न थालेपछि मात्र देखिन्छ । अहिले मान्छेको स्ट्रक्चर तयार भएको छ । त्यसअनुसार पदस्थापन पनि गर्दै छौं । तर, तल्लो तहमा खासै फरक पर्दैन किनभने ब्रान्चमा काम गर्नेलाई खासै केही चेन्ज गर्नुपर्दैन, पहिला जसरी काम गरेको छ, त्यसरी नै गर्ने हो । मुख्य गरेर मध्य र उच्च व्यवस्थापनलाई एरेन्जमेन्ट गर्नुपर्ने हो । कागजी रूपमा पदस्थापन भइसक्यो, मन मिल्ने कुरा काम गर्दै जाँदा सुधार हुन्छ । 
ajay shrestha

Advertisement

अब बाँकी पुँजी कसरी पुर्याउनुहुन्छ ?
पुँजी वृद्धिको योजना हामीले पहिले नै सार्वजनिक गरिसकेका थियौं । यसमा पहिलो योजना मर्जर थियो । त्यो मर्जर पनि पूरा भयोे । मर्जरमा अलि समय लाग्दोरहेछ । हाम्रो केसमा छिटो भयो भनेको पनि आठ,नौ महिना लाग्यो । पुँजी वृद्धिका लागि सबै अप्सन खुला नै राखेका छौं । हाम्रो आन्तरिक नाफाबाट पनि केही पुँजी आँफैं जेनेरेट हुन्छ । नपुग रकम त्यति धेरै हुँदैन, त्यसलाई कुनै पनि रूप अपनाएर हामी गर्न सक्छौं । 
अलिकति नीतिगत कुरा गरौं, केन्द्रीय बैंकले काउन्टर साइक्लिकल बफर व्यवस्था गरेको छ, यसले नाफामा कत्तिको असर गर्ला ?
यसले नाफाभन्दा पुँजीको जुन डाइनामिक्स छ, त्यसमा केही असर गर्छ । साथै ब्यालेन्ससिट ग्रोथमा केही असर गर्छ । काउन्टर साइक्लिकल बफर कति भनेर किटानीसाथ आएको छैन । विभिन्न अनुमानमात्र पेस भएको छ । यसले अथतन्त्रभन्दा बैंकिङ सेक्टर अलि फास्ट ग्रोथ भयो भने त्यसबाट आउने जोखिमलाई न्यूनीकरण गर्छ । यो हामीले नै क्रियट गरेको सिनारियोबाट आउने बफर हो । त्यसकारण बैंकहरू पनि अलि सजग भएर अर्थतन्त्रसँगै हिँड्नुपर्छ भन्ने मान्यता राख्यो भने यसले असर पार्दैन । यसमा कति कुन रेटमा राख्छ भन्ने निक्र्याेल भएको छैन । तर, यसमा पनि थप पुँजी आवश्यक भयो भने केही न केही असर पार्छ । 
अहिले मौद्रिक नीतिमा २ प्रतिशत विपन्नवर्ग कर्जा बैंक आफैंले गर्नुपर्ने भनेपछि तपाईंहरूले त्यसको विरोध गर्नुभयो । बैंकले किन गर्न सक्दैन त्यो लगानी ?
बैंकको आ–आफनो रणनीति हुन्छ । कुनै बैंक साना तथा मझौला कर्जा भएका छन् भने कोही होलसेल कर्जामा गइरहेका छन् । सबै बैंकले एकैप्रकारले बजारमा काम गरेका छैनन् । त्यसकारण विभिन्न बैंकको विभिन्न भ्यु हुन सक्छ । तर, समग्रमा नेपालको अधिकांश बैंकको हिसाबले हेर्दा अहिले प्रत्यक्ष कर्जा भनेर जुन रकमको कुरा आएको छ, त्यो तहको ग्राहकसम्म सबैले आफ्नो एक्टिभ पार्टीसिपेसन बढाइसकेका छैनन् । यसका लागि संयन्त्र, त्योअनुसारको कर्मचारी, प्रडक्ट र सेवा चाहियो । त्यसैले एक वर्षभित्रै सबै मिलाउन गाह्रो छ । 
तर, हाम्रो बैंकको अनुभव यसमा अलि भिन्न छ । हामीले १२ वर्षदेखि एउटा संयन्त्र विकास गरेर लघुकर्जामा पनि काम गरिरहेका छौं । यस्तो कर्जा २ प्रतिशतभन्दा बढी छ । त्यसैले हामी त्यो सिधै गर्ने अवस्थामा छौं । हामीलाई यति लगानी गर्न धेरै समय लागेछ भने एकैपटक एक वर्षमै २ प्रतिशतमा कर्जापुर्याउन भन्नु अहिले अव्यावहारिक छ । अलि धेरै समय भयो भने सम्भव छ । 

