शुक्रबार, ७ वैशाख २०८१

सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारीमा

rss २०७६ भदौ २८ गते १७:०६

Advertisement

विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरु गरेको हो ।

शुरुमा एक हजार ४० मिटर लम्बाइमा निर्माण गरिएको विमानस्थल करीब ५ वर्षअघि २०० मिटर विस्तार गरिएको थियो । हाल एक हजार २५५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको रन वेमा एटिआर–४२ तथा साना जहाजले उडान भर्दै आएका छन् ।

कर्णाली प्रदेश सरकार गठन भएसँगै वीरेन्द्रनगर सङ्घीय राजधानी काठमाडौँसँग सिधा सम्पर्क जोडिएको हो । पुरानो विमानस्थल भए पनि धावन मार्गको समस्या देखाउँदै विमान कम्पनीहरु काठमाडौँ–सुर्खेत उडान भर्न तयार थिएनन् ।

प्रदेश सरकारकै आग्रहबमोजिम बुद्घ एयरको एटिआर–४२ ले २०७५ वैशाखदेखि सुर्खेत–काठमाडौँ दैनिक उडान शुरु गरेको हो । एटिआर–४२ को एउटा मात्र उडानका कारण हवाई भाडा अत्यधिक महँगो पर्न गएको भन्दै कर्णालीवासीले विमानस्थल विस्तार गरेर ठूला जहाज सञ्चालन गर्न माग गरेका छन् ।

बुद्ध एयर र प्राधिकरणको टोलीले शुक्रबार विमानस्थलको प्रारम्भिक अध्ययन गरेको थियो । विमानस्थल उत्तर–दक्षिण दिशामा फैलिएको छ । विमानस्थललाई उत्तरतिर विस्तार गर्न सकिने अध्ययनले जनाएको छ । स्थानीयवासीका घरजग्गा अधिग्रहणका साथै अमरज्योति नमूना माविलाई स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

प्राधिकरणका इन्जिनीयर पुष्पराज न्यौपानेले उत्तरतर्फ रन वे विस्तार गर्न सहज हुने बताउनुभयो । “जग्गा सस्तो र बढी उपयुक्त उत्तरतिर नै छ”, उहाँले भन्नुभयो, “१६ बिगाहा जग्गा अधिग्रहण गर्नुपर्नेछ ।”

अध्ययन टोलीले विमानस्थल विस्तारका लागि रु आठ अर्ब बजेट आवश्यक पर्ने जनाएको छ । रु पाँच अर्ब जग्गा अधिग्रहण, क्षतिपूर्ति र स्कूल स्थानान्तरण तथा रु तीन अर्ब रनवे विस्तार, तारबार, बत्ती जडानलगायत भौतिक संरचना निर्माणका काममा खर्च हुनेछ ।

पछिल्लोपटक मङ्गलबार काठमाडौँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच विमानस्थल विस्तारबारे छलफल भएको थियो । मुख्यमन्त्रीकै आग्रहमा विमानस्थल विस्तारका लागि मन्त्रालयले अध्ययन टोली सुर्खेत पठाएको बताइएको छ । सरकारले यसअघि छिन्चुको मदानेचौरमा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरेको थियो ।

सुर्खेत विमानस्थलमा आज आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले नयाँ निर्माणतिर लाग्नुभन्दा हालको विमानस्थललाई विस्तार गर्दा उपयुक्त हुने धारणा राख्नुभयो । “यही विमानस्थललाई बढाउनुको विकल्प छैन्, नयाँ बनाउँदा कम्तीमा पाँच वर्ष लाग्छ”, उहाँले भन्नुभयो, “जग्गा अधिग्रहण गर्दा आवश्यक पर्ने बजेट प्रदेश सरकार बेर्होन तयार छ, प्राधिकरणले भविष्यमा कुनै समस्या नआउने गरी प्राविधिक अध्ययन गरिदेओस् ।”

वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले प्राविधिक रुपले स्पष्ट प्रतिवेदन आउनुपर्ने बताउनुभयो । विमानस्थल विस्तारसम्बन्धी पटक–पटकका छलफलमा फरक–फरक धारणा आउने गरेको भन्दै सबैभन्दा पहिले प्राधिकरण आफू स्पष्ट हुनुपर्ने सुझाव दिनुभयो ।

हिमाली जिल्लामा यात्रु अभाव

कर्णालीका हिमाली जिल्लाका बासिन्दालाई प्रदेश राजधानी सुर्खेतसँग सिधै हवाई सम्पर्कमा कसरी जोडिने भन्ने पीरलो कायमै छ । कर्णालीका हिमाली जिल्लाहरु जुम्ला, मुगु, हुम्ला र डोल्पाका बासिन्दालाई अझै पनि यही सकस छ ।

प्रदेश सरकारका मन्त्री, उच्च अधिकारीहरुसमेत जिल्ला भ्रमणमा जाँदा प्रदेश नं ५ को नेपालगन्ज हुँदै लामो र खर्चिलो यात्रा गर्नुपर्ने बाध्यता छ । कार्गो सेवा सञ्चालनका लागि मात्र प्रयोग हुँदै आएको सुर्खेत विमानस्थललाई यात्रुमैत्री बनाउन यसअघि कर्णाली प्रदेश सरकारले गरेको प्रयास असफल भएको छ ।

हाल सुर्खेतबाट कोल्टी, सिमकोट, डोल्पा, ताल्चा र जुम्ला विमानस्थलमा ट्विनअटर विमानले कार्गो सेवा सञ्चालन गरिरहेका छन् । प्रदेश सरकारले कर्णालीका हिमाली जिल्ला र प्रदेश राजधानीबीच सिधा हवाई सञ्जाल जोड्ने नीति लिएपछि निजी विमान कम्पनीहरु आवश्यक गृहकार्यमा जुटे पनि पर्याप्त यात्रु पाउन सकेनन् ।

कर्णालीका हिमाली जिल्ला र सुर्खेतबीच सामाजिक, सांस्कृतिक, व्यावसायिक सम्बन्ध नहँुदा यात्रुको समस्या रहेको विमान कम्पनीहरु बताउँछन् । कर्णालीका जिल्लाबाट नेपालगन्ज विमानस्थल हुँदै तीन घण्टा गाडी चढेर प्रदेश राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री