बिहीबार, १५ चैत २०८०

बाध्यात्मक अवस्थामा मात्र बीमा गर्ने बानी अझै बाँकी छ

समयपोष्ट २०७४ भदौ ३० गते ४:०४

हिमालयन जनरल इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?

Advertisement

कम्पनीको वित्तीय अवस्था मजबुत छ । यस कम्पनीले हालै समाप्त आर्थिक वर्षमा रू. १ अर्ब ३२ करोड कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीको बीमा जोखिम कोष, महाविपत्ति कोष, लगानी कोष बलियो रहेको छ, जुन केही दिनमा प्रकाशन हुने छ । कम्पनीको मुनाफा पनि सन्तोषजनक रहेको छ । 

 दाबी भुक्तानीको अवस्था कस्तो छ ? 

कम्पनीको दाबी भुक्तानीको अवस्था पनि सन्तोषजनक रहेको छ । महाभूकम्पबाट भएको क्षतिको सङ्ख्याको आधारमा अधिकांश दाबी भुक्तानी भइसकेको छ र केही मात्र बाँकी रहेका छन्, जुन भुक्तानीको प्रक्रियामा रहेका छन् । गत आर्थिक वर्षमा भएका बाढी तथा पहिरोबाट भएको क्षतिको दाबी पनि भुक्तानी गर्ने प्रक्रियामा रहेको छ । 

 बीमा समितिले तोकेको चुक्ता पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ? 

कम्पनीले आफूलाई सशक्त एवं बलियो बनाउन तथा जोखिमधारण क्षमतामा वृद्धि गरी मुनाफामा पनि वृद्धि गर्न गत वर्ष आश्विन महिनामा नै विशेष साधारणसभाबाट पारित गरी प्रबन्धपत्र तथा नियमावलीमा पुँजी वृद्धि सम्बन्धमा संशोधन अभिलेख गराई २०७४ पौष २९ गते सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारणसभाबाट एक सेयरबराबर १.६६६७ हकप्रद सेयरबाट पुँजी वृद्धि गरी रू. १ अर्ब २ करोड ७२ लाख पुर्याउने निर्णय भएअनुरूप हकप्रद सेयरको लागि आह्वानसमेत भइसकेको अवस्था छ । हकप्रद सेयरको रकम दाखिला गर्ने अवधि यही श्रावण ३१ गतेसम्म रहेको छ । यसै त्रैमासभित्रमा तोकिएको चुक्ता पुँजी पुग्ने निश्चित छ । 

 चुक्ता पुँजी बढाउने र नयाँ बीमा कम्पनी थप्नुलाई यहाँले कसरी लिनुभएको छ ? 

परिवर्तन नियमित प्रक्रिया हो । राम्रो कुराको वृद्धि वा विस्तार हुनु आवश्यक छ । देशमा आर्थिक वृद्धि भइरहेको अवस्था छ र आर्थिक वृद्धिसँगै बीमाको बजारको आकार पनि वृद्धि भइरहेको अवस्थामा चुक्ता पुँजी बढाउन र नयाँ कम्पनी थप्नु भनेको समयसापेक्ष कुरा हो । तसर्थ पुँजी बढाउनु तथा नयाँ कम्पनी आउनु भनेको सकारात्मक एवं सामान्य प्रक्रिया हो । 

 बीमा कम्पनी सञ्चालनका चुनौती के छन् ? 

नेपालको जनसङ्ख्या तथा कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा बीमा कम मात्र भएको अवस्था छ । बीमासम्बन्धी जनचेतनाको कमी छ । बीमा गर्ने बानी पनि कम छ । बीमालाई अनावश्यक खर्चका रूपमा हेर्ने र बाध्यात्मक अवस्थामा मात्र बीमा गर्ने बानी अझै बाँकी छ । कुनै विषयमा चेतना बढाउनु भनेको क्षणिक प्रक्रिया होइन, यी कार्यहरू नियमितरूपमा हुनुपर्दछ । स्कुलको पाठ्यक्रममा नै बीमाको विषय समावेश भएमा भविष्यमा बीमासम्बन्धी चेतना बढ्नुका साथै दिगो रहने छ । 

अर्काे चुनौती भनेको स्वस्थ प्रतिस्पर्धा तथा नैतिक व्यापारिक संस्कारको अभाव हो, जसले दीर्घकालमा कसैलाई लाभ पुर्याउने छैन । सबैको क्षणिकमा भन्दा दिगो वृद्धिमा ध्यान केन्द्रित हुन आवश्यक छ । 

 बीमा साक्षरताका लागि तपाईंको कम्पनीले के–कस्ता अभियान चलाएको छ ? 

कम्पनीले बीमा साक्षरताका लागि समय–समयमा देशका विभिन्न स्थानमा विभिन्न वर्गलाई लक्षित गरी तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री