शुक्रबार, १६ चैत २०८०

करीब दुई महिनापछि अवरुद्ध पासाङल्हामु राजमार्गको मर्मतकार्य शुरू

समयपोष्ट २०७६ भदौ २९ गते १२:२५

Advertisement

पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट दक्षिणतर्फ रसुवागढी हाइड्रोपावर, सडक विभाग, गोसाइँकुण्ड गाउँपालिका, पूर्व सांसद जर्नादन ढकालको उपकरणले राजमार्ग मर्मतकार्य अगाडि भइरहेको छ । मर्मतकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत परिचालन गरिएको बताइएको छ ।

सत्र किलोमिटर दूरीअन्तर्गत मैलुङतर्फबाट भने गल्छी–मैलुङ– स्याफ्रुबेँसी सडक सुधार आयोजना, सांसद मोहन आचार्यसमेतको उपकरणले द्रुतरूपमा सञ्चालन भइरहेको बताइएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजमार्ग सञ्चालन गर्न प्रदेशसभा सदस्य प्रेम तामाङसमेत सहभागी हुनुभएको र सांसद मोहन आचार्य, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङसमेतको सहमतिबाट मैलुङ खण्डको राजमार्ग सञ्चालनमा काम अगाडि बढाइएको हो । सम्भवतः दुई, तीन दिनभित्र राजमार्ग सञ्चालन गर्ने लक्ष्य लिइएको बताइएको छ ।

पासाङल्हामु राजमार्गअन्तर्गत राम्चे भीरमा गएको पहिरो व्यवस्थापन गरी यातायात सञ्चालन गर्न समयावधि निकै लाग्ने र केरुङबाट दशैँका लागि सामान लिई आएका मालबाहक ट्रक रोकिएका कारण नदी किनारको नयाँ राजमार्ग प्रयोग गर्न लागिएको प्रजिअ भण्डारीले जानकारी दिनुभयो ।

केरुङबाट सामान लिई आएका करीब ७०० मालबाहक ट्रक, कन्टेनरमध्ये २०० कन्टेनर भन्सार जाँचपास भई गन्तव्यतर्फ जान सडकमा लामबद्ध भई बसेका र ५०० मालबाहक कन्टेनर भन्सार हातामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिनुभयो ।

भारी वर्षासँगै भदौ २५ गते गएको पहिरोका कारण पूर्णरूपमा बन्द भएको राम्चे खण्डको पासाङल्हामु राजमार्ग सञ्चालन गर्न मर्मत एवं पुनःनिर्माणको काम पनि शनिबारबाट शुरू भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका प्राविधिक एवं साइट इन्चार्ज सरोज कडरियाले सडक सतह भासिएका कारण पहिरोले झारेका हिलो पन्छाई ग्याबिन भर्ने काम शुरु भइसकेकाले मौसमले साथ दिए अब १२ दिनसम्ममा राजमार्ग खोलिने र मौसमले साथ नदिए राम्चे खण्डको मर्मतकार्य अनश्चित हुने जानकारी दिनुभयो ।

दैनिक रु तीन करोड भन्सार शुल्कवापत राजश्व आर्जन गर्ने पासाङल्हामु मार्ग सञ्चालनमा ढिलाइ गर्न नहुने र कालिका गाउँपालिका–१ राम्चेको भीर छेउको पहिरो व्यवस्थापनका लागि सुरक्षा अङ्गलगायत सबै क्षेत्रले सहयोग गर्न आवश्यक देखिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपश्चात् नेपाल–चीनबीचको व्यापार–व्यावसायका सामान ढुवानीमा संलग्न सयौँ ट्रक तथा कन्टेनर राजमार्गका विभिन्न भागमा अलपत्र अवस्थामा पार्किङ भइराखेको ट्राफिक प्रहरीले जनाएको छ । चीनसँगको व्यावसायिक कारोवार गर्ने उत्तरी नाकाको राजमार्गमा जिम्मेवार निकायले समयमै संरक्षणमा ध्यान नपु¥याउँदा वर्षाका कारण राम्चेको राजमार्ग क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् ।

एकातर्फ दक्षिणपट्टिको राम्चेस्थित सेतीभूमे माविको आसपास र अर्काेतर्फ राम्चे भीरको उत्तरतर्फको नालीबाट बगेका वर्षात्को पानी एकत्रित भई निकास लिएको स्थानमै ठूलो पहिरो जाँदा राजमार्ग क्षति भएको बताउँदै स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार परेका भल पानी ठाउँ–ठाउँबाट निकास दिन नसक्नुनै राजमार्ग क्षतिको कारण हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री