बुधबार, १२ वैशाख २०८१

‘नगरपालिकाहरुलाई गाभेर सिंगो काठमाडौमा एउटा महानगरपालिका बनाइनुपर्छ ’

समयपोष्ट २०७३ भदौ १८ गते ९:२७

स्वास्थ्यमन्त्री गगन थापाले  काठमाडौमा एउटा भन्दा बढी स्थानीय तह बनाउन नहुने धारणा राखेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शनिबार काठमाडौमा गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मुलुकको राजधानी भएकाले नगरपालिकाहरुलाई गाभेर सिंगो काठमाडौमा एउटा महानगरपालिका बनाइनुपर्ने बताए ।
सीमाना निर्धारण आयोगले काठमाडौमा ८ वटा स्थानीय तहको प्रस्ताव गरेको छ । तर स्वास्थ्यमन्त्री थापाले मुलुकको राजधानीमा सात,आठ वटा स्थानीय तह राख्न नहुने भन्दै बरु काठमाडौ, भक्तपुर र ललितपुरलाई पनि मिलाएर एउटै निर्वाचन क्षेत्र कायम गरिनुपर्ने बताए ।
उनले स्थानीय तहको संख्याका विषयमा अहिले केही विवाद् देखिएपनि स्थानीय तहको निर्वाचन आगामी चैत महिनामा हुने हुने दाबी गरे ।
स्वास्थ्यमन्त्री थापाले पदमा रहुञ्जेल पार्टीका केही नेता तथा कार्यकर्ताको भन्दा आम जनताको चित्त बुझाउने गरी काम गर्ने बताए । उनले पार्टीका केही नेता तथा कार्यकर्ताले काम नगरिदिएको भनेर चित्त दुखाए पनि आफूले त्यसप्रति कुनै प्रवाह नगर्ने बरु आम जनतालाई खुशी तुल्याएर पार्टीको साख बढाउने बताए ।
कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योगहरुमा लगानीको वातावरण बनाएर युवाहरुले रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री