कृषि र ऊर्जामा १२ प्रतिशत नै कतिपय बैंकले नपुर्याइरहेको  अवस्थामा १५ प्रतिशत कार्यान्वयन होला ?
यसमा पनि हाम्रो बैंकले तार्गेट मिट गर्छ । यो हुँदैनभन्दा तिम्रो बैंकले त मिट गरिरहेको छ नि भन्ने पनि होलान् । तर, समग्र इन्डष्ट्रिजको कुरा गर्ने हो विशेषगरेर कृषि क्षेत्रमा त्यति ठूला परियोजना छैन र आउँदैन पनि । तर, सानोतिनो कर्जामा जाँदा त्यहाँ सहकारीदेखि अन्य विभिन्न प्लेयर छँदै छ । त्यसैले कृषिमा लगानी गर्न अलि समस्या नै छ । बैंकलाई चाहिने संरचना र संयन्त्र नै छैन । ऊर्जामा त अहिले सबै बैंक छन् । हरेक हप्ता एउटा हाइड्रोमा लगानी गर्ने भन्ने सुनिन्छ । अर्को उत्पादनशील कर्जा भन्ने छ । यसको परिभाषा नै ठीक छैन । त्यसैले यसको परिभाषा अलि फराकिलो पार्ने हो भने सवैले गर्न सक्छन् । 
बैंक अफ काठमाडौं लुम्बिनीको एक वर्षको योजना कस्तो हुन्छ ?
सबैभन्दा पहिले रिअलाइनमेन्ट नै गर्नुपर्ने हुन्छ । दुई बैंकको सबल पक्षलाई प्रयोग गरेर लैजाने । योअनुसारको तालिमलगायत विभिन्न कुरा आउँछन् । मर्जर दुई–दुई चार हुन्छ भन्ने पक्कै होइन । ५,६ नै हुनुपर्छ, त्यसका लागि केही समय लाग्छ । यो एक वर्ष हामी अलाइनमेन्टमा जोड दिन्छौं । यो भन्दैमा प्रफिट र ग्रोथलाई ध्यान दिँदैनौ भन्ने होइन । यसको बेनिफिट आगामी दुई वर्षमा देखिएला । 
ajay shrestha bokl

तपाईं अहिले एनबीआईको अध्यक्ष पनि हुनुभएको छ, यो संस्थालाई कसरी अगाडि बढाउने सोच बनाउनुभएको छ ?
नाफामूलक भनेर बनाइए पनि यो फरक संस्था हो । हरेक बैंकले आफ्नो जनशक्तिलाई तालिम दिनका लागि अहिले छरिनुपरेको छ । हामीलाई चाहिने रिसोर्सका लागि आफैं कन्ट्रिव्युट गर्नुपर्छ भनेर खडा गरिएको संस्था हो । यसलाई नाफामूलक संस्थाका रूपमा खडा गरिएको छ । किनभने यहाँ त्यही नै फिजिबल हुन्छ भनेर गरिएको हो । तर, यसमा मेरो व्यक्तिगत विचार भनेको यो इन्स्टिच्युटमात्र नभएर एकेडेमिक संस्थाका रूपमा हेर्नुपर्छ । यसका लागि अहिले विभिन्न किसिमका सर्टिफिकेसन कोर्स पनि ल्याइएको छ । मैले त्यही भिजन लिएर यसलाई अगाडि बढाउन पहल गर्नेछु । नाफामूलक कम्पनीको जस्तो भिजन लिएर होइन, यसलाई एकेडेमिक र रिसर्च गर्ने संस्थाका रूपमा अगाडि बढाउनुपर्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री