शनिबार, ८ वैशाख २०८१

सुदूरपश्चिममा ४५ जनामा डेंगुको सङ्क्रमण

rss २०७६ भदौ ३० गते १८:२९

Advertisement

मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । सबैभन्दा बढी कैलालीमा २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार डेङ्गु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेङ्गुको सङ्क्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।

“लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई रु एक लाखदेखि रु दुई लाखसम्म रकम दिएको छ”, किट नियन्त्रण निरीक्षक जोशीले भन्नुभयो, “धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई÷दुई लाख दिइएको छ ।” लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै शुरु गरेका छन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

किट नियन्त्रण निरीक्षक जोशीले निर्देशनालयले प्रदेश सामाजिक विकास मन्त्रालयमा डेङ्गु नियन्त्रण अभियान सञ्चालनका लागि योजना पेश गरेको जानकारी दिनुभयो । “धनगढी र भीमदत्तनगरमा रहेका स्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रमा लार्भा नष्ट अभियान सञ्चालनको तयारी गरेका छन्”, जोशीले भन्नुभयो, “अहिले यहाँका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप पनि बढेको छ ।”

एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गरिएमा निको हुने जोशीको भनाइ छ । नियन्त्रण र उपचारका लागि कहीँ पनि औषधि र किटको अभाव छैन”, उहाँले भन्नुभयो– “प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।”

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गजेन्द्र विष्टले नगरपालिकाले आन्तरिक स्रोतबाटै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

“प्रभावित क्षेत्रको पहिचान गरी केही वडामा लार्भा नष्ट अभियान चलाइसकेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ ।” त्यसैगरी यहाँको महाकाली अञ्चल अस्पतालले पनि आइतबार डेङ्गु परीक्षणका लागि आवश्यक ‘किट’ खरिद गरेको छ । लामो समयदेखि किट नहुँदा अस्पतालमा डेङ्गु परीक्षण गर्न सकिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री